
आठ वर्षअघिसम्म तमानखोला जाने सडक थिएन । भएको ट्रयाकले बोङदादोभान मात्रै जोडेको थियो । बाटोमा दुइवटा खोला भएकोले वर्षातमा पालिका मुकाम पुग्नै सास्ती थियो । म्याग्दीको ओखरबोटतर्फबाट जोडिएको सडकले लामेलातर्फ जेनतेन सवारी गुड्थे ।
अहिले तमानको सबै वडा र बस्तीमा सडक पुगेको छ । बुर्तिवाङबाट तमानखोलाको खुंखानी, नर्जाखानी र तमानहुँदै सोलेडाँडा पुग्ने सडक स्तरीय छ । कतिपय सडक ग्राभेल भैसकेको छ । गण्डकी प्रदेशको रणनीतिक सडकमा सूचीकृत भएर यो सडकले दीर्घकालीन योजनामा पनि रहेको छ । लुकुरबन खोलामा २५ मिटर लामो र भालीवाङ खोलामा ४० मिटर लामो पक्की पुल निर्माण भैरहेको छ । बुंगादोभानदेखि ५ वटै वडा जोड्ने गरी सडक स्तरीय बनाइएका छन् । बुंगादोभानदेखि तमान, सोलेहुँदै म्याग्दी जोड्ने २५ किलोमिटर लामो रणनीतिक सडक निर्माण भएको हो । बुंगादोभानदेखि खुंखानी र नर्जातर्पm २ करोड लागतमा सडक निर्माण भएको हो । सबैभन्दा माथिल्लो नर्जामा सडक पुगेपछि गर्भवती, बुढाापाका समेतलाई सहजै उपचारमा साथ मिलेको छ ।
सदरमुकामदेखि ९० किमी पश्चिमको बुर्तिवाङबाट एक दिनको पैदलमा तमानखोलाको नर्जाखानी पुगिन्थ्यो । नर्जाखानीबाट सोलेतर्फ जानुपरे अर्को एक दिनको यात्रा गर्नुपर्ने बाध्यता थियो । तत्कालीन जिल्ला विकास समितिबाट सडकका लागि बजेट नपाएका स्थानीयले आफ्नै पालिका बनेपछि मात्रै यो सेवा पाएका हुन् । ‘सदरमुकाम गएर योजना माग्ने र बजेट पर्ने भन्ने त सपना जस्तै थियो, अहिले आफ्नै पालिकाको बजेटले काम गर्न पाएका छौं,’ गाउँपालिका उपाध्यक्ष हिराकुमारी छन्त्यालले भनिन्,‘हामीले अनुगमन गरेर आफ्नो क्षेत्रको काम गुणस्तरीय बनाउने प्रयास समेत गरेका छौं ।’ तत्कालीन जिविसबाट स–साना दुईचार वटा कृषि, पशुपालन र खानेपानीका साना योजनामात्रै पाएकोमा अहिले भने करोड रकम खर्चने गरी पूर्वाधारका योजना बनेको उनले बताइन् ।
सडकसहित तमानखोलामा अहिले दशक नपुग्दै दर्जनबढी पक्की पुल बनेका छन् । खुंखानी खोलामा बनेको आकासे पुलले नर्जालाई नजिक बनाएको छ । ‘पहिला बस्ती नै छैन भनेर कर्मचारी फर्कन्थे र,े’ स्थानीय खगेन्द्रमान पुनले भने, ‘सडक र पुलले अनकन्टार क्षेत्रमा सहज बनेको छ ।’ सडक र पुल अभावमा एउटा बस्तीका बालबालिका अर्को बस्तीमा पढ्न पुगेर पढ्न सकेका थिएनन्, केहीले डेरा लिएर बस्नुपथ्र्यो । आजकल त यो समस्या हट्न थालेको छ ।

कोही बिरामी पर्दा एक दिन पैदलबाटोमा डोकोमा बोकेर बुर्तिवाङ लगेको दुःख अहिले हटेको वडा नं. ६ का कुलबहादुर छन्त्याल स्मरण गर्छन् । अहिले त बुर्तिवाङबाट एक डेढ घण्टामा नर्जाखानी पुगिन्छ । त्यस बाहेक तमानखोलाले शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएको छ । हरेक विद्यालयमा आफ्नै पाठ्यक्रम पढाइ हुन थालिसकेको छ । जिल्लामै पहिलोपटक पाठ्यक्रम बनाएर लागू गर्ने पालिका तमान हो । त्यस बाहेक सबै बस्तीमा स्वास्थ्य संस्था बनेका छन् । स्वास्थ्य चौकी नभएको भित्रिवन, पात्ले, ठासपुरी, लामेलामा समेत सामुदायिक स्वास्थ्य केन्द्र बनेका छन् । नर्जाखानीमा त सुरक्षित सुत्केरी सेवा नै संचालनमा छ ।
