
सूर्योदयको जिल्ला इलामको कन्याम पुगेपछि गाउँपालिका अध्यक्ष राजु थापालाई लाग्यो कन्याम काठेखोलामा पनि छ । थापाले त्यहि बेला योजना बनाए ‘कृषि पर्यटनमा पालिकाले जोड दिनैपर्छ ।’ कन्यामको जस्तै हावापानी भएको गाउँपालिकाकै उच्च स्थान घोडाबाँधेमा चियाको बगैंचा र उद्यानको योजना उनले बनाएका छन् । रेशमा हुर्किरहेका चियाका बोटले गाउँपालिकालाई व्यवसायीक चिया खेतीको योजना बनाउन अत्याईरहेको छ । मध्यपहाडी लोकमार्ग वरिपरिको भुभागमा चिया लगाएर उद्यान बनाउँदा मात्रै पर्यटक भुलाउन सकिन्छ भन्ने लागेको छ थापालाई । ‘हामीले कन्याम हेर्यौं, त्यो भन्दा पनि उत्कृष्ट ठाउँ हामीसँग छ, जहाँबाट हिमश्रृंखला देख्न सकिन्छ’ थापा भन्छन् ‘घोडाबाँधे, बेलढुंगामा अध्ययन गर्न विज्ञहरुलाई भ्रमण गराएका छौं, बिस्तारै गाउँपालिकाले कार्यक्रम बनाउँछ ।’
धार्मिक पर्यटन, प्रकृतिले दिएका सम्पदा पछि कृषि पर्यटन पछिल्लो समय उदाउँदो क्षेत्र हो । गाउँपालिकाले सोही बुझाईलाई व्यवहारमा उतार्दै छ । बिहुँका सहकारीले दुध उत्पादन गर्छन् । अन्यत्रका सहकारी तथा किसानका लागि सिको गर्न लायक छ दुध उत्पादन । सुन्तलाको बगैचा भनेर चिनिने बिहुँमा सुन्तला हेर्ने र किन्नेहरुको भीड नै लाग्छ । कुकाठ र परम्परागत बाली मासेर सुन्तला खेतीमा बिहुँले गरिरहेको प्रगति गाउँपालिकाभित्रै अन्य वडामा सिको भैरकेको छभने देशका अन्य ठाउँबाट हेर्न आउनेहरु पनि छन् । प्रचार प्रसार र व्यवस्थापनको अभावले चाहेजस्तो पर्यटक भित्राउन नसकेको गाउँपालिकाको बुझाई छ ।
तंग्राममा महिलाहरुको मात्रै सहकारीले वर्षमा करोडौंका खसीबोका उत्पादन गर्छ । सहकारीमार्फत बजारीकरण हुने, किसानलाई बिउँपुजीमा सहकारीले नै ऋणधन सहयोग गर्ने र उत्पादनमा किसानाई तालिम र सीप विकासमार्फत सहयोग गर्दै आएका छन् । रेशमा साना किसान सहकारीले चियाखेती गरेको छ । उत्पादनको क्षेत्रमा भएको यो अर्को नमुना काम हो । केही वर्षमै यहाँको चियाले सिंगो जिल्लाको माग धान्ने छ । यी त काठेखोला गाउँपालिकाका उदाहरण मात्रै हुन् । आम्दानीको मुख्य स्रोत कृषि रहेको गाउँपालिकाले कृषिलाई पर्यटनसँग जोडेर दोहोर फाईदा लिने योजना बनाएको अध्यक्ष थापा बताउँछन् । ‘हाम्रा उत्पादन हेर्न आउँदा पर्यटकले गर्ने खरिदले उत्पादन खपत हुन्छ, उनीहरुले उपभोग गर्ने हरेक वस्तु तथा सेवाबाट गाउँपालिकाले प्रसस्तै लाभ लिन सक्छ’ अध्यक्ष थापाले भने ।

oppo_0
समृद्ध र विकसित गाउँपालिकाको बलियो आधार पर्यटनलाई बनाउने लक्ष गाउँपालिकाले राखेको छ । गाउँपालिकाको पर्यटन मूलतः प्रकृति र संस्कृतिसँग आधारित रहेको उपाध्यक्ष तेजबहादुर थापा तिलक बताउँछन् । काठेखोला, घोडाबाँधे, बेलढुंगा, गाजाको धुरी, थाप्ले, तिनचुले शिवधुरी, झुलेनी, मोथे, कान्छो धौलागिरि, खोरताल, बसन्ताप, देउरालीजस्ता सुन्दर पर्यटकीय ठाउँहरु प्राकृतिक पर्यटनका क्षेत्र हुन् । रामकोट त्रिपुरेश्वर मन्दिर, रेशको सत्यवती, ओदानडाँडा मन्दिर, बिहुँकोट, लेखानीको शिवालय लगायतका मठमन्दिरहरु धार्मिक आस्थाका स्तम्भहरु हुन् भन्छन् गाउँपालिकाका प्रबक्ता टिका संगम बिक ।
