बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा गण्डकी प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेस

प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा गण्डकी प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेस


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ८ २०८१, मंगलबार

पोखरा/ राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गण्डकी प्रदेशका प्रदेश प्रमुखसमक्ष आर्थिक वर्ष २०७९/८० को पाँचौं वार्षिक प्रतिवेदन पेश गरेको छ ।

मंगलबार आयोगका अध्यक्ष बालानन्द पौडेल नेतृत्वको टोलीले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष प्रतिवेदन पेश गरेको हो । नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम प्रदेश प्रमुख भट्ट समक्ष प्रदेश प्रमुखको निजी सचिवालयमा आयोजित एक समारोहबीच पौडेलले प्रतिवेदन हस्तान्तरण गरेका हुन । आयोगको टोलीमा सदस्य विपिनराज निरौला, सहसचिव हुमनाथ पौडेल, कम्प्युटर ईञ्जिनियर भानुभक्त जोशी सहभागी थिए ।

उक्त अवसरमा प्रदेश प्रमुख भट्टले मुलुकमा वित्तीय संघीयता लागू गर्न राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्तीय आयोग आवश्यक रहेकाले यसको स्थापना गरी विज्ञ टोलीबाट मुलुकले लाभ लिइरहेको बताए । ‘वित्तीय आयोग वास्तवमा देशका बौद्धिक वर्गहरु पूर्वप्रशासक, अर्थशास्त्री, वित्तसँग राम्रो अनुभव भएका व्यक्ति, प्राकृतिक स्रोतसाधनलाई कसरी परिचालन गर्न सकिन्छ भन्ने ज्ञान भएका भएका विज्ञ सम्मिलित आयोग हो,’ उनले भने, ‘सम्बन्धित विषयमा विशेषज्ञता हासिल गरेकाहरू रहने भएकाले नीति निर्माणका लागि आयोगको टोलीको ठूलो भूमिका हुन्छ ।’ भट्टले सानो क्षेत्रफलमा पर्याप्त प्राकृतिक श्रोत भएको देश अरु नभएको भन्दै नेपाल धनी देश रहेको बताए । उनले यसको उपयोगिताका सन्दर्भमा उचित नीति र योजना नहुँदा यसको उपभोग गर्न नसकिएको उल्लेख गरे ।

आयोगका अध्यक्ष पौडेलले आगामी आर्थिक वर्षका लागि वित्तीय समानीकरण अनुदानतर्फ गण्डकी प्रदेशलाई ७ अर्ब ६२ करोड २५ लाख उपलब्ध गराउन सिफारिस गरिएको बताए । यस्तै, प्रदेश भित्रका स्थानीय सरकारलाई ८ अर्ब ९८ करोड ९८ लाख वित्तीय समानीकरण अनुदान उपलब्ध गराउन सिफारिस गरिएकोमा नेपाल सरकारले सोही बमोजिम बजेट विनियोजन गरेको उनको भनाई थियो । उनले आर्थिक वर्ष २०८०/८१ का लागि प्रदेशहरुलाई ६० अर्ब र स्थानीय तहहरुलाई ८८ अर्ब बराबर वित्तीय समानीकरण अनुदान उपलब्ध गराउन सिफारिस गरिएबमोजिम नेपाल सरकारले सोही बमोजिम बजेट विनियोजन गरेको जनाए । यद्यपी, नेपाल सरकारले सिफारिस बमोजिम बजेट विनियोजन गरेपनि प्रदेश तथा स्थानीय तहलाई महालेखा नियन्त्रक कार्यालयले पूरै रकम हस्तान्तरण नगरेको उनले बताए ।

आयोगलाई संघीय सञ्चित कोषबाट प्रदेश र स्थानीय तह तथा प्रदेश सञ्चित कोषबाट स्थानीय तहलाई उपलब्ध गराइने वित्तीय समानीकरण अनुदान रकमको लागि नेपाल सरकार र प्रदेश सरकारलाई सिफारिस गर्ने अधिकार छ । संघीय सञ्चित कोषबाट संघ, प्रदेश र स्थानीय तहबीच राजस्व बाँडफाँड गर्ने, मानक र पूर्वाधारको आधारमा प्रदेश र स्थानीय तह सशर्त अनुदानको आधार तय गर्ने, प्रदेश सञ्चित कोषबाट प्रदेश सरकार र स्थानीय तहबीच राजस्व बाँडफाँड गर्ने, संघ, प्रदेश र स्थानीय तहले लिन सक्ने आन्तरिक ऋणको सीमा सिफारिस गर्ने, प्राकृतिक स्रोतबाट प्राप्त रोयल्टी बाँडफाँडको हिस्सा निर्धारणको आधार तय गरी सिफारिस गर्ने जस्ता अधिकार पनि आयोगलाई छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि केन्द्र सरकारबाट प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गरिने वित्तीय समानीकरण अनुदानको रकम निर्धारण गरी सरकारलाई सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->