पालिका केन्द्र रहेको बोङगादोभान स्वास्थ्य चौकीमा एक जना मेडिकल अधिकृतसहित प्रभावकारी स्वास्थ्य सेवा दिनेगरी अन्य स्वास्थ्यकर्मीसमेत व्यवस्थापन भएको छ । यो केन्द्रलाई पालिकाको आधारभूत अस्पतालको रुपमा विकास गरिएको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताए । ‘हिजोजस्तै सामान्य उपचार नपाएर कोही मर्न नपरोस् भन्ने मान्यताले काम गरेका छौं,’ बुढाले भने, ‘गर्भवती, प्रसुती र बालबालिकाले त झनै समयमा उपचार पाउनुपर्छ ।’ पालिकाले आफ्नै लगानीमा हरेक वर्ष एकजनाको दरले डाक्टर पढ्न चाहनेका लागि अनुदानसमेत दिन थालेको छ । यो क्रमले बुढाले आफ्नै कार्यकालमा कम्तिमा ५ जनाले डाक्टर पढ्ने अवसर पाउने बताए । पालिकाको साथ पाएर पढेकाहरुले कम्तिमा २ वर्ष ग्रामीण क्षेत्रमा बसेर काम गर्दा पालिकाको आवश्यकतामा समेत सहयोग पुग्ने उनले बताए ।
पालिकाले पर्यटन प्रवद्र्धनमा पनि काम गरेको छ । बिशेषगरी सोलेडाँडा र बराहतालको डिपिआर बनाएर पर्यटनको गन्तव्य बनाउन लागेको हो । हिउँदमा हिउँले सेताम्मे हुने बराहताल जाने सडक बनेको छ । भयरबोंगा, मुठाचौरहुँदै पुगेको सडकले बराहतालमा पर्यटक सजिलै पुग्न सकेका छन् । त्यसबाहेक ढोरपाटन जानेलाई पनि यो मार्ग सहज भएको छ । हिउँदको सुख्खा मौषममा पनि नसुक्ने यो तालसँगैको बराह मन्दिरप्रति तमानखोलाबासीको आस्था र विश्वास छ । यहाँ पूजा गर्नेहरु नियमित पुग्छन् । यहाँबाट उत्तरतर्फ हिमाली श्रृंखला देख्न सकिन्छ । पदयात्रा गर्दै खोल्सेवाङतर्फ जाने तथा म्याग्दीको गुर्जाघाट जानेले यो क्षेत्रको उपयोग गर्छन् ।

सोले ऐतिहासिक डाँडा हो । चर्चित गायक खड्ग गर्बुजाको गीतमा समेत यो पहाडको बयान छ । म्याग्दी र बागलुङको सिमानामा रहेको सोलेमा शहिद स्मृति पार्क बनाइएको छ । यहाँको जैविक विविधता संरक्षण गर्न जडिबुटी संरक्षण केन्द्र बनाउने लक्ष्यले काम थालिएको बुढाले बताए । यहाँका पुराना पोखरीहरु संरक्षण गरिंदैछ । हिमाली दृश्य हेर्दै आराम गर्ने ठूला चउरलाई सदुपयोग गरिएको छ । जडिबुटी संरक्षण केन्द्रमा सबैखाले जडिवुटीबारे अध्ययन अनुसन्धान गर्नेलाई अवसर दिइनेछ । साथै बैधानिकता भएका जडिबुटीको उचित संकलन र बिक्रीबाट राजश्व वृद्धि गर्न सकिने दिर्घकालीन योजना पनि बनेको छ ।
तमानखोलाले ढोरपाटन उपत्यका जोड्ने गरी दुईवटा सडक संजाल बनाएको छ । बराहतालदेखि जाने सडकले स्यालपाखे तर्फको उपत्यका पुगिन्छ भने नौडल्ले पहाडतर्फको सडकले गुर्जाघाट पुगिन्छ । गुर्जाघाट जाने सडकको केही खण्ड ट्रयाक खोल्ने क्रममा कानूनी बाधा आएपछि रोकिएको छ । वन र ढोरपाटन सिकार आरक्ष क्षेत्र परेकोले वातावरणीय प्रभाव प्रतिवेदन बनाउनुपर्ने, केन्द्रीय तहबाट अनुमति लिनुपर्ने जस्ता केही बाध्यताले ढीलाई भएको उनले बताए । त्यस बाहेक बोङगादोभानदेखि सोले, नौडल्ले पहाडबाट ढोरपाटन छिर्ने पदमार्गको पनि योजना छ । त्यो योजना पुर्ण नभएपनि साहसिक पदयात्राको रुपमा केही खण्डमा पर्यटकहरु पुगिसकेका छन् । व्यवस्थित बनाउनका लागि भने बाटोमा केही बस्ने स्थान, रेष्टुरेन्ट, पानीको व्यवस्था गर्न सकेमा पदमार्ग मार्फत ढोरपाटन जान चाहनेले यो रुट प्रयोग गर्नेछन् ।
