जैमिनी नगरपालिकाले लिड विद्यालयका लागि छनौट गरेको सर्वोदय जनक मावि, बिनामारे ।
राष्ट्रिय जनगणना २०७८ का अनुसार, देशभरका नगरपालिकामध्ये ऋणात्मक जनसंख्या वृद्धि भएको नगरमा बागलुङको जैमिनीलाई दोस्रो नम्बरमा छ । अछामको साँफेवगरपछि ऋणात्मक जनसंख्या बृद्धिको दोस्रो सूचीमा परेको जैमिनीमा जन्मदर मात्रै घटेको छैन्, बसाईसराईको दर पनि उच्च छ । स्थानीय तह गठनपछि चौतर्फी विकासका लहर चलेको छ नगरमा । सडक पूर्वाधार, खानेपानी, विद्युत, स्वास्थ्यमा पहुँच र शिक्षामा नविनता सबैको खोजी हुँदा पनि जनसंख्या घट्दो छ । रोजगारीका अवसरमा कमी, उत्पादनको बजारीकरणमा समस्या घट्दो जनसंख्याका कारक हुन् । यी सबैमा नगर सचेत छ ।
२०६० देखि ७० को दशकमा हरेक कक्षामा विद्यार्थीको संख्या एक सयभन्दा धेरै भएर कक्षा विभाजन गर्नुपर्ने अवस्थामा पुगेको शान्ति माध्यमिक विद्यालय कुश्मीशेरामा अहिले माध्यामिक तह चलाउन पुर्याउनुपर्ने मापदण्डका लागि मात्रै विद्यार्थी छन् । जनता मावि सर्कुवा, भरतपुरी मावि दमेक, जनता मावि पैञ्युथन्थापसहित अधिकांश विद्यालयको अबस्था नाजुक छ । ८० विद्यालय रहेको नगरका अधिकांश विद्यालयमा विद्यार्थीको संख्या घट्दो छ ।
गगनचुम्बी भवन बनेका छन्, शिक्षक दरबन्दी पर्याप्त छन् तर विद्यार्थी छैनन् । पाठ्यक्रममा आधारित पठनपाठन हुन्छ तर विद्यालयले उत्पादन गरेको जनशक्तिले काम पाएका छैनन् । बसाईसराई र घट्दो जन्मदरका कारण विद्यार्थी संख्या घट्ने र विद्यालय खाली हुने क्रम निरन्तर चलिरहेको छ । जैमिनीले यस्ता विषयमा अध्ययन गरेर लिड विद्यालयको अवधारणा अघि सारेको छ । नगरमा नमुनाको रुपमा एउटा विद्यालयलाई लिड विद्यालयको रुपमा विकास गर्ने र अन्य विद्यालयलाई सिकाउने अवधारण नगरले बनाएको छ ।

लिड विद्यालय प्राबिधिक जनशक्ति उत्पादन गर्ने, आवासीय सुविधासहित पठनपाठन हुने । तालिम तथा सेमिनार विभागसमेत भएको । विद्यार्थीलाई पढाई, अभिभावकलाई रोजगारी र पढ्दै कमाउँदै गर्न चाहने विद्यार्थीका लागि विद्यालयमै कमाउने वातावरण बनाउने विद्यालयको अवधारणा हो भन्छन् नगर शिक्षा अधिकार खेम आचार्य । ‘हामीले चालु आर्थिक वर्षबाटै लिड विद्यालय बनाउने तयारी थालेका छौं, स्रोतका हिसाबले नगरको बजेटले मात्रै सम्भव छैन्, संघ र प्रदेशको सहयोग अपेक्षित छ’ आचार्य भन्छन् ‘सबै प्रकारका शिक्षा पाईने यो अवधारणा देशकै लागि नमुना अवधारणा हो, जसले शिक्षा क्षेत्रमा देखिएका सबै समस्याको सम्बोधन गर्छ ।’ नगरलाई शैक्षिक हबको रुपमा विकास गर्न लिड विद्यालय अबधारणा आएको उनले बताए । लिड विद्यालय विद्यार्थीलाई मात्रै होईन शिक्षकका लागि तालिम केन्द्र र अनौचारिक शिक्षा लिन चाहनेका लागि अबको ढोका हुने उनको दाबी छ ।
घट्दो विद्यार्थी संख्यालाई मध्यनजर गरेर नगरले विद्यालय समायोजन तथा दरबन्दी मिलान कार्यविधि बनाएको छ । कार्यविधि कार्यान्वयनमा आउँद धेरै विद्यालय स्थगन हुनसक्ने अवस्था छ । केही विद्यालय घटुवा हुनेछन् । पहिलो पटक स्वस्फुर्त स्थगन र घटुवाका लागि आग्रह गरेको नगरले तथ्यांक संकलनको काम गरिरहेको छ । आँफै घटुवा नहुने विद्यालयहरु नगरले स्थगन तथा घटुवा गर्ने आचार्य बताउँछन् । ‘हामीले विद्यालय घटाउँदा वा स्थगन गर्दा कुनै विद्यार्थीलाई अपायक पर्न सक्छ, उसलाई अभिभावकसहित आवासीय सुविधा दिएर पढाउँदा यो समस्या टर्छ’ आचार्य भन्छन् ‘लिड विद्यालयले यस्ता समस्याको सहजै समाधान गर्छ ।’ आवासीय सुविधा लिएर विद्यार्थीसँगै बस्ने अभिभावकलाई विद्यालयले नै काम दिने व्यवस्था लिड विद्यालयमा हुने उनी बताउँछन् ।
