डोजर लगाएर सडक बनाएपछि हिउँदलाई मात्रै हुने, बर्षातमा बग्ने समस्या भएपछि गलकोट नगरपालिकाले हरेक वर्ष थोरै तर पक्की सडक बनाउने अभियान चलाएको छ । ग्रेड नमिलेका सडकका घुम्तीहरु ढलान गर्ने, पक्की नाली बनाउने र पानीका श्रोतलाई ठाउँ ठाउँमा निकास दिने गरी कल्भर्ट र कजवे बनाएर नियमित चल्ने सडक बनाउने काम गरेको हो । ‘हरेक वडा अध्यक्ष, जनप्रतिनिधि र कर्मचारीलाई सोही अनुसारको निर्देशन गरेका छौं’ नगरप्रमुख भरत शर्मा गैरेले भने, ‘सडक बनाएको भन्दा बर्षातमा पहिरो नियन्त्रणमा लाग्ने खर्च बढी आउन थालेपछि यो नीति लिइएको हो ।’ अधिकांस ग्रामीण सडकमा पहिरो खसेर बालीनाली समेत नष्ट हुने क्रम रोक्न यो विधि अपनाइएको गैरेले बताए ।
पक्की पर्खाल र नाली बनाएपछि पहिरो नियन्त्रण गर्न सकिने वडा नं. ६ का अध्यक्ष रामप्रसाद कंडेलले अनुभव सुनाए । वडा नं. ६ मा मात्रै दर्जन सडक पक्की बनाउने क्रम चलेको छ । केही स्तरोन्नती गरिएको छ भने केहीलाई ढलान नै गरिएको हो । उनले आफ्नो वडाका सबै सडक पक्की बनाउने काम गरेको बताए । ‘डोजर लगाएर छाड्ने काम कतैपनि गरेका छैनौं, बरु ट्रयाक खुल्नासाथ पक्की बनाएका छौं’ उनले भने, ‘बर्षातमा पहिरोको प्रकोप कम हुनेछ ।’ जंगरा–लामीडाँडा–दरम सडकको १ किमी सडकमा सोलिङ गरेर ढलानको काम गरेपछि सवारी साधन सहजै चल्न थालेको उनले बताए । गतवर्षको बजेटबाट यो सडकमा १६ लाख रुपैयाँ लगानी भएको थियो । ठूलाथर–भुजुङगे, नौविसे जामुनडाँडादेखि पैयुडाँडाजस्ता सडक स्तरीय बन्दा नगरबासीले सामान ढुवानीदेखि नियमित यात्रामा सहज महसुस गरेका छन् ।
नौबिसेदेखि जामुनडाँडा जाने सडकमा पुरै पक्की सडक र ढलान भैसकेको छ । यो अभियानले बर्षातमा पनि नियमित सवारी चल्ने अवस्था आएको हो । यस्तो काममा नगरका ११ वटै वडामा एकरुपता देखिएको हो । पछिल्लो समय टेउवा पर्यटकीय स्थल पुग्ने सडकदेखि झिर्काहुँदै पाण्डवखानी, रिघा, कालीलेकदेखि थालेपोखरा सम्मका सडक स्थायी प्रकृतिका बनेका छन् । ‘गाडी नचल्दा सामान ढुवानीमा सास्ती खेपेका थियौं, अहिले सहज भयो’ स्थानीय भक्तबहादुर नेपालीले भने, ‘ढलान गर्दा पानीले पनि असर गरेन ।’ नगरपालिकाले पनि ग्रेड बढी भएका सडकलाई ढलान गर्ने नीति बनाएको हो । ग्रेड कम भएका स्थानमा ग्राभेल गरिएको छ । कतिपय सडक कालोपत्रे समेत छन् । वडा नं. ४ को कार्यालय पुग्ने सडक कालोपत्रे भएपछि स्थानीयले सहज यात्रा गर्न पाएको बताए ।
