पाेखरा/ पार्किङमा राखिएको ट्रकबाट डिजेल चोरी गरेर बेच्ने र किन्ने गरी दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा– २ फिर्केपुल बस्ने १९ वर्षीय रोहित नेपाली र बागलुङ बसपार्कका ४८ वर्षीय जीवन श्रेष्ठ छन ।
कास्की प्रहरीका अनुसार सोमबार बिहान १ बजेदेखि ४ बजेसम्मको समयमा पोखरा महानगरपालिका वडा नं. ५ प्रस्याङमा पार्किङ गरी राखेको बा ०१००६ ख ३८४० नम्बरको ट्रकको डिजेल ट्याङकीबाट रोहित नेपालीले डिजेल चोरेका थिए । वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले खोजतलास गर्दै नेपालीलाई पक्राउ गरेको हो ।
नेपालीले उक्त ट्रकबाट ३ वटा पानीको जारमा ६० लिटर डिजेल चोरी गरेको स्वीकारेका थिए । चोरी गरेको डिजेल पोखरादेखि दमौली चल्ने ग १ ख ७१०२ नम्बरको बस धनि जीवन श्रेष्ठलाई ४ हजार रुपैयाँमा बेचेको बयान दिएपछि उक्त बस भित्र राखेको पानीको ३ वटा जारमा राखिएको ६० लिटर डिजेल बरामद भएको र श्रेष्ठलाई पनि पक्राउ गरिएको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी बसन्तकुमार श्रेष्ठले बताए । पक्राउ परेका दुवैजनालाई चोरी तथा डाँका सम्बन्धी मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।





