मध्यपहाडी लोकमार्गबाट काठेखोला गाउँपालिकाको प्रबेद्धार मानिने वडा नं. १ को पालामा प्रवेश गर्दा अलगै अनुभुती हुन्छ । बागलुङ नगरपालिका र काठेखोलाको सिमाना पालाबाट प्रबेश गरेपछि उपल्लो बाटो लाग्दा एकै दिन पालिकाका सबै वडा घुम्न सकिन्छ । माछी चरणदेखि डाँफेचरण क्षेत्रमा यहाँका सबै वडा फैलिएका छन् भन्दा फरक पर्दैन । ‘वडा अनुसारको उत्पादन, सबै वडामा पदमार्ग’ काठेखोलाको अर्का विशेषता हो । बजारमा पाईने बीउ मलले गाउँका खेतबारी कब्जा गरेको छ । तर तिनै उत्पादनले परावूर्व कालदेखि हाम्रो माटो सुहाउँदो याम अनुसारका रैथाने बाली संकटमा छन् । काठेखोलाले रैथाने बालीको संरक्षणमा ध्यान दिएको छ । टोल, वडा र पालिकामा योजना बनाएर काम भैरहेको छ ।
पालामा उत्पादन हुने कोदो मकै जोगाउन वडाले योजनाबद्ध काम गरिरहेको छ । थोरै तर प्राङ्गारिक उत्पादनलाई बजारीकरण गरेर वडाले रैथाने बाली प्रबद्र्धन गर्दै छ । ‘अब कोदो र मकैको पीठोलाई लेबलिङ र प्याकेजिङ गरेर विश्व बजारमा पुगेका हाम्रा आफन्तको हात हातमा पुर्याउनु पर्छ, जसले मुल्य पनि पाउने वातावरण बनाउँछ’ वडा अध्यक्ष खडक थापाले भने ‘पशुपालन र रैथाने बाली नै हाम्रा मुख्य उत्पादन हुन, तिनको बजारीकरण आवश्यक हो ।’ वडाले किसानका लागि लेबलिङ प्याकेजिङको तालिम दिईसकेको छ ।
वडा नं. २ भीमापोखरामा मसला बाली, वडा नं. ३ मा आलु बाली, वडा नं. ४ मा पशुपालन, वडा नं. ५ मा अलैचीं, वडा नं. ६ मा सुन्तला, वडा नं. ७ मा धान, चिया र अम्रिसो तथा वडा नं. ८ मा रैथाने कोदो बालीले पहिचान बनाउँदै अन्तराष्ट्रिय बजारमा निर्यात हुने तयारीमा छन् । गाउँपालिकाले हरेक उत्पादनलाई लघु तथा घरेलु उद्योगको रुपमा विकास गरी गाउँका उत्पादनको संकलन, स्तरीकरण र ब्राण्डिङ गरी बजारीकरणको नीति बनाएको छ । यहाँ उत्पादन हुने दुग्ध पदार्थ, मासुजन्य उत्पादन, सुन्तला र आलुको परिकारलाई थप व्यवस्थित गरी गाउँपालिकाकै पहिचानको रुपमा स्थापित गर्न आवस्यक कार्यक्रमहरु सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष राजु थापाले बताए ।
अक्षते हाटवजार, काठेखोला–७ रेशमा निर्माणाधिन औद्योगिक ग्राम र काठेखोला–५ बिहुँको रिजालचोक बजार क्षेत्रले यहाँ उत्पादन हुने कृषि तथा पशुजन्य सामग्रीहरुको बजारीकरण गर्न महत्वपुर्ण भुमिका निर्वाह गर्ने थापाको विश्वास छ । गाउँपालिकाका लघु उद्यमीहरुले उत्पादन गरेका वस्तुहरुको बजारीकरण र बिक्री वितरणका लागि उपयुक्त ठाउँमा हाट बजार तथा संकलन तथा वितरण केन्द्र व्यवस्था गरी सञ्चालन गरिने उनले बताए । कृषि, दुध, मासुजन्य साना तथा मझौला उद्योग स्थापनाका लागि गाउँपालिकाले प्रोत्साहन गर्ने पालिका प्रबक्ता टिका संगम बिकले बताए । ‘बाँकोको सिन्की, सिस्नुको पाउडर, अल्लोको कपडा, लालीगुराँसको जुस उत्पादनलाई व्यवसायिक बनाउँदै लेभलिङ, प्याकेजिङ र बजारीकरण गरिने छ’ प्रवक्ता विकले भने ।
पदमार्गले जोडिएका गाउँ
