काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बन्न दाबी पेश गरेका छन्। नेपाली कांग्रेस लगायत दलको समर्थनमा ओलीले शुक्रबार साँझ राष्ट्रपति कार्यालयमा दाबी पेश गरेका हुन्।
प्रधानमन्त्री बनाउने प्रस्ताव लिएर ओली, कांग्रेस सभापति शेरबहादुर देउवा लगायत नेताहरू शीतल निवास पुगेका थिए। राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आह्वान गरेका थिए। राष्ट्रपतिले असार ३० गते साँझ ५ बजेभित्र दाबी पेश गर्न आह्वान गरेका थिए।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार प्रतिनिधि सभाबाट विश्वासको मत गुमाएकै दिन राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्। प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल कांग्रेस र एमालेले असार १७ गते आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेपछि एमाले सरकारबाट बाहिरिएको थियो।






