पोखरा/पोखराले सहकारी पीडितहरु केन्द्रको परिचय बनाएको छ । यहाँ सूर्यदर्शन,इमेज,शिवशिखर जस्ता शाखा खोलेर निक्षेप अपचलन गर्नेदेखि स्थानीयस्तरमै संचालित प्राइम, मित्रमिलन, विन्ध्यवासिनी, बलिदानीबाट पनि हजारौं सर्वसाधारण ठगिएका छन् । यी सहकारी पीडितहरुले खाइनखाइ जम्मा गरेको निक्षेप फिर्ता गरिदिनको लागि प्रहरी÷प्रशासनदेखि नेता गुहारेका छन् भने सडकबाटै पनि दबाब दिँदै आएका छन् । तर, उनीहरुको पीडाको सुनुवाइ भएको छैन । कास्की प्रहरीले पक्राउ गरेका केही सहकारीका संचालकहरु जेलमा भए पनि पीडितले रकम फिर्ता पाउने ग्यारेण्टी कतैबाट भएको छैन ।
हो, आफ्नो यही पीडा सुनाउन ती सहकारी पीडितहरुले आइतबार पोखरामा संयुक्त विरोध ¥यालीको आयोजना गर्ने भएका छन् । यो विरोध ¥यालीको नेतृत्व वैशाख ५ गते नै गठित सहकारी पीडित संयुक्त संघर्ष समितिले गर्नेछ ।
संयुक्त संघर्ष समितिका अध्यक्ष किरण श्रेष्ठका अनुसार विरोध ¥याली पोखराको पृथ्वीचोकमा आयोजना हुँदैछ । शनिबार आयोजित पत्रका सम्मेलनमा बोल्दै उनले सहकारीका बचतकर्ताको रकम फिर्ता तथा दोषीमाथि कारवाही गर्न संसदीय समिति गठन हुनैपर्ने तथा सत्तामा भएकाहरुलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने माग गरे । श्रेष्ठ स्वयं चाहिँ सूर्यदर्शन सहकारीबाट पीडित हुन् । उनको सहकारी घोटाला प्रकरणमा गृहमन्त्री रवि लामिछानेको नाम पनि जोडिएको छ ।
‘राम्रो, दरिलो, निष्पक्ष छनबिन गर्ने समिति बनोस् । समिति बनाएपछि सूर्यदर्शन, सहारा, सुप्रिमबाट सुरु गरौं,’ उनले भने, ‘गृहमन्त्रीले रोक्नुभएको छ । एमालेका केपी ओलीले रोकेको सुनिन्छ । यो रोक्न मिल्दैन । सत्तामा भएकाहरु जो जोडिन्छ । राजीनामा दिनुपर्छ । पीडितले बचत पाउनुपर्छ ।’
उनले सहकारीका कथित संचालकहरु पैसा पोको पारेर भागेको र नियमनकारी निकाय उनीहरुलाई नै जोगाउन तल्लीन रहेको पनि आरोप लगाए ।
‘नियामक निकायबाट झन् पीडा भएको छ । औषधि उपचार गर्न पाएको छैन । किरिया गर्न सकेको छैन,’ उनले थपे । उनले पोखरा महानगरपालिकाले वैशाख २७ गते प्रहरीलाई बुझाएको करिब ३५ सय पृष्ठको छानबिन प्रतिवेदनमा दोषी देखिएका सबैमाथि कारवाही अगाडि बढाउन माग पनि गरे । उनले सहकारीको सम्पत्ति हिनामिना हुने सम्भावना बढ्दै गएकाले त्यसको संरक्षण गरिनुपर्ने पनि बताए ।





