शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

‘पर्वतीय पर्यटन शिक्षाले पोखरामा महत्वपूर्ण भूमिका खेल्छ’

‘पर्वतीय पर्यटन शिक्षाले पोखरामा महत्वपूर्ण भूमिका खेल्छ’


  • लालप्रसाद शर्मा
  • असार ३१ २०८१, आइतबार

पाेखरा/ पर्वतीय पर्यटन शिक्षाले पर्यटनको राजधानी पोखराको बिकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने एक कार्यक्रमका सहभागीले बताएका छन । पोखराको अग्रणी शैक्षिक संस्था जनप्रिय बहुमुखी क्याम्पसले नेपालमै पहिलो र एकमात्र ब्याचलर अफ माउन्टेन टुरिजम म्यानेजमेन्ट विषयको पढाई संचालन गर्दै आएको छ । त्रिभूवन विश्वविद्यालय अन्तर्गत स्वायत्त कार्यक्रमका रुपमा यो विषय २०७४ सालदेखि पढाउँदै आएको हो ।

क्याम्पसले आइतबार आयोजना गरेको पर्यटनको राजधानीमा पर्वतीय पर्यटन शिक्षा विषयक अन्तरक्रियामा यो शिक्षाले पर्यटन क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको र भविष्यमा अझ सशक्त योगदान पु¥याउने बताइएकाे हाे । पर्वतीय पर्यटन शिक्षाको प्रवर्द्धनले स्थानीय अर्थतन्त्र, संस्कृति, वातावरण संरक्षण र अन्तर्राष्ट्रिय सहयोगलाई बलियो बनाउन मद्दत मिल्ने समेत सहभागीकाे भनाइ थियाे ।

संचारकर्मीसंगको अन्तरक्रियामा अवधारणा पत्र प्रस्तुत गर्दै क्याम्पसका सहप्राध्यापक दीपेन्द्र पहारीले पोखरामा पर्वतीय पर्यटन शिक्षाको बर्तमान अवस्था, चुनौती र यसको भविष्यको संभावनाको बारेमा जानकारी दिए । पोखराको पर्यटनमा पर्वतीय पर्यटन शिक्षाको योगदान र यसको महत्वबारे जानकारी गराउने, पर्वतीय पर्यटन शिक्षको बर्तमान अवस्था र भविष्यका संभावनाहरुको बारेमा छलफल गर्ने र पर्यटन राजधानीका रुपमा पोखराले प्राप्त गर्नसक्ने अवसर र चुनौतिहरुको बारेमा विश्लेषण गर्ने उद्देश्यले अन्तरक्रियाको आयोजना गरिएको थियो । गत चैत ४ मा पोखरालाई पर्यटनको राजधानी घोषणा गरियो । पोखरा प्राकृतिक सौन्दर्यता, सांस्कृतिक धरोहर र साहसिक पर्यटनका लागि महत्वपूर्ण केन्द्र भएकाले पनि राजधानी घोषणा गरिएको हो । सन १९५० जुन ३ मा फ्रान्सेली नागरिक माउरिस हर्जोग र उनको टीमले ८०९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गरेपछि पोखरा अन्नपूर्ण क्षेत्रको प्रवेशद्वारको रुपमा स्थापित भएको थियो । पोखरामा पर्वतीय पर्यटन र ट्रेकिङका धेरै अवसर छन । पोखरालाई आधार बनाएर चक्रिय अन्नपूर्ण पदमार्ग, अन्नपूर्ण आधार शिबिर, मर्दी हिमाल, पुनहिल, घोरेपानीलगायत स्थानमा पर्यटक जाने गर्छन । यसले पोखराको पर्यटनमा प्रत्यक्ष प्रभाव पार्छ ।

पहारीले पोखरा अनुपम प्राकृतिक सौन्दर्य, हिमाहलको निकटता र विविध साहसिक क्रियाकलापहरुको लागि प्रख्यात रहेको जनाए । फेवाताल, सराङकोट, पंचासे र बेगनासताल लगायत पर्यटकीय स्थलहरुले पोखरालाई आकर्षक गन्तव्य बनाएका उनले बताए ।

