बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

गञ्जीमै मन्त्रालय गएका मन्त्री मनाङे भन्छन्: ‘अब सुत्दा पनि दौरा सुरुवाल लगाउँछु’

गञ्जीमै मन्त्रालय गएका मन्त्री मनाङे भन्छन्: ‘अब सुत्दा पनि दौरा सुरुवाल लगाउँछु’


  • ढोरपाटन संवाददाता
  • साउन १२ २०८१, शनिबार
मन्त्री राजिव गुरुङ ‘दीपक मनाङे’

पोखरा / गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री राजीव गुरूङ (दीपक मनाङे) फेरि एक पटक चर्चामा आएका छन्। विवादित पृष्ठभूमिका उनी विभिन्न कारणले बेला-बेला चर्चामा आइरहन्छन्।

यसपटक भने उनी आफूले लगाएको पहिरणका कारण चर्चा र विवादमा आएका हुन। समाजिक संजालमा सार्वजनिक भएको तस्बिरमा मन्त्री मनाङे शरीरको माथिल्लो भागमा भित्री बस्त्र गञ्जी मात्रै लगाएर मन्त्रालयमा भेटघाट गरिरहेको देखिन्छ।

यसलाई लिएर मन्त्री भएर ‘ड्रेसकोड’ को समान्य ख्याल पनि नगरेको भन्दै उनको आलोचना पनि भइरहेको छ। उक्त पोसाकबारे जिज्ञासा राख्दा मन्त्री मनाङेले केही दिनअघि आफू पर्वतमा गएको पहिरो निरीक्षणमा ट्रयाकसुट लगाएर गएको र फर्केर आउँदा खोलेर राखेको बताए।

उनले भने, ‘पर्वतमा अस्ति ठूलै पहिरो आएको थियो, त्यो ठाउँमा जाँदा हामी ट्र्याक सुट लगाएर जानुपर्छ। बाटो एकदमै नराम्रो हुन्छ, कोट लगाएर जाने कुरा हुँदैन। फिल्ड भिजिटमा जाँदा म प्रायः गञ्जी, ट्रयाकसुट लगाएर जान्छु।’

पहिरो निरीक्षण गरेर फर्किँदा ट्रयाकसुटमा काँडैकाँडा लागेकाले माथिल्लो भागको ट्रयाकसुट खोलेर झुण्डाएको मन्त्री मनाङेको भनाइ छ। ‘त्यो ट्रयाकसुटमा काँडैकाँडा लागेको थियो,’ उनले भने, ‘अनि माथिको ट्रयाकसुट खोलेर झुण्डायाएको थिएँ। त्यो बेला २र४ जना मान्छे आएको थिए। कसले फोटो खिच्यो, मलाई थाहा छैन।’
भित्री बस्त्र गञ्जी मात्रै लगाएर मन्त्रालयमा काम गर्दै भौतिक पूर्वाधार मन्त्री गुरूङ

मन्त्रीहरूलाई थाकेपछि सुत्ने च्याम्बरको पनि व्यवस्था मन्त्रालयमा हुने भन्दै मन्त्री मनाङेले आफू पनि थाकेको बेला मन्त्रालयमै सुत्ने गरेको बताए। ‘हामी मन्त्रीहरूको कस्तो हुन्छ भने काम गरेर थाकेपछि सुत्न भित्र च्याम्बर हुन्छ,’ उनले भने, ‘हामी च्याम्बरमा सुत्छौं। सुतिरहेको छ मन्त्री भनेर लेखिदियो भने त के गर्न सकिन्छ त ?’

गञ्जी लगाएकोबारे भएका टिप्पणीप्रति बेखुस देखिएका मन्त्री मनाङेले व्यंग्यात्मक शैलीमा भने, ‘अब म सुत्दा पनि दौरा सुरुवाल लगाएर सुत्छु। अब गन्जी लगाउन नमिल्ने भयो। कट्टु पनि लगाउन नमिल्ने भयो।’

यस्तो छ, मनाङेको भनाइ :
पर्वतमा अस्ति ठूलै पहिरो आएको थियो। त्यो ठाउँमा जाँदाखेरि हामी ट्रयाकसुट  लगाएर जानुपर्छ।  बाटो एकदमै नराम्रो हुन्छ। कोट लगाएर जाने कुरा हुँदैन। फिल्ड भिजिट जाँदा म प्रायः गञ्जी, ट्रयाकसुट लगाएर जान्छु। 

त्यहाँ गएर आएको बेला परे छ यो। त्यहाँबाट आएर मैले ट्रयाकसुट झुण्डाएर बसेको थिएँ।  खिच्ने पनि कस्तो मान्छे हो यार। हाम्रोमा आउँछ, हाम्रो मै चिया खान्छ। हाम्रै फोटो खिचेर यस्तो गर्छ। 

त्यो ट्रयाकसुटमा काँडैकाँडा लागेको थियो। अनि, माथिको ट्रयाकसुट खोलेर झुण्ड्याएको थिएँ। त्यो बेला २/४ जना मान्छे आएको थियो। कसले फोटो खिच्यो, मलाई थाहा छैन।  त्यही दिन बेलुकका मन्त्रिपरिषद्को आकस्मिक बैठक थियो। बैठकमा जानको लागि मैले सुट मगाएको थिएँ। क्याबिनेटमा त सुट लगाएर जानुपर्छ। त्यहाँ सुट नलगाएर त हुँदै हुँदैन।

म मन्त्रालयको काम भएपछि बेलुका ७, ८ बजेसम्म बसिदिन्छु। त्यो दिन पनि मन्त्रालयको समय सकिसकिएको थियो। हामी त काम गरेर बसिरहेको हुन्छ। हामी आफ्नो काममा जाने हो। कामबाट आउने हो। बढी फुसर्द भएका मान्छेहरूले जे पायो त्यही खिच्ने, लेख्ने हो।

हामी मन्त्रीहरूको कस्तो हुन्छ भने काम गरेर थाकेपछि सुत्न भित्र च्याम्बर हुन्छ। हामी च्याम्बरमा सुत्छौं। सुतिरहेको छ मन्त्री भनेर लेखिदियो भने त के गर्न सकिन्छ त ?  काम गरेर थाकेपछि त सुत्छ नि त मान्छे। त्यतिबेला त म अझ ट्रयाकसुट पनि लगाउदिनँ,कट्टु मात्रै लगाएर बसेको हुन्छु। कट्टुको फोटो खिचेर हालिदियो भने मैले के गर्न सक्छु?

अब म सुत्दा पनि दौरा सुरुवाल लगाएर सुत्छु। अब गन्जी लगाउन नमिल्ने भयो। कट्टु पनि लगाउन नमिल्ने भयो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->