वडा नं. २ को तोरखीखोलादेखि बतासेहुँदै ठाना पुग्ने सडकमा पनि ढलान गरेर बर्षातमा नरोकिने बनाएको वडा अध्यक्ष हिमबहादुर भण्डारीले बताए । ‘वडा नं. ६ र २ जोड््ने नाकामा दुवै वडाले सहकार्य गरेर काम गर्दा पहिरो नियन्त्रणमा सहयोग पुगेको छ । ‘कालोपत्रेभन्दा ढलान महंगो पर्छ, तर दिगो हुन्छ’ इन्जिनियर बलबिक्रम दाहालले भने, ‘बर्षातको भेल बगेपनि ढलानमा असर गर्दैन, कालोपत्रे भए पुरै भत्किन्छ ।’ उनले भिरालो जमिनमा कालोपत्रेको काम संभव नहुने भएपछि थोरै सडक बनाउने, तर पक्की बनाउने लक्षले स्टिमेट गराएको बताए ।
तीनचार वर्ष अघिका घटनाले गलकोटलाई यो पाठ सिकाएको हो । बाढी र पहिरोले अधिकांस वडाका ग्रामीण सडक बग्ने र बगर बन्ने अवस्थाबाट नगरले यो पाठ सिकेको हो । ती सडक पुनसंरचनाका लागि मात्रै करोडौं खर्च भएको थियो । नगरपालिकाले दिगो सडकको रुपमा योजना बुन्न थालेपछि धेरै ट्रयाक खोल्ने तथा डोजर लगाउने क्रम घटेको हो । डोजर जान छाडेपछि सडक भत्कने दर पनि घटेको छ । ‘अहिले नयाँ ट्रयाक खोल्ने काम गरिएको छैन, पुरानालाई व्यवस्थित बनाउन लागियो’ नगरप्रमुख भरत शर्मा गैरेले भने, ‘भएका संरचना पक्की बनाउन संघ र प्रदेशसंग पनि साझेदारी गरिएको छ ।’ वडा नं. ५ देखि वडा नंं ७ को भैसे जोड्ने पुरानो सडक पनि कालोपत्रे तयारी भएको छ । मध्यपहाडी लोकमार्गको विकल्पको रुपमा यो सडक प्रयोग हुनेछ । काठेखोला गाउँपालिकाको रगेनीदेखि नरेठाँटी झर्ने ११ किमी सडक पनि मध्यपहाडीको विकल्पको रुपमा स्तरोन्नती भएको छ । यो सडकले लोकमार्गलाई ९ किमी छोटो बनाउँछ । पुरानो ट्रयाक मर्मत गर्दा जिपहरुले छोटो बाटो प्रयोग गर्न थालेका छन् ।
बस्ती विकासको चुनौती
दिगो योजना अनुसार काम गर्न थालेपनि गलकोट नगरलाई बस्ती विकासको भने चुनौती छ । लहलह धान फल्ने गलकोटस्थित चरौंदीको फाट घरैघरले भरिन लागेको छ । बस्ती विकाससँगै आइपर्ने दर्जन चुनौती छन् । घरबस्ती बाक्लो बन्दै गएपछि खानेपानी, शिक्षा, सडक पूर्वाधार, मापदण्ड निर्धारण र भवन निर्माण संहिता पालना गर्ने लगायतका धेरै क्रियाकलपमा ध्यान दिनुपर्छ । गलकोट नगरपालिकाले नगरलाई सभ्य र समुन्नत बनाउन ती सबै काममा हात हालेको छ । कतिपय काम शुरु भएर सम्पन्न समेत भैसकेका छन् भने कतिपय काम निरन्तर चलेका छन् ।
सबैको पायक पर्ने बनाउन वडा नं. ६ को चरौंदीमा नगरपालिका राख्दा यहाँको फाँट जोगाउन हम्मेहम्मे परेको छ । तर बढ्दो चापलाई व्यवस्थित बनाउन भने नगरले सोही अनुरुप नीति र कार्यक्रम संचालन गरेको छ । नगरपालिकाको कार्यालय फाँटमा सार्दा काम बिशेषले दैनिक सयौं मानिस आउने जाने चहलपहल बढेको छ । अहिले चरौंदी फाँट सडकले चिरा परिसकेको छ । बस्ती विकासको चुनौतीमा नगरले काम गरिरहेको छ । नगरपालिकाले आफ्नै प्रशासकीय भवन समेत यही वडामा बनाएको छ । यही बिचमा नगरभित्र बस्ती विकासको नयाँ परियोजना समेत संचालन हुँदैछ । तर काम चुनौतीको रुपमा रहेको हो ।