साथै अन्नपूर्ण आधार शिविर, घान्द्रुक, घोरेपानी, मर्दी हिमाल र माछापुच्छ«े बेसक्याम्प जस्ता प्रसिद्ध ट्रेकिङ मार्गहरु पनि पर्यटकलाई आकर्षित गर्ने प्रमुख गन्तव्य रहेको उनले सुनाए । पर्यटकीय राजधानी घोषणासंगै अल्पकालिन, मध्यमकालिन र दीर्घकालिन योजनाका साथ अघि बढ्ने प्रदेश सरकार र पोखरा महानगरको योजना छ । पोखरामा अन्तराष्ट्रिय बिमानस्थलको व्यवसायिक उडानसंगै त्यससंग जोडिएका पूर्वाधार निर्माण लगायत विषयलाई अघि बढाउने तयारी पनि छ । पोखरामा क्रियाशिल पर्यटनसम्बद्ध संघसंस्थाले पनि पर्यटन राजधानी घोषणा भएपछि आसपासका पर्यटकीय गन्तव्यको प्रवद्र्धनलाई प्राथमिकतामा राखेका छन । साथै पोखरालाई नै आधार बनाएर गरिने विभिन्न पदयात्राका गन्तव्य पर्यटकको रोजाईमा पर्ने पहारीले बताए ।

संसारमा ८ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये नेपालमा ८ वटा छन । गण्डकी प्रदेशमा ३ वटा हिमालहरु धौलागिरी (८१६७ मि.), मनास्लु (८१६३ मि) र अन्नपूर्ण प्रथम (८०९१ मि) जसले सातौ, आठौ र १० औ अग्ला हिमालको स्थान ओगटेकाहरु पर्छन । यी हिमालको महत्वले गण्डकी प्रदेशलाई सबैभन्दा लोकप्रिय गन्तव्यहरू मध्ये एक बनाएको छ। नेपाल सरकारले खुला गरेका हिमाल पनि त्यत्तिकै लोकप्रिय गन्तव्य बन्न पुगेका पहारीको भनाइ थियो ।
विश्वप्रसिद्ध अन्नपूर्ण परिक्रमा यात्रा, मनास्लु यात्रा र आरोहण, रहस्यमय मुस्ताङ उपत्यका र सबैभन्दा अग्लो उचाइमा रहेको ताल तिलिचो र मुक्तिनाथ यस प्रदेशका केही लोकप्रिय आकर्षणहरू रहेका भन्दै उनले नेपाल भ्रमण गर्ने धेरै विदेशी पर्यटकहरू प्रायः यस प्रदेशका ती गन्तव्यहरूमा भ्रमण नगरी रहन नसक्ने उल्लेख गरे ।

पर्वतीय पर्यटन शिक्षा भनेको केवल शैक्षिक कार्यक्रमहरूमा सिमित नभई सम्पूर्ण पर्यटन प्रणालीको विकास र प्रवर्द्धनसँग सम्बन्धित रहेको उनले सुनाए । यसले पर्वतीय पर्यटनको विभिन्न आयामहरू जस्तैः ट्रेकिङ, पर्वतारोहण, साहसिक खेलकुद, स्थानीय संस्कृति र वातावरण संरक्षण, दीगो पर्यटन जस्ता विषयहरूलाई समेट्छ । पर्वतीय पर्यटन शिक्षाको माध्यमबाट प्रशिक्षित जनशक्ति उत्पादन गरी स्थानीय स्तरमा पर्यटन व्यवस्थापन, पर्यटन सेवा र संरक्षणमा योगदान पु¥याउन सकिने भएकाले पर्वतीय पर्यटन शिक्षाको महत्व रहेको उनको भनाई थियो ।

पहारीले अवधारणापत्रमा जनप्रिय बहुमुखी क्याम्पस पोखराले त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्वायत्त कार्यक्रमका रूपमा ब्याचलर इन माउन्टेन टुरिजम म्यानेजमेन्ट सञ्चालन गर्दै आएको जनाए । यो कार्यक्रमले विद्यार्थीलाई पर्वतीय पर्यटनका विभिन्न पक्षहरूमा ज्ञान, सीप र प्रविधिको उपयोग गर्ने क्षमता प्रदान गर्ने उनले बताए । पर्यावरण संरक्षण, साहसिक पर्यटन, स्थानीय समुदायको सहभागिता, र स्थानीय संस्कृति संरक्षण सम्बन्धी ज्ञान प्रदान गरिने यो कार्यक्रमका मुख्य बिशेषता रहेको उनले बताए । यसरी पर्वतीय पर्यटन शिक्षाको माध्यमबाट पर्यटनको राजधानी पोखरालाई क्याम्पसले थप योगदान पु¥याउन सक्ने उनले दावी गरे ।

