पोखरा/ खगराज अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकारले यसअघि सार्वजनिक गरिएको दोस्रो पंचवर्षीय योजनाको आधारपत्र परिमार्जन गरी पुनः मंगलबार आधारपत्र सार्वजनिक गरेको छ । यसअघि गत चैत १९ गते प्रदेश नीति तथा योजना आयोगका तत्कालिन उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटाले आधारपत्र सार्वजनिक गरेका थिए ।
मुख्यमन्त्री एंव प्रदेश नीति तथा योजना आयोगका अध्यक्ष खगराज अधिकारीले परिमार्जित आधारपत्र सार्वजनिक गर्दै यसअघि सार्वजनिक गरिएको आधारपत्र सोह्रौं राष्ट्रिय पंचवर्र्षीय योजनाको आधारपत्र सार्वजनिक नगर्दै प्रदेशको आधारपत्र आएकोले अहिले राष्ट्रिय योजनाका केही गाइडलाईनलाई समायोजन गरिएको बताए । यसैगरी यसअघिको आधारपत्रमा कतिपय कुरा छुटेकाले त्यसलाई पनि समावेश गरिएको अधिकारीले बताए । परिमार्जित आधारपत्र मन्त्रीपरिषद्को यही जेठ ४ को बैठकले पारितसमेत गरेको थियो ।
संविधानको लक्ष्यअनुसार समाजवाद उन्मुख अर्थतन्त्रलाई अवलम्बन नगरिएको र सोह्रौं पंचवर्षीय योजनासंग तालमेलसमेत नमिलेकोले आधारपत्र परिमार्जन गर्नुपरेको अधिकारीको स्पष्टोक्ति थियो । यसअघि सार्वजनिक आधारपत्रमा राष्ट्रिय योजना आयोगले प्रदेशलाई परिपत्र गरी १४ वटा विषयगत क्षेत्र निर्धारण गरी योजना बनाउन निर्देश गरे पनि त्यसलाई अवलम्बन नगरेको उनले बताए । ‘गरिबी न्यूनीकरण, समतामूलक समाज स्थापना र स्थानीय आर्थिक विकासलाई आधारपत्रले समेटेको रहेनछ, हामीले दिनको १२÷१३ घन्टाभन्दा बढी काम गरेर यसमा परिमार्जन गरेका छौं ।’ यसअघिको सरकारले लिएका विज्ञलाईसमेत बोलाइएको भन्दै उनले क्षेत्रगत आधारलाई भन्दा विषयगत आधारलाई प्राथमिकता दिइएको बताए । उनका अनुसार रणनीति र कार्यक्रमहरु प्रदेश विकास परिषद्को बैठकको मार्गदर्शन अनुसार परिमार्जन गर्न सकिन्छ ।
परिमार्जित आधारपत्रमा यसअघिको सरकारले तय गरेको सोच र उद्देश्य नै फेरिएको छ । कांग्रेसका सुरेन्द्र पाण्डे सरकारले सार्वजनिक गरेको आधारपत्रमा ‘आत्मनिर्भर र समुन्नत प्रदेश सम्मानित प्रदेशवासी’ को सोंच हासिल गर्न उत्पादकत्व वृद्धि, सामाजिक न्याय र समुन्नतिलाई प्रादेशिक लक्ष्य निर्धारण गरिएको थियो । तर अहिले समाजवादउन्मुख स्वतन्त्र, आत्मनिर्भर र समृद्ध अर्थतन्त्रको विकास गर्ने राज्यको आर्थिक उद्देश्यलाई सार्थकता प्रदान गर्न ‘समृद्ध प्रदेश, सुखी प्रदेशवासी’ लाई दोस्रो पञ्चवर्षीय योजनाको सोच तय गरेको छ । प्रादेशिक समष्टिगत रणनीति र विकास तथा रुपान्तरणका प्राथमिक क्षेत्रका शीर्षकमा फेरबदल नगरिए पनि त्यसभित्रको भाषा भने परिमार्जन गरिएको छ ।
यसैगरी उद्देश्यमा पनि परिमार्जन गरिएको छ । आर्थिक वृद्धि एवं विकासका लाभको समतामूलक र न्यायोचित वितरणमार्फत् समाजवादउन्मुख आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुलाई पहिलो उद्देश्यमा राखिएको छ । यसैगरी मानव पुँजी निर्माण, गुणस्तरीय पूर्वाधारको विकास एवं उत्पादन र उत्पादकत्व वृद्धि गर्दै समृद्ध प्रदेशको आधारशीला निर्माण गर्नुलाई अधिकारी सरकारले दोस्रो उद्देश्यमा समेटेको छ भने गुणस्तरीय सार्वजनिक सेवा प्रवाहमा प्रदेशवासीको सहज पहुँच र सुशासन अभिवृद्धि गर्नुलाई तेस्रो उद्देश्य मानिएको छ । यसअघि भने यी तिनवटै बुँदा अलि छोटोमा थिए ।
प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डां श्रीकान्त खतिवडाले शिक्षा, स्वास्थ्य, लैंगिक समानता, सामाजिक समावेशीताको क्षेत्रमा पनि परिमार्जन गरिएको बताए । यस्तै नमिलेका १०÷१२ ठाउँ पहिल्याएर आधारपत्र परिमार्जन गरिएको उनको भनाई छ । असार १ मा बजेट ल्याउनै पर्ने, दोस्रो आवधिक योजनाको सुरु पनि साउन १ गतेबाट हुने भएकाले त्यसै अनुसार तालमेल मिलाउन आफूहरुले काम गरिरहेको खतिवडाले जनाए ।
आधारपत्रमा कार्यक्रम र तथ्यांक दिने चलन नरहेको भन्दै यसअघिको आधारपत्रमा उल्लेख भएका सबै कार्यक्रम तथा तथ्यांक परिमार्जनमा हटाइएको छ । खतिवडाका अनुसार प्रदेश विकास परिषद्को बैठकमा मात्रै कार्यक्रम प्रस्ताव गरिन्छ । उनले भने, ‘परिषद्को बैठकबाट रणनीति पारित भएपछि मात्रै कुन जिल्लाबाट के लिने भनेर नीति तय गर्ने हो, त्यसपछि मात्रै कार्यक्रममा जाने हो ।’ गण्डकीका ११ वटै जिल्ला समेट्ने गरी कार्यक्रम समेटेर अगाडि बढिने उनको भनाइ थियो ।
मुख्यमन्त्री अधिकारीले पहिलाको आधारपत्र सरकारको अपनत्वमा नभएको भन्दै अहिले भने मन्त्रीपरिषद्बाट पारित गरिएको बताए । साथै समष्टीगत र सुक्ष्म आर्थिक नीति पनि अवलम्बन गरिएको उनले दावी गरे ।





