पोखरा/विश्वमा जलवायु परिवर्तनले व्यापक रुप लिइरहेको छ । जलवायु परिवर्तन हुनुका धेरै कारणहरु छन् ती मध्ये एक हो यातायात । यातायातका ध्वनी र वायु प्रदुषण व्यापक हुनेभएपछि दक्षिण कोरियाले सन् २००८ मा भविष्यका लागि भन्दै ‘लो कार्बन र हरित वृद्धि’ रणनीति र पोस्ट–स्टिमुलस प्याकेजको घोषणा ग¥यो । घोषणासँगै आफ्नो प्रतिबद्धताका कटिबद्ध कोरियाले यात्रा सुरु गर्दै यातायातमा ग्रीन ट्रान्सपोर्टेसनलाई अघि बढायो । कोरियाका नागरीकले त्यहाँको सार्वजानिक यातायातलाई ‘ग्रीन ट्रान्सपोर्टेसन’ को नाम दिएको छ जुन विश्वभर प्रख्यात छ । यातायात क्षेत्र विश्वव्यापी ऊर्जा मागको एक तिहाइ र विश्वव्यापी हरितगृह उत्सर्जनको छैटौंको लागि जिम्मेवार छ । विश्वव्यापी रूपमा दस ठूला प्रदूषकहरू मध्ये एकको रूपमा यातायात क्षेत्रलाई पुनः आकार दिने दक्षिण कोरियाको संकल्प जलवायु परिवर्तन विरुद्धको लडाईमा एक महत्त्वपूर्ण कदम हो । सोही कदमलाई कोरियाले पोखरामा समेत लागु गर्दैछ । कोरियाको आर्थिक र भौतिक सहयोगमा पोखराको सार्वजानिक यातायात अब स्मार्ट मात्र होइन वातावरणमैत्री हुँदैछ ।
वि.सं. २०७८ असोजमा पोखरा भ्रमणको क्रममा दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले यातायात व्यवस्थापनमा कोरिया सहयोग गर्न तयार रहेको बताए । असोज ११ गते गण्डकी सरकारको निमन्त्रणामा पोखरा आएका दक्षिण कोरियाका राजदूत चोङ सुकले तत्कालीन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँगको भेटमा पोखराको यातायात व्यवस्थापनमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । चोङ सुक अन्तर्राष्ट्रिय पर्यटन दिवसका अवसरमा गण्डकी प्रदेश भ्रमणमा आएका थिए । त्यतिबेला पोखरा र आसपासको भूगोलले आफूलाई प्रभावित पारेको र पोखरामा स्मार्ट यातायात सञ्चालन र व्यस्थापनमा चासो व्यक्त गरेका थिए । राजदूत सुकले कोरिया गण्डकी प्रदेशको व्यापार प्रवद्र्धनमा सघाउन तयार रहेको बताएका थिए ।
पोखराको सार्वजानिक यातायातलाई प्रविधिमैत्री बनाउँदै हरियाली प्रवर्द्धन गर्न कोरियाले चाँसो देखाएको ठीक एक वर्षपछि अर्थात ०७९ असोज २९ गते कोरियाली विज्ञको टोली र पोखरा महानगरपालिकाबीच छलफल भयो । उक्त छलफलले प्रविधिमैत्री यातायात व्यवस्थापनका लागि कोरियाले पहिलो चरणमा १५ लाख अमेरिकी डलर खर्च गर्ने कुरा चल्यो । उक्त छलफल पोखराको विद्यमान यातायात व्यवस्थालाई प्रविधिमैत्री बनाउँदै हरियाली प्रवर्द्धन गर्ने उद्देश्य थियो । कोरियाको विज्ञ टोली पोखरामा पाँच दिनसम्म बसी पोखराको सार्वजनिक यातायात र यसको रुट तथा पूर्वाधारका विषयमा स्थलगत अध्ययन गरेको थियो ।