तमानखोलाले आफ्नै भूगोल र परिवेश अनुसारका उत्पादनमा पनि जोड दिएको छ । कृषि फसलको उत्पादन र बजारीकरणमा चासो राख्दै किसानलाई प्रोत्साहन गर्न तमानमै कृषि उपज संकलन केन्द्र बनेको छ । झण्डै २ करोड लागतमा निर्माण भएको संकलन केन्द्रलाइ कोल्ड स्टोरको रुपमा विकास गर्न सबै पूर्वाधार बनिसकेको छ । १ सय ३० मेट्रिकटन क्षमताको कोल्डस्टोर संचालनमा ल्याउँदा किसानका धेरै उत्पादनले बजार समेत पाउने छन् । गत आर्थिक वर्ष गण्डकी प्रदेश सरकारको ५० लाख, संघीय सरकारको समपुरक बजेटमा ४५ लाख र गाउँपालिकाको १५ लाख गरी १ करोड ५ लाख लागतमा उक्त भवन बनिसकेको हो । हाल उक्त भवनमा विद्युतीकरण पु¥याउने लक्ष्य छ । यो लक्ष्य पुरा हुनासाथ किसानको उपजले बजार पाउने छ । तमानखोलालाई सदरमुकाम र आसपासका पालिकासरह सबै कर्मचारीको रोजाइको, पूर्वाधारमा सहज, उत्पादनमा अब्बल र शिक्षा तथा स्वास्थ्यमा गुणस्तरीय बनाउने लक्ष्य राखेकोले सोही अनुसारको काम पनि गरिरहेको बुढाले बताए । आइपर्ने चुनौतीहरु व्यहोर्दै अगाडि बढेकोले समृद्ध तमानखोला गाउँपालिका हस्तान्तरण गरेर आफ्नो कार्यकाल पूरा गर्ने बुढाले लक्ष्य सुनाए ।
समग्र विकासको लागि धेरै काम गर्न बाँकी छ
जोकलाल बुढा
अध्यक्ष, तमानखोला गाउँपालिका
तमानखोला गाउँपालिका विशेष भूगोल र अवस्था समावेश गरेर बनेको गाउँपालिका हो । यो पालिका सुरुवातमा विकासको दृष्टीले धेरै पछि थियो । अभैmपनि धेरै काम गर्न बाँकी छ । तर, आधारभूत स्तरका कामलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्यौं । शिक्षा र स्वास्थ्यका सूचकमा सुधार गर्ने, अत्यावश्यक भौतिक पूर्वाधार निर्माण र पालिकालाई व्यवस्थित बनाउने काममा लाग्दा पालिकाभित्रका बासिन्दाले केही सेवा पाएको महसुस गर्न थालेका छन् । यद्यपि, यो पुरा होइन ।

अझै पनि पालिकाको समग्र विकासको लागि धेरै काम गर्न बाँकी छ । त्यसैले कार्यालय भित्रको सेवालाई चुस्त बनाउने, जनताको दैनिक आवश्यकतालाई विशेष ख्याल गर्न पहल गरिरहेका छौं । त्यसबाहेक पालिकाभित्र उत्पादन हुन सक्ने खेतीपातीलाई व्यावसायिक बनाउने, जडिबुटीहरुको पहिचान गरेर निर्यातयोग्यको तथ्यांक राख्ने । पालिकास्तरदेखि संघिय सरकारको सहमति र कानूनी बाटो चाहिने खालका जडिबुटीको पहिचान, संकलन, व्यवस्थापन र बजारीकरणमा ध्यान दिएका छौं । यो योजना अनुसारको काम गर्न सकेमा तमानखोलाले लाखौं करोडौं राजश्व संकलन गर्न सक्छ । त्यसप्रति विशेष चासो राखेका छौं ।
गाउँपालिकालाई पर्यटकको रोजाइको बनाउन केही काम थालेपनि पर्याप्त भएका छैनन् । तर गन्तव्य बन्ने क्षेत्रमा न्युनतम विकासका सूचक र योजना लैजाने काम भैरहेको छ । केही स्थानमा प्राविधिक कारणले पूरा हुन सकेको छैन । आधारभूत अस्पतालको सेवा दिएर जनताको स्वास्थ्यलाई सुधार गर्न पहल भएको छ । थोरै बजेट र धेरै आकांक्षा पूरा गर्न धेरै चुनौती छन् । आगामी दिनमा ती चुनौती पार गर्दै अगाडि बढ्ने लक्ष्य छ ।





