पोखरा/ पोखरा महानगरपालिका वडा नम्बर ३०, शिशुवामा रहेको चक्रदेवी सहकारीमा तोडफोड तथा कर्मचारीमाथि हातपात भएको छ । तोडफोड आरोपममा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।
स्थानीयका अनुसार दुर्गा प्रसाईंको समर्थक बताउने समुहले मंगलबार दिउँसो हातपात र तोडफोड गरेको हो । जेठ ९ गते बुधबार पोखराको अमरसिंह चौरमा हुने दुर्गा प्रसाईंको कार्यक्रमको प्रचारमा गएकाले सहकारी तोडफोड तथा कर्मचारीलाई हातपात गरेको कर्मचारीको भनाई छ ।
सहकारीबाट ३२ लाख रुपैयाँ लगेर ५ वर्षमा तिर्नुपर्ने ऋण पनि नतिरेका व्यक्तिसहित प्रसाईंका समर्थकले तोडफोड तथा कुटपिट गरेको सहकारीका कर्मचारीले प्रहरीलाई बताएका छन् । कास्की प्रहरीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माका अनुसार घटना थाहा पाउनसथा इलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट प्रहरी टोली खटिई गएको र तोडफोडमा संलग्नलाई पक्राउ गरिएको हो । पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याई अनुसन्धान कार्य भईरहेको, निजहरुले सहकारीका कर्मचारीमाथी हातपात, कागजपत्र हिनामिना तथा टेलीफोन तथा नेटको तार समेतमा क्षति पुर्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको शर्माले बताए ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभानका प्रकाश बिक, झापा भद्रपुर नगरपालिका– ३ का राजिव प्रसाई, पोखरा महानगरपालिका– २७ लेखनाथ वस्ने गणेश शाही, समिन बिक, संजिप सुनार, यम बहादुर चौरेली, कृष्णकुमारी चौरेली छन । यसैगरी रुपन्देहीका कमला चन्द र नवलपरासीका बिष्णु बोहरा पनि पक्राउ परेका छन ।