आर्थिक समृद्धिमा लैजाने गलकोटे योजनामा जग्गा खण्डीकरण र कक्रिडको बजार बन्ने होड बाधक बनिरहेको हो । यतिबेला नगरपालिकाले जग्गा वर्गिकरण गरिसकेको छैन । तरपनि धमाधम घर बनेका छन् । त्यसैले यहाँको मुख्य सडकमा न्युनतम १२ मीटरको सडक र दायाबाया दुइदुइ मीटर सेटव्याक छाड्ने नीति बनेको छ । त्यस बाहेक साना गल्लीलाई पनि न्युनतम ६ मीटरको सडक र डेढ मीटर सेटव्याक राख्ने नीति पारित गरेर अगाडि बढेको वडा नं. ६ का अध्यक्ष रामप्रसाद कंडेलले बताए ।
समानुपातिक विकासका लागि कृषि, पशुविकास, पर्यटन प्रवद्र्धनजस्ता क्रियाकलाप संचालन गर्नुपर्ने बाध्यता उत्तिकै छ । ती सबै आवस्यकता पुरा गर्नका लागि नगरपालिका र वडाले यहाँ धेरै मेहेनत गरेका छन् । बिशेषगरी तत्कालिन गाविस टुक्रीएर वडा बनेकोले वडा नं. ६ ले थप चुनौती व्यहोरेको कंडेलको अनुभव छ । यहाँ न वडा कार्यालय थियो, न स्वास्थ्य चौकी । गाउँबाट चरौंदी फाँटमा झरेको बस्तीका लागि खानेपानीको समेत समस्या थियो । हाल नगरपालिकाले वडा ६ को सिंगो फाँट व्यवस्थित बनाउन दर्जन खानेपानीका स्किम संचालनमा ल्याएको छ ।
भुल्केपानी खानेपानी आयोजना, कोइराबारी खानेपानी, देउराली, चिसोपानी, गोपेको चौडा, डहरे, भुजुङगे लगायतका योजना संचालन गरेर सिंगो नगरको उपस्थिति देखाइएको छ । त्यस बाहेक कृषिका लागि आलु पकेट, नगदेबालीतर्फ बेसार र अदुवाखेती पनि यहाँ शुरु गरिएको छ । विद्यालयमा झोला अभियान चलेको छ । हरेक शिक्षकले अनिवार्य झोला बोकेर विद्यालय आउनुपर्ने प्रावधान पनि छ ।
चुनौतीपुर्ण तर, व्यवस्थित बस्ती बसाउने काममा सजग छौं
रामप्रसाद कंडेल
वडा अध्यक्ष, वडा नं. ६ गलकोट नगरपालिका
हामीले नगरको समग्र विकासमा धेरै प्रकृतिका समस्यासँग जुध्नुपरेको छ । आम नागरिकको दैनिक आवस्यकतादेखि दिर्घकालिन योजना र गलकोटकै पहिचान जोगाउने चुनौतीमा लाग्नुपरेको हो । बिशेषगरी बस्ती विकासले छोपेको चरौंदीको फाँट जोगाउनभन्दा व्यवस्थापन गर्न पढी चुनौती भएको हो । अहिले देखिनै मापदण्डका सडक निर्माण गर्ने, भवन निर्माण संहिता पालना गर्ने र व्यवस्थित बस्ती बनाउने काममा हामी लागेका छौं । ताराखोला, बडिगाड र गलकोटका विभिन्न वडाबाट बसाई सरेर चरौदीमा आउने क्रम दिन प्रतिदिन बढेको छ । समयमा व्यवस्थापन गर्न नसके भोली सास्ती खेप्नुपर्ने छ ।

खानेपानी, विद्युतीकरण, साना सिंचाइसहित कृषिको व्यवसायिकीकरण समेत गर्न सकेमात्रै नगरपालिका जस्तो बन्ने छ । बजार बढेर मात्र नगर बन्दैन । बरु यहाँको शिक्षा र स्वास्थ्यमा पनि गुणस्तरीय सुधार गर्न जरुरी छ । त्यसका लागि बालमैत्री नगर घोषणा भैसकेको छ । त्यसका सूचकहरु पूर्ण रुपमा कार्यान्वयन भएमा गुणस्तर विकासमा काम गर्न सकिनेछ । हरेक विद्यालयले थालेको कार्यसम्पादन मूल्यांकनले पक्कै पनि केही सुधार ल्याउने छ ।