यानिमाया, सोरठी, झ्याउरे र सालैजो जस्ता मौलिक र पुराना भाकाहरु काठेखोलाका वनपाखामा गुञ्जिने गीत संगीतहरु पनि पर्यटन प्रबद्र्धनका माध्याम भएको बिकले बताए । भिमादरबार, ओदानडाँडा मन्दिर, बिहुँको तल्लो उपल्लोकोट, १००८ स्वामी परमान्द गुरुको जन्मस्थान पौवाडाँडामा रहेको राम मन्दिर यहाँका ऐतिहासिक सम्पदाहरु हुन । तंग्राममा रहेको विश्वकै ठुलो नगरा, साँस्कृतिक एवम जनजाति संग्राहलय समग्र गाउँपालिकाका परिचय हुन । यिनै प्रकृति, संस्कृति र मानव निर्मित ऐतिहासिक सम्पदाको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनमा विशेष ध्यान पुराउँदै पर्यटनमार्फत समृद्व पालिका बनाउने योजना छ ।
नेपालको मध्यपहाडी लोकमार्ग खण्डको झन्डै १८ किलोमिटर सडकखण्ड काठेखोलाको मध्यभागमा परिरहँदा यसले गाउँपालिकामा पर्यटनसंगै अन्य विकासका सम्भावनाहरु पनि उजागर गरेको छ । प्राकृतिक, सांस्कृतिक, कृषि, धार्मिक क्षेत्रमा आधारित काठेखोला गाउँपालिकाको सबै प्रकारका पर्यटनलाई वातावरणमैत्री बनाई पर्यापर्यटनको रुपमा विकास गरिने अध्यक्ष थापाले बताए । स्थानीय समुदायमा आधारित पर्यटनलाई बढवा दिई पर्यटनलाई जीविकोपार्जनसंग जोड्ने योजनामा गाउँपालिका छ । ग्रामिण पर्यटनको रुपमा विकास गर्न होमस्टेहरुलाई थप प्रर्वद्धन तथा व्यवस्थित तवरले सुधार गर्ने र आम नागरिकबीच निकै लोकप्रिय बन्दै गहिरहेको होमस्टेलाई थप व्यवस्थित रुपमा सञ्चालन गर्न होमस्टे व्यवसायलाई उत्प्रेरित गरिने थापाले योजना सुनाए ।

आन्तरिक र बाह्य होमस्टे अध्ययन अवलोकन तथा आन्तरिक होमस्टे व्यवसायमा नियमित अनुगमन गर्ने । होमस्टेमा स्थानीय उत्पादनको प्रयोग गर्ने । प्रदेशको पर्यटन गन्तव्यको रुपमा शिवधुरी, रामकोट र झुलेनी लगायतका स्थानहरु सुचिकृत भएको र थप कार्यक्रमहरु संचालनका लागि सरोकारवालासँगको समन्वयमा सञ्चालन गर्ने योजना छ । प्राकृतिक भ्यूटावरको रुपमा रहेको बेलढुंगामा प्रसिद्ध सर्वसिद्धिधाम जोड्ने पर्यटन पदमार्ग, साइकल लेन, वनभोज स्थल लगायतका संरचना तयार भएका छन् । सशस्त्र द्वन्द्वमा ज्यान गुमाएका शहिदहरुको सम्झनामा काठेखोला १ पालामा शहिद स्मृति पार्क निर्माणको भएको छ ।
मध्यपहाडी लोकमार्ग खहरे, शहिद स्मृति पार्क पाला, भिमपोखराको भिमादरबार, दयरीबस्ती, धम्जाको बेलढुंगा, तंग्रामको खोरताल, बसन्ताप, सांस्कृतिक एवम संगीत संग्राहलय, जनजाति संग्राहलय, त्रिपुरेस्वर मन्दिर, बिहुकोट, रामकोट, घोडाबाँधे, भ्यु टावर, शिवधुरी, लेखानीको हलहले, बौद्ध गुम्बा रेशको ओदानडाँडा मन्दिर, चिया वगान घुम्ने गरी पर्यापर्यटन रुटको विकास गरि आवश्यक पुर्वाधार निर्माणका काम भैरहेका अध्यक्ष थापाले बताए । बिहुँकोटमा रहेको थामनेटा, घोडाबाँधे, भ्यु टावर क्षेत्रलाई रिसोर्ट, होटल तथा तालिम केन्द्रको हवको रुपमा विकास गर्न गाउँपालिकाले पहल थालेको छ । नीजि क्षेत्रसंग समन्वय गरि जडिबुटी उत्पादन र प्रशोधन केन्द्र स्थापना तथा संचालनको वातावरण मिलाउने काम भईरहेको प्रमुख प्रशासकीय अधिकृत खगराज गौतमले बताए ।





