काठमाडौं / मिसन ०८४ लिएर अगाडि बढेका राजनैतिक दलहरु नयाँ दलको थ्रेट रोक्ने विश्वास सहित नेपाली काँग्रेस र नेकपा एमाले विच मध्यरातमा सहमती भएको छ ।
संसद्का दुई ठूला दल कांग्रेस र एमाले संविधान संशोधन गर्ने एजेन्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउन सहमत भएका हुन् ।
निर्वाचनयता दुई वर्ष नपुग्दै माओवादीबाट आलोपालो धोका पाएका दुवै दलले अब सकेसम्म सबै दललाई समेटेर सरकार बनाउने सहमति गरेका छन् ।
लामो र सघन गृहकार्यपछि दुई दलका शीर्षस्थ नेता एमाले अध्यक्ष केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाले सोमबार मध्यराति सवा १२ बजे सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
कांग्रेसका एक नेताका अनुसार पहिलो चरणमा एमाले अध्यक्ष ओलीले सरकारको नेतृत्व गर्नेछन् भने दोस्रो चरणमा डेढ वर्षपछि कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्नेछन् ।
निर्वाचन प्रणालीलगायतका विषयमा संविधान संशोधन गर्न सुझाव आयोग बनाउने समझदारी पनि बनेको छ ।
आयोगले दिने सुझावका आधारमा संविधान संशोधनमा जाने र निर्वाचन प्रणाली सुधार गरी राजनीतिक स्थायित्व प्रत्याभूत गर्ने उनीहरूको दाबी छ ।
राति १२:१५ बजे चपली हाइटमा सहमति
एमाले महासचिव शंकर पोखरेल र कांग्रेस प्रमुख सचेतक रमेश लेखकले तयार पारेको सहमतिपत्रमा राती सवा १२ बजे सञ्चार उद्यमी रामेश्वर थापाको घरमा दुई नेताले हस्ताक्षर गरेका हुन् ।
सहमतिअनुसार एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने, डेढ वर्षपछि देउवालाई पालो दिने र राष्ट्रिय सहमतिको सरकार बनाउने भएकाले सकेसम्म सबै दललाई सहभागी हुन आमन्त्रण गर्ने र निर्वाचन प्रणाली सुधारलगायतका विषयमा संविधान संशोधन गर्ने तथा देशमा सुशासन कायम गरी समृद्धितर्फ अघि बढ्ने सहमती भएको छ ।
सहमतिपत्रमा उल्लेख नभए पनि प्रधानमन्त्री र अर्थसहितका मन्त्रालय एमाले र गृहसहितका मन्त्रालय कांग्रेसले लिने मौखिक समझदारी भएको छ । हस्ताक्षर गरेको १५ मिनेटपछि राति साढे १२ बजे उद्यमी थापाको घरबाट दुई दलका नेताहरु आ-आफ्नो निवासतर्फ फर्केका थिए ।





