पोखरा/ गण्डकी प्रदेश सरकारले लक्ष्य अनुसार चालु आर्थिक वर्ष राजस्व संकलन गर्न नसक्ने देखिएको छ । प्रदेशले निर्धारण गरेका कर शिर्षकमध्ये अधिकांशमा लक्ष्य भेटाउन नसकेको हो ।
गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ५ अर्ब १६ करोड ९१ लाख ८४ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो । तर बैशाख ३१ गतेसम्म जम्मा २ अर्ब ६६ करोड ६ लाख रुपैयाँमात्र राजस्व संकलन भएको प्रदेश लेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत सुदीप गौतमले बताए । यो ५१ दशमलव ४७ प्रतिशतमात्रै हो ।
बजेट बनाउने बेला खर्च बजेट धेरै बनाउनु पर्ने अवस्था रहेको र आन्तरिक आम्दानी पनि धेरै नै देखाउनु पर्ने बाध्यताले प्रदेश सरकारले आन्तरिक आय पनि बढी देखाएको थियो । तर आन्तरिक आय कम हुँदा प्रदेशको बजेट घाटामा जाने निश्चित छ भने प्रदेश केन्द्रकै बजेटमा निर्भर रहनुपर्ने अवस्था रहेको छ । प्रदेश सरकारको राजस्वको दायरा अति न्यून रहेकाले आम्दानी पनि कम हुने आर्थिक मामिला मन्त्रालयकी राजस्व अधिकृत कल्पना सापकोटाले बताइन । ‘प्रदेशको आम्दानी बढाउन अव करको दायरा पनि बढाउन आवस्यक छ’ उनले भनिन्, ‘यसका लागि मन्त्रालय छलफलका क्रममा छ ।’ आर्थिक वर्ष सकिन २ महिनामात्र बाँकी रहँदा बाँकी राजस्व संकलन हुने कुनै संभावना छैन ।
गण्डकी सरकारले सबैभन्दा बढी राजस्व यातायात क्षेत्रबाट संकलन गर्छ । यसैगरी घरजग्गा रजिष्ट्रेसन, पदयात्रा शुल्क, कृषि उत्पादनको बिक्रीबाट हुने रकम, अन्य सेवा तथा बिक्रीबाट प्राप्त हुने रकम, परीक्षा शुल्क, शिक्षा क्षेत्रको आम्दानी, प्रशासनिक सेवा शुल्क व्यवसाय रजिष्ट्रर दस्तुरलगायतबाट पनि आम्दानीको लक्ष्य प्रदेश सरकारले राख्छ । कृषी आयमा कर शुन्य छ ।