काठेखोला गाउँपालिका–८ लेखानीको लेखानी मावि प्राङ्गणमा पुगेर चौफेरो हेर्दा लेखानी गाउँभरी पदमार्ग देखिन्छन् । केहीवर्ष अघिसम्म डहरको रुपमा परिचित पदमार्ग सवारी चल्ने सडक बनेपछि धमाधम मासिएका थिए । सडकसँगै जोडेर पछिल्लो समय पदमार्ग निर्माणलाई प्राथमिकतामा राख्न थालिएको छ । दश वर्षअघिसम्म बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखराका सबै टोलमा गोरेटो बाटो थिए । गाउँमा सवारी चल्ने सडक विस्तारको लहर चल्यो, मानिस र गाईवस्तु ओहोरदोहोर गर्ने गोरेटा बाटो मासिन थाले । बनेका सडक विस्तार होस् वा नयाँ बन्ने सडक किन नहुन् ? सबैको पहिलो प्रहार बन्यो– गोरेटो बाटो । थोरै भए पनि सार्वजनिक जग्गा पर्ने, पहिलैकै बाटो हुँदै सडक बनाउँदा सहज हुने र बिना योजना बन्ने सडकका लागि पहिलेकै गोरेटो पद प्रदर्शक बन्ने भएकाले धेरैले त्यसै गरे । तर अहिले तिनै गोरेटाको अभावमा गाउँले जीवन कष्टकर बन्दै गइरहेको छ ।
सडक सबैका घर–घरमा पुग्दैन । गाउँमा मेलापात होस् वा जन्ती र मलामी जाँदा होस्, हिउँदमा हिलाम्मे र वर्षाको समयमा धुलाम्मे हुने सडकले अहिले पुराना गोरेटाको याद दिलाउँछन् । भीमापोखरा मात्रै होइन, बागलुङभर रहेका अधिकांश वडामा यो समस्या छ । गोरेटोबाटो मासिदा गाउँले जीवन प्रभावित भएपछि काठेखोला गाउँपालिकाका वडाहरुले गोरेटो मर्मत तथा निर्माणको अभियान थालेको छ । पछिल्लो दुई वर्षमा १५ किलोमिटर बढी गोरेटो बाटो मर्मत तथा निर्माण भइसकेको गाउँपालिकाले जनाएको छ ।

‘हाम्रो वडाका सबै टोलमा गोरेटो बाटो पुगेको छ, अहिले मर्मत भएको गोरेटो बाटोले मेलापात ओहोरदोहोर गर्न सजिलो छ’, काठेखोला गाउँपालिकाकी कार्यपालिका सदस्य पूर्णमाया सुनारले भनिन्, ‘पहिल्यै मास्न हुन्थेन, अहिले बनेका छन् ।’ सडक बनाउँदा गोरेटो काटेर बनेका अग्ला कान्ला र माटो भरिएर बनेको भीरमा स्थानीयवासीले कष्टले यात्रा गर्ने गरेका थिए । अप्ठ्यारो छिचोलेर पुरानो गोरेटोमा पुग्दा मानिसको आवतजावत कम भएकाले गोरेटोमा जंलल भरिएको थियो । ‘पहिले हामीले डहर भन्थ्यौँ, अहिले पदमार्ग भन्ने चलन छ, गोरेटो बाटो नहुँदा जनतालाई सास्ती भएको हामीले देखेका छौं’, वडा नं. २ का अध्यक्ष विद्यापति शर्माले भने, ‘सवारी कुद्ने सडक मात्रै सबै कुरा होइन भन्ने लाग्यो, हामीले धेरै गोरेटा बाटो मर्मत र पुनर्निर्माण गरेका छौँ ।’
सार्वजनिक खरिद ऐनमा कुनै नयाँ संरचना बनाउँदा बनिरहेका पुराना संरचना भत्किएमा नयाँ बन्ने योजनाले नै पुराना संरचना पुननिर्माण गर्नुपर्ने व्यवस्था छ । तर उपभोक्ता समितिमार्फत बन्ने सडक हुन् वा निर्माण व्यवसायीले बनाउने सडक, कसैले पनि गोरेटोमा ध्यान दिएको पाइँदैन । ‘सहर जस्तो गाउँमा हुँदैन, सबै कामका लागि सवारी प्रयोग हुन्छन् भन्ने छैन, पैदल हिँड्न सडकमा कठिन हुन्छ’, शर्माले भने, ‘मेलापात, जन्ती, मलामी, वल्लोगाउँ पल्लोगाउँ गर्ने बाटासमेत नभएकाले हामीले गोरेटो पुननिर्माण थालेका हौँ ।’ प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी मजदुरको प्रयोग गरेर वडाहरुले गोरेटो बाटो निर्माण गरेको वडा नं. ५ का अध्यक्ष ज्ञामनाथ कँडेल बताउँछन् । यो कार्यक्रमको परिचालन गर्दा बेरोजगारको सूचीमा रहेका सबैले सहजै काम गर्न सक्ने र परिणाम पनि राम्रो आएको छ । धमाधम टोल टोलमा गोरेटो बाटो मर्मत र निर्माणका काम हुन थालेपछि स्थानीयवासी समेत हर्षित छन् ।





