पोखरा / जिल्ला प्रहरी कार्यालय कास्कीले गैरापाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारीविरुद्ध उजुरीको आह्वान गरेको छ । प्रहरीले मंगलबार सार्वजनिक सूचनामार्फत त्यस्तो आह्वान गरेको हो ।
सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीले प्राइम सहकारीमा बचतकर्ताको बचत हिनामिना भएको भन्ने पत्राचार प्रहरीलाई गरेपछि प्रहरीले सूचना गरेको हो । आफ्नो बचतको प्रमाण खुल्ने कागजातसहित जेठ २० गतेभित्र उजुरी दिन प्रहरीले बचतकर्तालाई भनेको हो ।
यसअघि पर्वतको नागढुंगा, लमजुङको कालीका, पोखराको मित्रमिलन, बिन्दवासिनी, नवलपुरको छिपछिपे उपभोक्ता, पर्वतको तपाई हाम्रो बहुउद्देश्यिय, पर्वतकै ग्रामीण बिकास कृषि सहकारी र बागलुङको इमेज बचत तथा ऋण सहकारीबाट २ अर्ब ३८ करोड ५७ लाख २० हजार ९ सय ९४ सर्वसाधारणको बचत रकम हिनामीना भएको सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीले जनाएको छ । यी सहकारीको छानविन र अनुसन्धान भइरहेको छ ।
केही अदालतमा पुगेको छ । कतिपय आरोपित फरार छन भने केहीलाई पक्राउ गरिएको छ । यसै क्रममा अहिले आएर पोखराको प्राइम सहकारी पनि थपिएको हो । सहकारी रजिष्ट्रारको कार्यालयले गरेको प्रारम्भिक छानबिन सकेर प्रहरीमा पठाइएको रिपोर्टमा, १ अर्ब ५४ करोड १५ लाख ८ हजार एकसय ४२ रुपैयाँ भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । सहकारीका २ हजार ३ सय बचतकर्ताको रकम हिनामिना भएको प्रारम्भिक अनुसन्धानमा भेटिएको छ ।
यसैबीच प्रहरीले प्राईम सहकारीका अध्यक्ष र कार्यकारी प्रमुखसहित ८ जनालाई पक्राउ गरेको छ । छानविनका क्रममा ५५ जनाभन्दा बढी दोषी देखिएका छन् । अन्य फरार छन ।
‘बचत फिर्ता नगरी सहकारीको रकम हिनामिना एवं ठगी गरेको देखिएकोले अनुसन्धानका लागि सहकारी रजिष्ट्रारको कार्यालयबाट पत्रसाथ कागजातहरु प्राप्त भएको प्रहरीले जनाएको छ ।
‘उक्त पत्र दर्ता भई अनुसन्धानका क्रममा रहेकोले उक्त सहकारी संस्थामा बचतकर्ता रही बचत तथा सेयर रकम फिर्ता नपाउनुभएका पीडित प्रमाणसहित सम्पर्क राख्नुहुन अनुरोध छ’ प्रहरीको अनुरोध पत्रमा उल्लेख छ । प्रमाण खुल्ने शेयरधनी प्रमाणपत्र, पासबुक, भौचर, स्टेटमेन्ट, मुद्दती प्रमाणपत्र लगायत प्रमाण पेस गर्न प्रहरीले आग्रह गरेको छ । जेठ २० दिनभित्र उजुरी दिन आग्रह गरिएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक डिएसपी वसन्तकुमार शर्माले जानकारी दिए । ‘उजुरी निवेदन मागेका छौं ।
समयभित्र कति जनाले उजुरी दिन्छन्, त्यसकै आधारमा थप अनुसन्धान हुन्छ,’ उनले भने । रकम हिनामिना आरोपमा सहकारी अध्यक्ष शंकर कार्की, प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल, पूर्व अध्यक्ष निदेशप्रसाद कोइराला, पूर्व कोषाध्यक्ष कुलदीप भट्टराई, व्यवस्थापक नीरु थापा, कर्जा विभाग प्रमुख सुनिल थापा, मनबहादुर गुरुङ र कानुनी सल्लाहकार अधिवक्ता इन्द्रप्रसाद बराल पक्राउ परेका हुन् ।
यसैबीच, पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोप लागेका जीबी राईलाई पक्राउ पर्ने प्रयास स्वरुप प्रहरीले उनको राहदानी रद्ध गर्न परराष्ट्र मन्त्रालयको राहदानी बिभागलाई भनेको थियो । कास्की जिल्ला सरकारी वकिलको कार्यालयले पनि जिल्ला अदालतमा मुद्धा दायर गरेकोमा कास्की जिल्ला अदालतले राहदानी रद्द गर्न माग अस्वीकार गरेको छ । आइतबार कास्की अदालतबाट त्यस्तो आदेश आएको हो ।