नगरले लिड विद्यालयका लागि बनाएको मापदण्ड र कार्यबिधिका आधारमा सर्बोदय जनक मावि बिनामारे छनोटमा परेको छ । २२ रोपनी क्षेत्रफलमा फैलिएको विद्यालयलाई लिड विद्यालयको रुपमा विकास गर्न भने १५ करोड बढी खर्च हुने छ । गत आर्थिक वर्षमा दश लाख र चालु आर्थिक वर्षमा ११ लाख रुपैयाँ लिड विद्यालयका आधार तयार गर्नकै लागि खर्च भैसकेको छ । ‘हामीले अवधारणा ल्याएपछि प्रदेशले पनि लिड विद्यालय कार्यक्रमका लागि बजेट विनियोजन गरेको छ, प्रत्येक स्थानीय तहमा लिड विद्यालय बनाउने अवधारणा प्रदेशको छ’ नगर उपप्रमुख हरिहर शर्माले भने ‘यो सिकाई देशभर फैलिनेमा ढुक्क छौं ।’ गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा लिड विद्यालय कार्यक्रमका लागि एक करोड ३० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । कार्यविधि तयार गरेर विद्यालयहरुसँग प्रस्ताव मागेको प्रदेशले अनुदान भने वितरण गरिसकेको छैन् । लिड विद्यालयले विद्यार्थीलाई श्रम गर्न सिकाउने र अभिभावकलाई पढाई खर्च जुटाउन सहयोग गर्ने शर्मा बताउँछन् ।
‘लिड स्कुलले देश बनाउने जनशक्ति उत्पादन गर्छ’
खेम आचार्य
नगर शिक्षा अधिकारी (जैमिनी नगरपालिका)
हामीले देशलाई चाहिने र अन्तराष्ट्रिय बजारमा काम लाग्ने जनशक्ति उत्पादन गर्ने हो । लिड विद्यालयले अहिलेको सिकाईभन्दा फरक फरक सिकाई प्रक्रिया अबलम्बन गरेर जनशक्ति तयार गर्छ । विद्यालय मर्जिङ र घटुवाबाट उत्पन्न हुने परिस्थितीको सहजै समाधान खोज्न पनि लिड विद्यालय कार्यक्रम चाहिएको हो । विद्यार्थीलाई होस्टलमा राखेर पढाउने गरी सबैतिर अभ्यास भएका छन् । विद्यार्थी मात्रै होस्टल राख्दा उनीहरुले अभिभावकत्व महशुस नगर्न सक्छन् । अभिभावकले पनि आँफुसँग छुटाएर होस्टलमा आफ्ना छोराछोरी राख्ने मन गर्दैनन् । हामीले लिड विद्यालयमा बालबालिकालाई शिक्षा र अभिभावकलाई रोजगारी दिने अवधारणा विकास गरेका छौं । जसले कोही पनि बालबालिका शिक्षाबाट बञ्चितीकरणमा पर्न नपरोस् ।

विद्यालयमा पढाई भैरहेकै छ । पढेकाहरुले के गरेका छन् ? पढेपछि के गर्ने ? हाम्रो श्रम बजारले कस्तो जनशक्ति खोजीरहेको छ ? यस्ता प्रश्नहरु समुदायस्तरमा छन् । हाम्रै टोलमा आवश्यक प्राबिधिक जनशक्ति तयार छैन् तर कयौं युवाहरु रोजगारीको अभावमा विदेशीन बाध्य छन् । स्वरोजगकारको क्षेत्रमा पनि आफै, आफ्ना ज्ञानले गर्न सकिने कामका लागि महंगो मुल्यको जनशक्तिको प्रयोग भैरहेको छ । लिड विद्यालयले हाम्रा छोराछोरी हाम्रै माटोमा रमाउने बनाएर तयार गर्छ भन्ने हाम्रो विश्वास हो ।
यसको अर्को पाटो– थोरै विद्यार्थीलाई राज्यले धेरै लगानी गरेर पढाउनुपर्ने अवस्था छ । विद्यार्थी शिक्षाबाट बञ्चित पनि नहुने र राज्यको लगानी पनि मितव्ययी र उपयोगी बनाउनका लागि समेत लिड स्कुलले सहयोग गर्छ । झट्ट हेर्दा महत्वकांक्षी लाग्ने यो अवधारणा दिर्घकालिन प्रभाव राख्ने जनउपयोगी अवधारणा हो ।