पर्वतीय पर्यटन शिक्षाले प्रशिक्षित जनशक्ति उत्पादन गर्ने र यसले स्थानीय अर्थतन्त्रलाई टेवा पु¥याउने उनले बताए । विभिन्न पर्यटन सेवा प्रदायकहरू जस्तै ट्रेकिङ गाइड, होटेल व्यवस्थापन, र रेस्टुरेन्ट व्यवसायमा रोजगारीको अवसर सिर्जना हुने उनको भनाई थियो । साथै पर्यावरण संरक्षण र स्थानीय संस्कृतिको संरक्षणमा महत्त्वपूर्ण योगदान पु¥याउँने, रोजगारका अवसरहरू सिर्जना गर्ने, अन्तर्राष्ट्रिय सहयोग मिल्नेजस्ता फाईदा यो शिक्षाले दिने उनले बताए ।

पर्वतीय क्षेत्र संवेदनशील हुने भएकाले संरक्षणमा चुनौतीपूर्ण हुन सक्ने भन्दै उनले वातावरणमैत्री पर्यटन नीति र अभ्यासहरूको विकास गर्नु आवश्यक रहेको जनाए । उनले नेपाल आउने पर्यटकहरूमध्ये ४० प्रतिशत पोखरा भ्रमण गर्ने र पोखरा आउने पर्यटकहरु अधिकांश पदयात्रामा जाने गरेको बताए ।

क्याम्पसको स्वायत्त कार्यक्रम संयोजक दिव्यलक्ष्मी चालिसेले यस क्षेत्रमा पर्यटनको पठनपाठन हुनुपर्छ र पर्यटनमा दक्ष जनशक्ति उत्पादन हुनुपर्छ भनेर यो विषयको पठाई थालिएको बताइन । उनका अनुसार हालसम्म ३ सेमेस्टरबाट ५७ जना दीक्षित भइसकेका छन ।

उनीहरुमध्ये कोही टुरिजम विषयमै थप उच्च शिक्षा उच्च शिक्षा हासिल गरिरहे्का, कोही व्यवसायी बनेका छन भने कोही अरुकोमा काम गर्ने, राष्ट्रिय अन्तराष्ट्रिय फोरमहरुमा आफ्नो प्रस्तुति पनि दिइसकेका छन । ‘कस्तुरीले आफ्नो सुगन्ध थाहा नपाएजस्तो पोखरामा यति राम्रो विषयमा पढाई हुँदा पनि थाहा नपाउने अवस्थामा नहोस् भन्ने उद्देश्यले अन्तरक्रियाको आयोजना गरिएको हो’ उनले भनिन्, ‘यो विषय राम्रो अवसरको रुपमा रहेको छ ।’

क्याम्पस व्यवस्थापन समिति अध्यक्ष बिरेन्द्रनारायण बिजुक्छेले यो विषयले छुट्टै प्रभाव पार्न खोजेको बताए । ‘स्थानीय तहसंग समन्वय गरी दक्ष जनशक्ति उत्पादनमा जोड दिएका छौ । सहयोग पनि पाइएको छ’ उनले भने ।

निमित्त क्याम्पस प्रमुख रमेशबहादुर खड्काले पर्वतीय पर्यटनलाई प्राथमिकतामा राखेर पढाइएको बताए । सैद्धान्तिक मात्र नभएर व्यवहारिक ज्ञान दिएर पढाइने भन्दै उनले अव कोर्स परिमार्जन हुन लागेकाले व्यवहारिक ज्ञानको पक्षलाई प्राथमिकतामा राखिने बताए ।

व्यावसायीले जनशक्ती नपाउने तर उत्पादित जनशक्तिले काम खोजीरहने अवस्थाको अन्त्यका लागि पनि आफुहरुले पहल गर्ने उनको भनाई थियो । प्राप्त सुझाव र जिज्ञासालाई गम्भिर रुपमा लिएको उनले जनाए । अन्तरक्रियामा संचारकर्मीहरुले विभिन्न जिज्ञासा राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->