बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

स्तरीय सडक, गुणस्तरीय स्वास्थ्य र शिक्षा

स्तरीय सडक, गुणस्तरीय स्वास्थ्य र शिक्षा

‘घुम्टेलाई मुख्य आर्कषण बनाएर सहायक स्थानहरु विकास गर्दै जाने हाम्रो योजना र लक्ष छ’ नगरप्रमुख भरत शर्मा गैरेले भने, ‘पर्यटन, कृषि र स्वास्थ्य क्षेत्रलाई भरपर्दो र दिगो बनाउँदा आम नागरिकको विश्वास बढ्छ ।’


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ९ २०८१, बुधबार

बागलुङको निर्वाचन क्षेत्र नं. २ मा महत्वपूर्ण रणनीतिक सडक पर्छ । यो सडक गलकोट नगरपालिका वडा नं. ५ को हरिचौरदेखि शुरु भएर वडा नं. ७ को मल्म, झिर्काहुँदै वडा नं. १० को पाण्डवखानी, रमुवाबाट बडिगाडमा पुग्छ । यो सडकको रेखांकन अनुसार गुल्मी र प्युठान जोड्ने सडक पनि हो । यो रणनीतिक सडकले गलकोटको विकासमा महत्वपूर्ण योगदान दिनेछ । यद्यपी यो सडक निर्माण शुरु भएर रोकिएको छ । राज्यको आर्थिक अवस्था, बजेटको सिमितता जस्ता कारणले रोकिएको कामलाई अगाडि बढाउन पहल भैरहेको छ । यो सडक स्तरीय वा कालोपत्रे बनिसक्दा सबैभन्दा बढी वडा नं. ७ ले नै फाइदा लिन सक्छ ।

यो सडक खण्डमा मल्मको झिर्का र टोकरी पर्छ । ती दुइ स्थानलाई गलकोटले पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने लक्ष बनाएको छ । टोकरीको डिपिआर बनिसकेको छ । १९ करोड लागतमा विभिन्न पर्यटकीय पूर्वाधार बनाउने गरी डिपिआर बनेर नगरपरिषद, प्रदेश सरकार र संघिय सरकारमा पेश भैसकेको वडा नं. ७ का अध्यक्ष राज बहादुर थापाले बताए । यहाँ फुटबल मैदान, राष्ट्रिय विभूती पार्क निर्माण गर्ने तथा भिक्टोरिया क्रस पार्क बनाउने लक्ष छ । गलकोटेहरुले विश्व युद्दमा समेत पुगेर बहादुरी देखाएको इतिहास छ । त्यो विरासत झल्कने गरी भिक्टोरिया क्रस पार्क बनाउन लागिएको हो । त्यस बाहेक यहाँ केही मठमन्दिर, हेलीप्याड र प्याराग्लाइडिङको काम समेत गरिने बताइएको छ ।

यहाँबाट प्याराग्लाइडिङ गरेर मल्मको आँगखेत र बाँसखोलामा झर्ने गरी सफल परीक्षण भैसकेको छ । यो डाँडाबाट उत्तरतर्फ घुम्टे लेक र अन्तराष्ट्रिय मुर्तिकला रहेको टेउवा छर्लङ्ग देखिन्छ । जसका कारण पर्यटकको रोजाइमा पर्ने देखिन्छ । नगरपालिकाले पनि टोकरी र टेउवा पदमार्ग तथा साइकलमार्गले जोड्ने लक्ष बनाएको छ । यो नगरको गौरवको आयोजना हो । यद्यपी बजेट अभावमा पूर्णता दिन नसकेको थापाले बताए । यी दुई स्थानको बीचमा पहरो भएकोले सहजै सडक संजाल जोडिन गाह्रो छ । त्यसैले यहाँ आकासे पुल बनाउने, साइकल मार्ग बनाएर क्रसकन्ट्री साइकल दौडजस्ता साहसिक खेल संचालन गर्ने र घुम्टे जाने बैकल्पिक मार्ग बनाउने लक्ष छ । घुम्टे पर्यटकीय क्षेत्रको डिपिआर बनिसकेको छ । उक्त डिपिआर अनुसारका केही कार्यक्रम गतबर्षदेखिनै शुरु भैसकका छन् । मुर्तिकला व्यवस्थित बनाउँदै टेउवासम्म पुग्ने सडक स्तरीय बनाउने क्रम चलिरहेको छ । सानो घुम्टे लेकसम्म सडक संजालले जोड्ने गरी काम अघि बढेको छ । यो अभियान पुरा हुँदा घुम्टेसम्म पैदलै जाने बाटो पनि छोटो हुन्छ ।

