म्याग्दी/जिल्लाको मंगला गाउँपालिका–२, लाम्पाटामा रहेको मंगला शिक्षा क्याम्पसले फोहोर व्यवस्थापन गर्न ‘डोको डस्टबिन’ राखेको छ । लाम्पाटा र बाबियाचौरबजार क्षेत्रमा फोहोर सङ्कलनका लागि क्याम्पसले गाउँमै निगालोबाट बुनिएका ‘डोको डस्टबिन’ उपलब्ध गराएको हो ।
स्थानीयस्तरमा उपलब्ध हुने बाँस तथा निगालाबाट बनेका डोकाहरुलाई डस्टबीनको रुपमा प्रयोग गर्ने अभियान सञ्चालन गरिएको मंगला शिक्षा क्याम्पसका सञ्चालक समितिका अध्यक्ष याम थापाले बताए । उनले वातावरणमैत्री क्रियाकलापमा सघाउन बावियाचौर, लाम्पाटा क्षेत्रमा ३८ वटा ‘डोको डस्टबिन’ निःशुल्क उपलब्ध गराएको बताए ।
‘स्थानीयस्तरमा डोको बनाउन प्रोत्साहन, विद्यार्थीलाई समेत सीप हस्तान्तरण गर्ने योजना छ’ अध्यक्ष थापाले भने । उनका अनुसार १५ वटा डस्बिन समेत राखिने छ । हरेक घरबाट निस्कने फोहोरलाई घरमै वर्गीकरण गरी घटाउने र सडकमै नफाल्ने गरी समुदायस्तरमा सचेतनामुलक अभियान समेत सञ्चालन गरिने अध्यक्ष थापाको भनाई छ ।
मंगला शिक्षा क्याम्पसले राखेको डोको स्वतन्त्र विद्यार्थी यूनियन, स्थानीय टोल समितिले समेत रेखदेख गर्ने तथा आवश्यकता अनुसार परिवर्तन समेत गर्ने क्याम्पस प्रमुख पितमबहादुर खत्रीले बताए।

बजार क्षेत्रमा प्लास्टिकजन्य वस्तु प्रयोगलाई निरुत्साहित गर्ने समेत यो अभियानले सघाउने वडा अध्यक्ष धनबहादुर खाती क्षेत्रीले बताए । उनका अनुसार पहिलो चरणमा फोहोर संकलन गर्ने डोको वितरणसँगै अब कुहिने र नकुहिने फोहोर बर्गिकरण सहित राखिने छ । स्थानीयस्तरमा बाँस निगालाबाट निमार्ण गरिएका डोकोलाई डष्टविनको रुपमा पहिलो पटक प्रयोगमा ल्याइएकाले आगामी दिनमा वडास्तरमा उद्यमीहरुमार्फत निर्मित गरी बिक्री समेत गर्न सकिने बताए ।
बावियाचौरमा जनघनत्व बढेसँगै फोहोर ब्यवस्थापनमा चुनौती थपिरहेको अवस्थामा क्याम्पसको अगुवाइमास्वतन्त्र विद्यार्थी यूनियनले विद्यार्थीमार्फत फोहोर ब्यवस्थापनमा भएको प्रयासलाई सघाउने गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बताए । उनले क्याम्पससँग सहकार्य गरी ‘डोको डस्टबिन’ पालिकाभित्रैकै उद्यमीबाट उत्पादनमा समेत प्रोत्साहन गर्ने बताए । बावियाचौर पश्चिम म्याग्दीको दोस्रो ठूलो बजार हो ।





