पोखरा/गत आइतबार गण्डकी प्रदेशका केही मन्त्रालयमा गाँइगुँइ चल्यो, प्रदेशको अस्थिर राजनीतिका कारण प्रदेशको आर्थिक मामिला मन्त्रालयका सचिव बलराम रिज्यालले पोखरा छाडे । मुख्यमन्त्री, मन्त्री को आउने/नआउने अन्योलका कारण स्वतन्त्रपूर्वक काम गर्न नपाएपछि बजेटको तयारी गर्नुपर्ने बेला रिज्यालले मन्त्रालय छाडेर गएका भनिएको थियो । आर्थिक मामिलामन्त्री हरिबहादुर चुमानले सचिव रिज्याल सल्लाहमा आमालाई छोड्न काठमाडौं गएको बताएका थिए ।

तर नेपाल सरकारले बजेटको चटारोका बेला गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्रालयका सचिव बलराम रिज्यालको सरुवा गरिदिएको छ । ६० जना सहसचिवको एकैपटक सरुवा गर्दा रिज्यालसहित गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव तीर्थराज भट्टराई पनि सरुवाको सूचीमा परेका छन । रिज्याल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा र भट्टराईको गृह मन्त्रालयमा सरुवा भएको हो । दुवै सचिवको कार्यकाल एक वर्ष पनि पुगेको थिएन ।
रिज्यालको स्थानमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समुहमा रहेका पुरुषोत्तम शर्मा र भट्टराईको ठाउँमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहबाट विनोद लामिछाने आउने भएका छन् ।





