पोखरा/ प्राइम बहुउद्धेश्यिय सहकारीको बचत हिनामिना गरेको आरोपमा प्रहरीले थप एकजनालाई सोमबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माका अनुसार पक्राउ पर्नेमा उत्तम मगर छन ।
उनलाई सोमबार बिहान पक्राउ गरि अहिले म्याद थप्ने प्रक्रियामा रहेको शर्माले बताए । ‘उनका विषयमा सबै कुरा खुलिसकेको छैन’ शर्माले भने । रकम अपचलनमा मगरको पनि संलग्नता देखिएको प्रतिवेदन र अनुसन्धानबाट पत्ता लागेपछि पक्राउ गरिएको हो । मगरको नाममा १३ करोड ७७ लाख २३ हजारमा काल्पनीक कर्जाको हिसाब समायोजन गरेपश्चात १३ करोड ४७ लाख २३ हजार असुल हुनुपर्ने राय गण्डकी प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयको प्रतिवेदनले दिएको छ ।
मगरसगै प्राइम सहकारीमा बचत अपचलन गरेकाे आरोपमा पक्राउ पर्नेकाे संख्या ९ पुगेकाे छ । यसअघि पोखरा महानगरपालिका वडा नं. ४ गैहापाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको निक्षेप रकम अपचलन गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ । सहकारीको १ अर्ब ५४ करोड रुपैयाँ भन्दा बढी रकम अपचलन गरेको आरोपमा सहकारीका अध्यक्ष शङ्कर कार्की, निर्वतमान अध्यक्ष पोखरा निदेशप्रसाद कोइराला, प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल र व्यवस्थापक निरु थापा केसी पक्राउ परेका थिए । यसैगरी पक्राउ अन्यमा सहकारीका कानुनी सल्लाहकार इन्द्रप्रसाद बराल, पूर्वकोषाध्यक्ष कुलदिप भट्टराई, कर्जा अधिकृत सुनिल थापा र शेयर सदस्य एवं सल्लाहकार मानबहादुर गुरुङ छन् ।
गण्डकी प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयका अनुसार उक्त सहकारीका अध्यक्ष, पूर्वपदाधिकारी तथा सञ्चालक समितिका पदाधिकारीले २ हजार ३ सय निक्षेपकर्ताको रकम अपचलन गरेका छन । यस प्रकरणमा ५५ जना संलग्न रहेको पाइएको छ । प्रहरीले सार्वजनिक सूचनामार्फत यही जेठ २० गतेभित्र आफ्नो बचतको प्रमाण खुल्ने कागजातसहित उजुरीका लागि आव्हान पनि गरेको छ । रकम अपचलनमा प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल र व्यवस्थापक निरु केसीको मुख्य योजना रहेको प्रहरीले जनाएको छ ।





