
पोखरा/ पहिलोपटक ८ हजार मिटर अग्ला हिमालमध्ये अन्नपूर्ण आरोहण गरिएको सोमबार ७४ वर्ष पुगेको छ । हिमाल आरोहणको ईतिहासमा जुन ३ तारिखमा ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथमको आरोहण गरिएको थियो ।
सन् १९५० मा माउरिस हर्जोग र लुई लचेनल लगायत ९ जनाको फ्रेन्च टोलीले अन्नपुर्णको सफल आरोहण गरेर आठ हजार मिटर अग्लो हिमाल आरोहण सफलताको विश्व किर्तिमानी राखेको थियो । पहिलोपटक मानव पाईला परेकाले अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । सर्वोच्च शिखर सगरमाथा आरोहण सफल हुनुमा यसकै सफलता मान्ने गर्छन पर्वतारोहण क्षेत्रका अगुवाहरु । उक्त टोलीले ८ हजार १ सय ६७ मिटर अग्लो धौलागिरी हिमाल आरोहणको प्रयास गरेकोमा असफल भएपछि अन्नपुर्ण फर्किएर सफल भएको थियो ।
अन्नपूर्ण आरोहणको ३ वर्षपछि मात्रै सगरमाथा आरोहण सफल भएको थियो । जसरी सगरमाथा क्षेत्रको विकास र समृद्धिमा सरकारी सहयोग र लगानी छ । पहिलो इतिहास कायम गरेको अन्नपूर्ण प्रथम क्षेत्रको विकासका लागि भने सरकारको सहयोग भने न्युन छ । माउरिसले बाँचुञ्जेल अन्नपूर्ण क्षेत्रको विकास भएन भनी गुनासो गरिरहेका थिए ।

माउरिस हर्जाेग
सन् १९५० मा नेपाल विदेशी पर्यटकलाई खुला भएकै वर्ष अन्नपुर्णको आरोहण भएको थियो । त्यसपछि पोखरामा पर्यटकीय गतिविधि बढेको हो । अन्नपूर्ण क्षेत्रमा ६ हजार मिटर अग्ला २० बढी हिमश्रृंखला तथा चुचुरा छन् । आठ हजार मिटरभन्दा अग्ला अन्नपूर्ण प्रथम, धौलागिरी र मनास्लु गरी तीन हिमाल छन् । अन्नपूर्ण उत्कृष्ट पदयात्राको रुपमा प्रख्यात छ । हर्जोगले अन्नपूर्ण नामक किताव पनि लेखेका थिए । यसले पनि अन्नपूर्ण र नेपाललाई चिनाउन ठूलो सहयोग पु¥याएको थियो ।

लुई लचेनल
अन्नपूर्णको यो किर्तिमानी दिनलाई ‘विशेष उत्सव’ का रुपमा मनाउनु पर्नेमा जोड दिन्छन नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशका अध्यक्ष बिकास गुरुङ । प्रदेशमा यति धेरै हिमाल भएर पनि स्थानीयले प्रत्यक्ष फाइदा लिन नसकेको उनको गुनासो छ । ‘पोखरामात्र नभई नेपालकै पर्यटकीय गतिविधि बढाउन यो दिनले विशेष अर्थ र महत्व राख्छ,’ उनले भने, ‘तर हाम्रा हिमाल हेर्ने र देखाउने मात्र भए, हिमाल आरोहणदेखि अन्य साहसिक गतिविधिमा जोड दिनसके थुप्रै लाभ लिन सकिन्थ्यो । त्यो हुन सकेन ।’ सरकार र निजी क्षेत्रबाट पर्वतारोहण क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको उनले बताए ।
अन्नपूर्णको किर्तिमानलाई अझै व्यवस्थित गरेर थप पर्यटक भित्र्याउने अभियानका रुपमा अघि बढाउन सके राम्रो हुने ट्रेकिङ एजेन्सिज् एसोसियशन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष धर्म पन्थीले बताए । टानले आजै फेवातालपारी बनस्पति पदमार्गमा (भ्यू फेवा राउन्ड) हाइकिङको आयोजना गरेको छ ।
‘विश्व बजारमा जेठो हिमालको रुपमा अन्नपूर्णको प्रचारको अझै कमी छ’ नेपाल पर्वतारोहण संघ गण्डकीका निवर्तमान अध्यक्ष शेषकान्त शर्मा भन्छन, ‘सरकारले यसलाई प्राथमिकतामा राख्नु परो ।’ यस किर्तिमानी दिनलाई संझिएर जुन ३ मा अन्नपुर्ण दिवसको रुपमा विभिन्न संघसंस्थाले कार्यक्रमका साथ मनाउने गर्छन । तर त्यस्ता कार्यक्रम औपचारिकतामामात्र सिमित हुने र प्रभावकारी भने हुन नसकेको गुनासो छ ।
यसैबीच, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयले ७४ औं अन्नपूर्ण दिवस दुई दिने कार्यक्रमको आयोजना गर्यो । पहिलो दिन आइतबार नेपालस्थित विभिन्न देशका राजदुत र विभिन्न कुटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिलाई कास्कीको माछापुच्छे गाउँपालिकाको धम्पुसदेखि धिताल हुँदै अस्तामसम्म हाइकिङ गरायो ।
९ देशका राजदुत सहभागी हुने भनिए पनि ६ देशका राजदुत आएका र विभिन्न १० कुटनीतिक नियोगका प्रतिनिधि हाइकिङमा सहभागी भए । सोमबार पोखरामा झाँकीसहितको ¥यालीसहित विशेष कार्यक्रमको आयोजना गरिएको थियो । पर्यटन बोर्ड गण्डकीका निमित्त प्रमुख नविन पोखरेलले परराष्ट्र मन्त्रालयको सहकार्यमा भएको कार्यक्रमका लागि गण्डकी प्रदेश सरकार र पोखरा महानगरले पनि सहयोग गरेका छन । साथै टान र पर्वतारोहण संघ गण्डकीले पनि सहकार्य गरेका थिए ।
मुल कार्यक्रममा अन्नपूर्ण हिमाल आरोहण गरेका पूर्णिमा श्रेष्ठ, दावा योङजोम शेर्पा र लाक्पा डेन्डी शेर्पालाई सम्मान पनि गरिएको थियो । अन्नपूर्ण आरोहणकै दिन अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण आधार शिविरबाट कास्कीको पर्यटकीय गाउँ घान्द्रुकसम्म म्याराथनको आयोजना गरेको छ ।