नगरभित्रकै अग्लो पहाड भएकोले गलकोट नगरपालिकाले पनि घुम्टेलाई केन्द्रमा पारेर पर्यटनका योजना बनाइरहेको छ । ती योजना प्राथमिकतामा पनि परेका छन् । ‘घुम्टेलाई मुख्य आर्कषण बनाएर सहायक स्थानहरु विकास गर्दै जाने हाम्रो योजना र लक्ष छ’ नगरप्रमुख भरत शर्मा गैरेले भने, ‘पर्यटन, कृषि र स्वास्थ्य क्षेत्रलाई भरपर्दो र दिगो बनाउने नै हाम्रो लक्ष हो ।’ कृषिमा आत्मनिर्भर नगर बनाउने, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा प्रवाह गर्ने र पर्यटनमा लगानी बढाउँदा गलकोटप्रति आम नागरिकको विश्वास बढ्ने गैरेले बताए ।

वडा नं. ७ ले पनि नगरको गतिलाई नै समातेर काम अगाडि बढाएको छ । विशेषगरी रणनीतिक सडकमा सहजीकरण गर्दै अन्य शाखा सडकहरु स्तरीय बनाउने काममा लगानी बढाइएको छ । त्यस बाहेक वडामा छरिएर रहेका धेरै विद्यालयभन्दा आवासीय प्रकारको एउटै विद्यालय बनाउन अध्ययन शुरु भएको छ । यसरी एउटै विद्यालय आवासीय बनाउँदा गाडी राखेर बिद्यार्थी ल्याउने व्यवस्था गर्ने, आवासीय भएपछि धेरै विद्यार्थी विद्यालयमै बस्ने वातावरण मिलाउने, गुणस्तरमा ध्यान दिने र स्थानीय आवस्यकता अनुसार प्राविधिक शिक्षाको पढाइ गर्ने योजना थापाले सुनाए । त्यसका लागि यहाँका विभिन्न विद्यालयमध्ये उपयुक्त स्थान र विद्यालय छनौटका आधार बनाइरहेको उनले बताए ।

मध्यपहाडी लोकमार्गले छोएकोले यहाँ कृषि फसलबाट पनि स्थानीयले फाइदा लिन सक्छन् । तसर्थ ताजा तरकारी लगायतका कृषि फर्म संचालनमा किसानलाई प्रोत्साहित गरिएको छ । त्यस बाहेक माछापालनका लागि बामिया र चिसापानी क्षेत्रलाई पकेटको रुपमा विकास गर्ने लक्ष बनाइएको छ । दरमखोलाको पानीबाट पोखरी बनाइ माछापालन गर्दा बजार राम्रो पाइन्छ । नगरपालिकाले दरमखोलाको असला संरक्षणका लागि बर्षातका तीन महिना मार्न नपाउने व्यवस्था गरेको छ । व्यवस्थित रुपमा माछापालनका फर्महरु बढाउन सकेमा वर्षको दुइ सिजन गरी ६ महिना माछा मार्न रोक लगाएर दरमखोलाको जैविक बिबिधता समेत संरक्षण गर्ने योजना नगरको छ । अहिले पनि दरमखोलाको माछा भनेपछि जापानसम्म निर्यात हुने गरेको छ । तर प्रसस्त नभएकोले माग अनुसारको आपूर्ति छैन । दरमखोलाकै पानीका पोखरी बनाएर माछाको व्यवसायिकीकरण गर्न सकेमा त्यसले राम्रो प्रतिफल पाउन सकिने विश्वास स्थानीयको छ ।

पर्यटन र कृषिसँगै नगरपालिकाले अगाडि सारेको स्वास्थ्य सेवा कार्यक्रमले पनि गलकोटलाई निकै प्रभाव पारेको छ । वडा नं. ७ मा त झनै धेरै स्वास्थ्यका कार्यक्रम जोडिएका छन् । पुरानो भवनमा संचालित स्वास्थ्य चौकी भएपनि नगरभित्रकै दोश्रो नम्बरमा सेवा दिने चौकीमा गनिन्छ । भवन निर्माणका लागि घडेरी प्राप्ती भैसकेकोले हालको पुरानो भवनबाट धेरै समय काम गर्न नपर्ने थापाले बताए । उनले सबै प्रकारका स्वास्थ्य सेवा पुग्ने गरी भवन बनाउने तयारी भएको बताए ।

