बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पाइलटले हात हल्लाएको देखेपछि सेनाले गर्‍यो सकुशल उद्धार

पाइलटले हात हल्लाएको देखेपछि सेनाले गर्‍यो सकुशल उद्धार


  • ढोरपाटन संवाददाता
  • साउन ९ २०८१, बुधबार

काठमाडौं / बुधबार बिहान ११ः११ बजे पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज केही सकेन्डमै दुर्घटनामा पर्‍यो। धावनमार्ग छाडेर माथि जाँदै गरेको जहाज दाहिने मोडिँदै जमिनतिरै खस्यो।

विमानस्थलको रनवेको पूर्वतर्फ रहेको हेलिकप्टर मर्मत तथा पार्किङ क्षेत्रमा रोकि राखेको सी–कन्टेनरमा ठोक्किएर दुई टुक्रा भयो। विमानको ककपिट कन्टेरमा अड्कियो।

बाँकी भाग उछिट्टिएर सय मिटर टाढाको खालि जमिनमा पुग्यो। जमिन छुनासाथ विमानमा आगो दन्किसकेको थियो।

विमानस्थलमा पुगेका यात्रु, सुरक्षाकर्मी र विमानस्थलका कर्मचारीले प्रत्यक्ष नै देखिरहेका थिए। तर त्यहाँ सूचना सर्कुलर भएर टोली मूभ हुन केही समय लाग्यो।

तर, दुर्घटनास्थल नजिकै रहेको नेपाली सेनाको बम डिस्पोजल युनिट भने तत्काल घटनास्थलमा पुग्यो। ईओडीका प्रमुख समेत रहेका प्रमुख सेनानी रामज्योती बोहरा ७ जनाको टोली लिएर घटनास्थल पुगे।

प्रमुख सेनानी बोहराको टोली जहाजको मुख्य भागतर्फ केन्द्रीत भइरहेको थियो। तर सयमिटर टाढा रहेको कन्टेरमा अड्किएको ककपिट नजिकैबाट एक जना मान्छेले इसारा गरिरहेको कर्णेल नेतृत्वको टोलीले देख्यो।

हात हल्लाइरहेको देखेपछि कर्णेल बोहरा आफ्नो टोली लिएर त्यसतर्फ लागे। नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरव कुमार केसीले भने, ‘ककपिट बाहिर रगताम्मे अवस्थामा रहेका पाइलट रहेछन्। उनलाई ५ मिनेट भित्रैमा हाम्रो टोलीले उद्धार गर्न सफल भयो।’

अत्तालिइरहेका पाइलट बोल्न सक्ने अवस्थामा थिए। उनले ककपिटमा अरु दुई जना पनि रहेको जानकारी दिए। तर आगो दन्किरहेको थियो।

आगो निभाउन केही समय लाग्यो। आगो नियन्त्रणमा लिएर त्यहाँ रहेका दुई जनालाई बाहिर निकाल्दा उनीहरु भने जीवित थिएनन्।

तत्काल त्रिवि शिक्षण अस्पता पठाइए पनि अस्पतालले मृत घोषणा गर्यो। बम डिस्पोजल टोलीले उद्धार गर्दैगर्दा विमानस्थलको थप टोली पनि कन्टेनर भएको ठाउँमा पुग्यो।

त्यसपछि उनलाई कर्णेल बोहरा नेतृत्वकै टोलीले विमानस्थलमा रहेको फायर ब्रिगेडको एम्बुलेन्समा राखी काठमाडौँ मेडिकल कलेज लगेको थियो।

पाइलटको घटनास्थलबाट उद्धार गर्दै गर्दा थप नेपाली सेनाको फौज लगायत अन्य सुरक्षा निकायका उद्धार टोली समेत घटनास्थल पुगेको र दुर्घटनाग्रस्त विमानमा लागेको आगो नियन्त्रणमा खटिएको प्रवक्ता केसीले बताए।

दुर्घटनामा सौर्य एयरलाइन्सका व्यवस्थापकसहित कर्मचारी र आफन्त गरी १८ जनाको मृत्यु भएको छ। चालक मनीषरत्न शाक्यको काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको र उनी खतरामुक्त रहेको अस्पताललाई उदृत गर्दै प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->