काठमाडौं/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार ढलेको छ । प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिँदा दुई तिहाइ सांसदले प्रचण्डको विपक्षमा मतदान गरेका थिए ।
शुक्रबार प्रतिनिधिसभामा विश्वासको मतका लागि प्रधानमन्त्री प्रचण्डले राखेको प्रस्ताव अस्वीकृत भएको छ ।
बैठकमा विश्वासको मतको पक्षमा ६३ र विपक्षमा १ सय ९४ मत परेको हो । सदनमा उपस्थित २ सय ५८ सदस्यमध्ये एक जना प्रतिनिधि सभाका सदस्य भने तटस्थ बसे ।
असार १७ गते नेपाली कांग्रेस–नेकपा एमालेबिच सत्ता साझेदारीको सहमति भएपछि प्रधानमन्त्री १९ महिनामा पाँचौँ पटक विश्वासको मतको प्रस्ताव राखेका थिए ।
प्रधानमन्त्रीलाई आफ्नो दल नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी) ले साथ दिए पनि त्यो पर्याप्त भएन । दुई ठुला दल कांग्रेस र एमालेले विपक्षमा मत दिँदा प्रधानमन्त्रीले सदनको बहुमत १ सय ३८ संख्या पु¥याउन असफल भए ।