टोली प्रमुख रेलमार्ग अनुसन्धान संस्थान कोरियाका परियोजना प्रबन्धक जियोन ह्युन किमले परियोजना अन्तरगत पोखराका ८४ वटा बस रुटमा १ हजार दुई सय ८६ स्थानमा बसस्टप निर्माण र क्याम्पिङ्चोकदेखि बगर (बस स्टप १९), निर निवासदेखि शान्तिनगर चोक (बस स्टप ११) र नुवारचोकदेखि महिमा किराना (बस स्टप १८) सम्म गरी ३ वटा मुख्य बस चल्ने रुटहरू हुनेछ ।
त्यसको पनि एक वर्ष अर्थात ०८० कार्तिकमा कोरियाली रेलमार्ग अनुसन्धान संस्थान (केआरआरआई) ले कोरियामा भएको हरित यातायातसम्बन्धी व्यावसायिक प्रशिक्षण कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापासहित सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री, महानगरपालिकाको यातायात व्यवस्थापन समितिका उपाध्यक्ष अमृत शर्मा तिमिल्सिना, इन्जिनियरहरु सुरेन्द्र पौडेल, ध्रुवराज भट्टराई र सुदीप दवाडी, लेखा अधिकृत अर्जुन बराल, योजना अनुगमन महाशाखा प्रमुख कृष्ण तिवारी र सूचना प्रविधि अधिकृत सुवास ढुंगाना पुगेका थिए । अक्टोबर ३० देखि नोभेम्बर ०४ सम्म केआरआरआई र सम्बन्धित सरकारी संस्थाहरूद्वारा कोरियामा आयोजित कोरियाली सहरहरूमा हरित यातायात व्यवस्थापन र यस सम्बन्धी व्यावसायिक प्रशिक्षण कार्यक्रममा सहभागि भएका थिए ।
परियोजनाका लागि कोरियाले पहिलो चरणमा १५ लाख डलर खर्च गर्नेछ उक्त रकमको आधा रकम बस स्टप र बसमा मेसिन जडान हुनेछ । पोखराको मुख्य पृथ्वीचोकलाई थप विस्तार गर्दै तीनचरणमा सम्पन्न गरिने उक्त परियोजनाको पहिलो चरणको काम २०२५ सम्म सुरु गरी दोस्रो चरण सन् २०३० सम्म सक्ने योजना छ । दोस्रो चरणमा हरित यातायात प्रणालीको विकास गरिने छ भने तेस्रो चरण सन् २०३५ सम्म दिगो हरित यातायात प्रणालीको विकास गरिनेछ । विश्वमा भएको उत्कृष्ट सहरी यातायात व्यवस्थापनको नमुना पोखरामा हुने कोरियाको विश्वास छ । परियोजना दौरान हाल नेपालमा रहेका सवारीको अवस्था र कोरियामा भइरहेको यातायात व्यवस्थापनको अनुभवलाई समेत प्रयोग गरिने छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पहिलो चरणका लागि आवश्यक पर्ने सामान सिमानासम्म आइपुगेको बताए । कोरिया सरकारले भौतिक र आर्थिक दुवै रुपमा सहयोग गर्ने गरी योजना अघि बढेको छ । मेयरका अनुसार पहिलो चरणका सामानहरु भन्सार छुट गराएर ल्याइनेछ । ठुलो रकम भन्सार छुट गर्नुपर्ने भएका कारण अर्थ मन्त्रालयबाट स्विकृत गराउने काम भइराखेको छ । अहिले पहिलो चरण अन्तरगतका सामान कोरियाबाट आइसकेको छ । भन्सारमा छ । भन्सार छुटका लागि अहिले फाइल अर्थमन्त्रालयमा स्विकृतका लागि छ र सामान बन्दरगाहबाट छुटिसकेको छ’ मेयरले भने, ‘ठूले रकम छुट गर्न पर्ने भएकाले अर्थमन्त्रालयमा फाइल पुगेको हो ।’
