पोखरा/पोखरा महानगरपालिकाका किसानहरु यतिबेला डोको बोकेर बजार कमै झर्ने गर्छन् । महानगरको मुख्य बजार क्षेत्रबाट केहि दुरीमा रहेको लेखनाथ, पुम्दीभुम्दी, पामेलगायतका क्षेत्रसँग जोडिएका किसानले यतिबेला केहि राहत पाएका छन् । व्यवसायिक वा घरमै उत्पादन गरेको नगदेबाली (तरकारी) बजारसम्म पु¥याउने दैनिकीबाट यतिबेला उनीहरुले राहत पाइरहेका छन् । कारण हो पोखरा महानगरपालिकाले सञ्चालन गरेको कृषि एम्बुलेन्स । किसानको पीडामा मल्हम लगाउने काम गर्दै आइरहेको कृषि एम्बुलेन्सका कारण किसानले अहिले आफ्नो बारीबाटै तरकारीको व्यापार गरिरहेका छन् ।
पोखरा २२ की अग्नीमाया बरालको अहिले दैनिक फेरिएको छ । दिनहुँ डोको र क्यारेटमा तरकारी लिएर लुकुनस्वाराबाट बजार झरेर तरकारी बेचेर घर फर्कदा कहिले त रात नै पथ्र्यो । कहिले बिक्री हुन्थ्यो त कहिले त्यसै पनि फर्किन बाध्य हुन्थ्यो तर, यतिबेला भने उनको त्यो टन्टो साफ भएको छ । खुसी हुँदै भन्छिन्, ‘बेलुका तरकारी टिपेर भारी हालेर राति नै उठेर तरकारी बोकेर ठूलिबिंडीसम्म पुग्ने र त्यहाँबाट बसमा चढाएर बजार लैजानुपर्ने निकै बाध्यता थियो । कहिले त बिक्री पनि हुने थिएन,’ उनले भनिन्, ‘त्यो बेला निकै दुःख लाग्थ्यो । अहिले त बिक्री नहोला भन्ने पीर हटिसकेको छ । बारीबाटै बिक्री हुन थालिसकेको छ ।’ पोखरा महानगर कृषि महाशाखाले सञ्चालन गरेको कृषि एम्बुलेन्सले किसानकै घरबाट तरकारी किनेर लैजाने गरेपछि बराल मात्र हैनन्, उक्त क्षेत्रका किसानहरु निकै खुसी देखिन्छन । महाशाखाले पोखरा २२ लुकुनस्वारामा रातीपोखरी कृषि उपज संकलन तथा बिक्री केन्द्र स्थापना गरेपनि उनीसँगै त्यहाँका किसानको दैनिकी नै फेरिएको छ । हिजो जस्तो आज उनीहरुलाई तरकारी नबिक्ने भन्ने पिरलो लिनुपर्ने अवस्था छैन् । तरकारीहरु महानगरको कृषि एम्बुलेन्समार्फत् पोखरा आउँछ । तरकारी सिधै उपभोक्ता माझ बिक्री हुँदै आइरहेको छ ।
वडा २२ मा मात्रै होइन महानगरले पोखरा २१, २३, २८ र ३३ नम्बर वडामा कृषि उपज संकलन तथा बिक्री केन्द्र स्थापना गरेको छ । उक्त केन्द्रबाट ल्याएर पोखरा महानगरपालिका १७ मा रहेको कृषि बजार, पोखरा ४ र ९ को वडा कार्यालय, पोखरा ८ को मुना बजार, पोखरा ६ मा रहेको सुलभ डिपार्टमेन्टल स्टोर्स, मुस्ताङ चोकमा बिक्री गर्दै आइरहेको छ ।
कृषक चण्डिकाप्रसाद बरालले गत वर्षदेखि कृषि एम्बुलेन्सले गाउँको उत्पादन बजारमा ल्याउने गरेको बताए । उनी भन्छन्, ‘अघिल्लो वर्षसम्म विचौलिया र ब्यापारीहरुले खेतबारीबाटै उठाउँदा पैसा पाउन मुस्किल थियो । अहिले कृषि एम्बुलेन्स आएपनि हामीलाई निकै राहत मिलेको छ ।’ पुम्दीभुम्दीकी कविता बरालले यसभन्दा अगाडी विभिन्न व्यापारीहरुले तरकारी उठाउने गरेको भएतापनि एक वर्षदेखी आफुले कृषि एम्बुलेन्सलाई तरकारी विक्री गर्ने गरेको सुनाइन् । एम्बुलेन्सले बिहान टिपेको तरकारी दिउसो लैजाने र बेलुकी बजारमा बिक्री गर्ने हुँदा उपभोक्ताहरुले ताजा र अर्गानिक तरकारी उपभोग गर्न पाएको उनको भनाइ छ ।
पोखरा २१ कृस्ति तारागाउँका ज्ञानबहादुर कार्कीले कृषि एम्बुलेन्सले किसान र उपभोक्तालाई सोझै जोडेको बताए । उनले यसअघि व्यापारिहरुलाई विक्रि गर्दा निकै सस्तो मुल्यमा दिनुपरेपनि अहिले बजार भाउ अनुसारकै रकम पाउने गरेको सुनाए । ‘यो जतिको खुसीको कुरा के हुन्छ किसानलाई ? महानगरले कृषि एम्बुलेन्समार्फत् बारीबाट टिपेर सोझै उपभोक्तामा पु¥याउदा जतिको खुसी अरु केही छैन’ उनले भने, ‘बिचौलियाका कारण उपभोक्ताहरुले महंगो पैसामा सामान किन्नुपर्ने बाध्यता त यसबाट हट्छ नै, त्योभन्दा पनि गाउँघरमा उत्पादन भएको अर्गानिक बस्तु उपभोक्ताले सिधै भान्छामा लग्न पाइरहेका छन् ।’
कृषि एम्बुलेन्स विक्री केन्द्रमा हरेक हप्तामा दुईपटक जाने गरेको कृषि एम्बुलेन्सका कर्मचारी श्यामलाल पोख्रेल बताउँछन् । तरकारी लैजाने र अघिल्लो पटक लगेको तरकारीको पैसा दोश्रो पटक तरकारी लिन जाँदा दिने गरेको उनको भनाइ छ । पोखरा महानगरपालिकाले किसानलाई उत्पादनमा जोड दिदैँ उनीहरुको उत्पादनलाई सोझैँ उपभोक्तासम्म पु¥याउने प्रयास गरेको उनले सुनाए ।





