पोखरा/प्रतिनिधि सभामा दुई ठूला दलहरु नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्य भएपछि पहिलोपटक कास्कीमा ती दुई दलबीच सोमबार बैठक सम्पन्न भएको छ । नेपाली काँग्रेस कास्कीको कार्यालयमा काँग्रेस कास्कीका सभापति किशोरदत्त वरालको सभापतित्वमा कास्कीमा रहेका गठवन्धन दल नेपाली काँग्रेस र .एमालेका जिल्ला तथा केन्द्रिय स्तरका नेताहरुको विचमा संयुक्त रुपमा बसेको वैठकले संघ तथा प्रदेशका सरकारलाई स्वागत गर्दै सरकारलाई सहयोग गर्ने प्रतिवद्धताका साथ हार्दिक वधाई ज्ञापन गरेको छ ।
वैठकले कास्की जिल्लाको समग्र विकासका निम्ति, जनसरोकारका केही महत्वपूर्ण विषयहरु जस्तै सुशासन, पर्यटन विकास लगायतका विषयहरुमा साझा धारणा निर्माण गरी अगाडी वढ्ने र आगामी दिनमा वैठकलाई निरन्तर रुपमा अगाडी वढाउने निर्णय गरेको बरालले बताए ।
गण्डकी प्रदेश सरकारमा एमाले सामेल हुने भनिए पनि त्यसको सुरसार नभएका बेला गठबन्धन दलबीच बैठक बसको हो । यसले सत्ता सहकार्य हुने संकेत गरेको छ । तर यतिबेला मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे उपचारका लागि भारतको राजधानी दिल्ली गएका छन् । उनी फर्किएपछि सत्ता सहकार्य हुने देखिन्छ । बैठकमा एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीलगायतको सहभागिता थियो ।