पोखराको सम्पूर्ण ट्राफीक व्यवस्थापन र यातायातको सिस्टम बनाउने परियोजना भएको उनी बताउछन् । पहिलो चरण यो वर्ष भित्र अर्थात सन् २०२४ भित्रै सक्ने योजना रहेको छ । पहिलो चरणमा प्रतिक्षालय र ट्राफीक फर्निचरहरुको व्यस्था हुने मेयरको भनाई छ । सन् २०२५ मा सिस्टम लागु हुन्छ । मेयर आचार्यले यो स्मार्ट बसस्टयान्ड भएपनि स्मार्ट भन्दा धेरै टिकाटिप्पणी हुने गरेको बताए । यो स्मार्ट हुनुको कारण भनेको डिजिटल रुपमा बस कहाँबाट छुटेको हो र कहाँ कति बजे आउँछ भन्नेदेखी लिएर सबै जानकारी दिनेछ । पोखराको यातायात र ट्राफिकको विषयमा अध्ययन गरी प्रतिवेदन तयार भइसकेको छ । ‘पोखरा महानगरपालिकाभित्र कति ठाउँबाट कति गाडी हिडाउँछ भन्ने कुरा समेतको व्यवस्था हुनेछ । मेयरका अनुसार अहिले पोखरामा कसरी सवारी चलिरहेका छन् भन्ने विषयको अध्ययन गरी सबै कुराको प्रतिवेदन तयार छ’ मेयरले थपे, ‘सन् २०२५ सम्म अव्यवस्थित पोखराका सार्वजानिक यातायातलाई व्यवस्थित बनाउने र अव्यवस्थित ट्राफीकलाई व्यवस्थित गराउनेछ । यो प्रविधिमा पोलुसन परीक्षण गर्नेदेखी धेरै विषय रहेको र यसले पर्यटकलाई समेत आकषर्ण गर्ने छ । नेपालमा ग्रीन स्टिकर टास्नेबाहेक अन्य व्यवस्था नभएको तर यो प्रविधिमा आएपछि त्यहाँ धेरै कुराको व्यवस्थापन हुनेछ ।’
डिजिटल माध्यमबाट जानकारी दिने व्यवस्था
कोरियाको परियोजना सम्पन्न भई कार्यान्वयनमा आएमा पोखरामा चल्ने सार्वजनिक यातायातको सेवाबारे हरेक नागरिकहरूले डिजिटल माध्यमबाट जानकारी पाउनेछन् । पोखराको चुनौतिको रुपमा अहिले देखा परेको जथाभावी यात्रु चढाउने र ओराल्ने प्रवृत्तिको अन्त्य हुनेछ ।
भने चालकले समेत जथाभावी यात्रु चढाउन र ओराल्न पाउने छैनन् । क्याम्पिङ्चोकदेखि बगर (बस स्टप १९), निर निवासदेखि शान्तिनगर चोक (बस स्टप ११) र नुवारचोकदेखि महिमा किराना (बस स्टप १८) सम्म गरी ३ वटा मुख्य बस चल्ने रुटहरू हुनेछ र लामो समयसम्म बस कुरेर बस्नुपर्ने बाध्यता हट्नेछ ।
यातायात सिन्डिकेटको अन्त्य
पोखरामा साच्चिकै परियोजना सुरु भएपछि यातायात व्यवसायीको सिन्डिकेटको अन्त्य हुनेछ । अहिले पोखरामा जसरी यातायात व्यवसायीले सिन्डिकेट गरेका छन् त्यसले आम यात्रु हैरानीमा परेका छन् । यतिमात्र होइन राज्यले गरेको भाडा समायोजनमा समेत यीनिहरु राजि हुँदैनन् । प्रविधिमैत्री समयमा समेत प्रविधिको प्रयोगप्रति यातायात व्यवसायीले विरोध गरिरहेका छन् । गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशमा राइड सेयरिङ सम्बन्धि नीति ल्याउन खोज्दा आजबाट (आइतबार) सार्वजानिक यातायात ठप्प पार्ने चेतावनी समेत दिएका छन् । उनीहरुले शुक्रबार पोखरामा विरोध ¥याली गरेका थिए त्यसैको विरोध गर्दै शनिबार पुनः पठाओ, इनड्राइभ लगायतमा आबद्ध मोटरसाइकल चालकहरुले राइड सेयरिङ नीतिलाई कार्यान्वयन गर्नुपर्ने भन्दै मोटरसाइकल ¥याली निकालेका थिए ।





