बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

न्यूराेडकाे हाेटल दीप दर्शनबाट ठूलाे परिमाणमा लागुऔषध सहित २ पक्राउ

न्यूराेडकाे हाेटल दीप दर्शनबाट ठूलाे परिमाणमा लागुऔषध सहित २ पक्राउ


  • ढोरपाटन संवाददाता
  • साउन १७ २०८१, बिहिबार

पाेखरा/ पोखराको न्यूरोडस्थित होटल दीप दर्शनबाट प्रहरीले लागुऔषध बरामद गरेको छ । होटलमा लुकाइछिपाई राखेको ८ प्रकारका लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन थापाले बताए ।

बरामद लागुऔषधको बजार मुल्य ५० लाख बराबरको भएको प्रहरीले जनाएको छ । होटलमै दर्ता नगरिएको मेडिकल सञ्चालनमा थियो । प्रहरीले होटल सञ्चालक तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नम्बर ८ घर भई पोखरा ९ न्यूरोड बस्ने ३७ वर्षीया इन्दुदेवी श्रेष्ठ र सोही होटेलका म्यानेजर स्याङजा आँधिखोला गाउँपालिका ३ घर भई पोखरा १७ बिरौटा बस्ने २५ वर्षीय मिलन पौडेललाई नियन्त्रणमा लिएको छ ।

होटलमा सञ्चालन भएको मेडिकल यसअघि बिरौटामा संचालित रहेकोमा केही दिन अघिमात्र उक्त होटलमा सरेको थियो । दर्ता नभएको मेडिकलको बोर्ड पनि थिएन । होटलबाट लागूऔषध बिक्री वितरण गर्दै आइरहेको भन्ने सूचनाका आधारमा लागूऔषध ब्यूरोको सहकार्यमा हाइड्रोक्लोराइड क्याप्सूल १३ हजार ६ सय ट्याब्लेट, टेपेन्डोल ट्याब्लेट ५० एमजीको १६ सय ट्याब्लेट, टेपेन्डोल ट्याब्लेट—५० एमजी टेन्डा—५० एमजीको २६ सय वटा, टेपेन्डोल ट्याब्लेट—७५ एमजी टेन्डा—७५ एमजीको ४ हजार ट्याब्लेट, टेपोन्डोल हाइड्रोक्लोराइड एक्सटेन्ड रिलिज ट्याब्लेट सय एमजीको ११ हजार ६ सय टुयाब्लेट बरामद भएको प्रहरीले जनाएको छ ।

यस्तै ट्यापेन्डोल—७५ एमजीको ४ हजार ट्याब्लेट र ट्यापेन्डोल सय एमजीको २१ हजार ४ सय वटा ट्याब्लेट बरामद भएको छ । सबै प्रकारका लागुऔषध गरेर प्रहरीले ४३ हजार २ सय वटा ट्याब्लेट बरामद गरेको हो । यो कास्कीमा एकैपटक बरामद भएको सबैभन्दा ठूलो मात्राको लागुऔषध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका दुवै जनालाई कास्की जिल्ला अदालतबाट लागुऔषध सम्बन्धी मुद्दामा ७ दिनको म्याद थप गरी थप अनुसन्धान अगाडी बढाइएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->