नगरपालिकाले जेष्ठ नागरिकको घरघरमै पुगेर स्वास्थ्य सेवा दिने कार्यक्रम चलाएको छ । मल्मका सबै टोलका जेष्ठ नागरिकले यो सेवा पाएसकेका छन् । त्यस बाहेक गाउँघर क्लिनिक संचालन, टोकरीमा सामुदायिक स्वास्थ्य इकाई स्थापनाका लागि काम अगाडि बढेको छ । सुरक्षित बर्थिङ सेन्टरको रुपमा पनि मल्म चिनिएको छ । चालु वर्ष पनि मल्मको स्वास्थ्य चौकीबाटै ५० जनाले सुरक्षित प्रसुती सेवा पाएका छन् । दुई बर्षमा दुइवटा बृहत स्वास्थ्य शिविर पनि यहाँ संचालन भए । फेवा सिटी अस्पतालको सहकार्यमा गत वर्ष भएको शिविरमा १ हजार ४ सय जनाको स्वास्थ्य परीक्षण भएको, ४ सयबढी महिलाको पाठेघरको परीक्षण तथा २ सय ९४ जनाको पाठेघरको अपरेशन समेत भएको थियो ।

त्स बाहेक रोटरी क्लब अफ पाटनको सहकार्यमा बालबालिकाको मुटुरोग शिविर पनि यहाँ संचालन भयो । उक्त अवसरमा ८ सय बालबालिकाले मुटु परीक्षण गर्न पाए । केहीको काठमाण्डौंसम्म पुगेर उपचार पनि भयो । हरेक ६ महिनामा आँखाको शिविरहरु संचालन भैरहेका छन् । झिर्का र टोकरीमा बाख्राको व्यवसायिक फर्म, किवी खेती तथा ओखर प्रवद्र्धनका कार्यक्रम संचालन गर्ने गरी वडाले तयारी गरेको छ । त्यसो गर्दा पाण्डवखानीसँग जोडिएको क्षेत्रमा बसाईसराइ रोकिने, खुलाचौर र खर्कको उपयोग हुने तथा व्यवसायिक रुपमा फर्महरु बिस्तार गर्न सकिने गरी काम भैरहेको स्थानीय सरस्वती खत्रीले बताइन् ।

बसाइसराई रोक्न शिक्षा, स्वास्थ्य र जिविकोपार्जनको क्षेत्रमा काम गर्दैछौं
राज बहादुर थापा
अध्यक्ष
वडा नं. ८ गलकोट नगरपालिका
संघियतापछि तत्कालिन मल्म गाविसलाई दुइ वडामा विभाजन गरियो । विभाजनको बेला यो वडालाई ठाडो चिरा पारियो । जसका कारण घुम्टेको लेकदेखि दरमखोलाको तिर सम्मको भाग यो वडा फैलिएको छ । जटिल भूगोलका कारण सडक संजाल अप्ठ्यारो छ । केही फाँट रहेको क्षेत्रबाहेक माथिल्लो क्षेत्रमा खेतीपातीको समस्या छ । तसर्थ मानिसहरु बसाइ सरेर जाने क्रम रोकिएको छैन । बसाइसराई रोक्न शिक्षा, स्वास्थ्य र जिविकोपार्जनका लागि केही न केही काम गर्नुपर्ने बाध्यता छ । तर सिमित श्रोत र साधनले जटिल भूगोलमा विकास गर्न अप्ठ्यारो छ ।
पाण्डवखानी जाने मुख्य सडक भएपनि १० किमीभन्दा धेरै क्षेत्रफल वडा नं. ७ मै पर्छ । शाखा सडक बनाउने काम मात्र नभई मुख्य सडक अबरुद्ध हुँदा धेरै मानिसको आवतजावतमा समस्या आउने भएकोले मर्मतमा लगानी बढाउनु पर्छ । विद्यालयहरु टाढा टाढा छन् । बालबालिकाहरु सुरक्षित रुपमा विद्यालय पुग्ने वातावरण बनाउन पनि समस्या परेपछि हामीले आवासीय विद्यालयको अवधारणा अगाडि सारेका छौं । तर तत्काल संभव भएको छैन ।


स्वास्थ्य सेवामा बढी नै समस्या छ । दरमखोलाको छेवैमा रहेको वडा कार्यालय र स्वास्थ्य संस्थामा दुई तीन घण्टा हिंडेर आउने बिरामीले उपचार गराउनुपर्ने बाध्यता छ । तसर्थ टोकरी भन्ने स्थानमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गर्ने र जेष्ठ नागरिकको भने घरघरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने काम गरेका छौं । जेष्ठ नागरिकले त घरमै सेवा पाउनुभयो, तर लागतका हिसाबले नगरपालिका र वडाको खर्च बढी आउने गर्छ । तरपनि सक्दो रुपमा सेवा दिएर जनप्रतिनिधि हुनुको भूमिका निर्वाह गर्ने काममा लाग्दैछौं ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->