पोखरा/पोखरामात्र नभएर देशकै गहनाको रुपमा रहेको पोखरास्थित फेवातालमा जलकुम्भी झारको सरसफाई सुरु भएको छ । वातावरण संरक्षणका लागि महाअभियान कास्कीको आयोजनामा वातावरण एवं सम्पदा संरक्षणमा नागरीक खबरदारी भन्ने मुल नारासाथ सफाई सुरु भएको हो । जलकुम्भी सरसफाई अभियानमा सशस्त्र प्रहरी बल नम्बर २४ कालिका गणले सहयोग गरेको थियो ।
आज पहिलो दिन पोखरा महानगरपालिका वडा नम्बर १८ खपौदीं ढल्केबरमा जलकुम्भी झार हटाइएको थियो । नागरिक महाअभियान कास्कीका संयोजक रामबहादुर पौडेलको अध्यक्षता र कालीका गणका गणपति एसपी अरुण पौडेल शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

पत्येक वर्ष चैतमा हुने उक्त कार्यक्रम विविध कारणले ढिला भएर यसपटक बैशाख अन्तिममा पुगेको हो । सरसफाईको पहिलो दिन आज नेपाली सेना, सशस्त्र प्रहरी, महानगरिय प्रहरी, स्थानीय आमा समुह, नागरिक समाज, रेवान, सामाजिक संघसंस्था, पत्रकारहरुले सरसफाइमा भाग लिएका थिए । भोलीदेखि जलारी समुदायले ज्याला सहित जलकुम्भी सरसफाइ अभियानलाई निरन्तरता दिने कुरा पोखरा महानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष बिष्णुबहादुर भट्टराईले बताए ।
उक्त कार्यक्रममा पोखरा महानगरका वडा नं. ६ र १८ का वडाध्यक्ष सहित रेवान, विभित्र समुहका अभियान्ताहरु, आमा समुहहरु , जलहारी समुदाय, पर्यटन ब्यावासायीहरु, सशस्त्र प्रहरीको कालिका गण, नेपाली सेनाको कृष्णदल गण, रणचन्डी गण, पोखरा महानगरको महानगरी प्रहरी लगायत स्थानीय र संचारकर्मी गरि करिब ३ सय जनाको सहभागिता रहेको थियो । हिउँदमै जलकुम्भीको बिउ हटाउन सके वर्षायाममा फेवातालमा जलकुम्भी झार आउदैन ।





