लमजुङ/ मनाङको नासों गाउँपालिका–१ तालगाउँ जोगाउन बनाइएको पर्खाल मस्र्याङ्दी नदीमा आएको बाढीले भत्काएको छ । गाउँ नै डुबाउने गरी २०७८ जेठ १४, २९ र असार १ गते राती आएको बाढीले स्थानीय विस्थापित भएका थिए । गाउँलाई जोगाउन गतवर्ष लगाएको गिटीबालुवा, सिमेन्ट र ठूलाठूला ढुंगाले बनाएको प्लम वाल मंगलबार बिहान आएको बाढीले भत्काएको वडा सदस्य बुद्धिबहादुर गुरुङले बताए ।
उनका अनुसार वस्ती सुरक्षाका लागि लगाइएको पर्खाल नै भत्काएपछि तालगाउँ उच्च जोखिममा परेको छ । तालगाउँमा ६१ घरपरिवारको बसोबास रहेको छ । मस्र्याङ्दीमा आएको बाढीको बेगले करिब ३० मिटर पर्खाल भत्काएको छ । करिब ६० मिटर पर्खाल चर्किएर ढल्न लागेको उनले बताए । पर्खाल भत्काएपछि तत्काल गाउँलेलाई बोलाएर ६–७ वटा ग्याविन हालिएको र ढुंगाहरु ओसारेर पनि राखिएको छ ।
उक्त वडाका असिस्टेन्ट सवइन्जिनियर लालबहादुर अस्लामीका अनुसार तालगाउँको सुरक्षाा लागि बनाएको प्मल वाल नै भत्काएपछि गाउँ जोखिममा परेको छ । ठूलो बाढी आएपछि फेद खोतलिँदा पर्खाल ढलेको देखिने उनको भनाई छ । तालगाउँमा वडा कार्यालय, स्वास्थ्य चौकी, प्रहरी चौकी, विद्यालय, गुम्बालगायत छन् । चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने तालगाउँमा अधिकांश पर्यटकीय होटलहरु छन् ।
प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछाने तालगाउँलाई जोगाउन लगाएको पर्खाल बाढीले भत्काएको खबर आएपछि गाउँपालिकाका जनप्रतिनिधिसंग छलफल भएको बताए । बिहान पर्खाल भत्काएको खबर आएपछि गाउँपालिका अध्यक्षसंग कुराकानी गरेको र तत्काल तारजाली उपलब्ध गराइदिने र बार छेक्ने काम गर्ने उनले बताए । सतर्कता सजगता अपनाउनु पर्ने देखिएको र पानी परेमा नदी बढ्ने र जोखिम बढ्ने उनले जनाए । उनका अनुसार नासों गाउँपालिका– ९, दानक्युबाट सदरमुकाम चामे हुँदै माथिल्लो मनाङको सडक अझै अवरुद्ध छ । असार १७ गते रातीको भीषण बर्षाले चामे गाउँपालिका– १ तिमाङखोलाको माथिल्लो क्षेत्रको काठेपुल र तल्लो क्षेत्र झरनाको पक्की पुल बगाएपछि सडक अवरुद्ध छ । यसअघि काठेपुल भएको ठाउँमा पुनः काठेपुल राख्ने तयारी गरिएको छ ।





