बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

कारागारका पाँच कैदीबन्दीमा क्षयरोग संक्रमण

कारागारका पाँच कैदीबन्दीमा क्षयरोग संक्रमण

१ सय ५२ जना पुरुष र १७ जना महिला गरि १ सय ७० जना कैदीबन्दी रहेको कारागारमा क्षयरोग थप फैलिन नदिन आवश्यक सावधानी अपनाईयो


  • ढोरपाटन संवाददाता
  • साउन ११ २०८१, शुक्रबार

बागलुङ/जिल्ला कारागार बागलुङका पाँच जना कैदीबन्दीमा क्षयरोगको संक्रमण भेटिएको छ । कारागारका १३ जना कैदीबन्दीको स्वास्थ्य परीक्षण गर्दा ५ कैदीबन्दीमा क्षयरोगको संक्रमण भेटिएको हो । संक्रमितमध्ये अधिकांश ५५ देखि ७७ वर्ष उमेर समुहका छन् ।
तीन जनामा फोक्सो र दुई जनामा फोक्सो बाहिरको क्षयारोग संक्रमण भेटिएको स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ट निरीक्षक देवप्रकाश घिमिरेले बताए । एक जेष्ठ कैदीबन्दीमा क्षयरोगसँग मिल्दाजुल्दा लक्षणहरु देखिएपछि धौलागिरी अस्पताल पुर्याएको थियो ।
अस्पतालले उनलाई क्षयरोग लागेको पुष्टि गरेपछि स्वास्थ्य कार्यालयले सम्पर्क परीक्षण गरेको थियो । क्षयरोगी बिरामीको सम्पर्कमा रहेका १३ जनाको नमुना परीक्षण गर्दा पाँच जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख बाबुराम आचार्यले बताए । ‘पहिलो बिरामी पहिचान भएपछि कन्ट्रयाक ट्रेसिङमा लाग्यौं’ आचार्यले भने, ‘नजिकका व्यक्तिहरुको नमुना लिँदा पाँच जनामा संक्रमण पुष्टि भएको हो ।’ चिकित्सकसहित प्राविधिक टोलीले थप कैदीबन्दीको नमुना संकलन र परीक्षणको काम गरिरहेको उनले जानकारी दिए । हावाबाट सर्ने भएकाले संक्रमितलाई नियमित औषधि सेवनका लागि निगरानीमा हुने उनले बताए ।
१ सय ५२ जना पुरुष र १७ जना महिला गरि १ सय ७० जना कैदीबन्दी रहेको कारागारमा क्षयरोग थप फैलिन नदिन आवश्यक सावधानी अपनाईएको प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले जानकारी दिए । ‘संक्रमितलाई औषधि उपचार सुरु भएको, औषधि सेवनपछि एक दुईदिनमा नै संक्रमण सर्ने सम्भावना कम हुने चिकित्सकले बताउनुभएको छ’ उनले भने, ‘बिरामीको औषधि उपचार र अरुलाई सर्न नदिन सावधानीका उपाय अपनाउन भनेका छौं ।” रोग नियन्त्रणको प्रयास समयमै भएकाले आत्तिनुपर्ने अवस्था नरहेको सुवेदीले बताए ।
बागलुङमा आर्थिक वर्ष २०८०/०८१ मा मात्रै ३ सय १३ जनामा क्षयारोग संक्रमण पुष्टि भएको थियो । त्यो मध्ये वडिगाड गाउँपालिकामा मात्रै १५३ जना बिरामी पहिचान भएका थिए । चालु आर्थिक वर्ष सुरु भएयता कारागार पहिचान भएका पाँच जनाबाहेक १८ जना नयाँ संक्रमित स्वास्थ्य कार्यालयको सिस्टममा दर्ता भएका छन् ।
‘समयमा जाँच, उपचार र औषधि पाउने हो भने क्षयारोग निको हुन्छ, हेलचक्राँईंले ज्यान लिन सक्छ’ क्षय कुष्ट निरीक्षक घिमिरेले भने, ‘हावाबाट सर्ने भएकाले यो रोगको संक्रमण निकै छिटो फैलिन्छ, सर्तक रहन जरुरी छ ।’ क्षयरोग संक्रमितलाई समाजमा हेर्ने दृष्टिकोण अझै नबद्लिएकाले अहिले पनि बिरामी लुक्ने र रोग फैलिने भैरहेको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->