बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

किरण गुरुङलाई एमाले गण्डकीको कमाण्ड !

किरण गुरुङलाई एमाले गण्डकीको कमाण्ड !


  • ढोरपाटन संवाददाता
  • साउन १८ २०८१, शुक्रबार

पोखरा/एमालेले स्थायी कमिटी सदस्य किरण गुरुङलाई गण्डकी प्रदेशको इन्चार्जको जिम्मेवारी दिएको छ । उनले एमाले सचिव गोकर्ण विष्टलाई विस्थापन गरेका हुन् । प्रदेश इन्चार्जको जिम्मेवारी पाएसँगै उनको भूमिका फेरिएको छ । गण्डकी प्रदेशको एमालेभित्रको गुटगत राजनीतिमा उनी पछिल्लो समय खगराज अधिकारी निकट रहेका छन् । खगराज समूहको सवैभन्दा पाका शीर्ष नेतामा उनको नाम आउँछ । उनले लामो समयदेखि आफूलाई उचित भूमिका दिनुपर्ने माग गर्दै आइरहेका थिए ।
नवौं महाधिवेशनमा उपाध्यक्षमा पराजित किरण दशौं महाधिवेशनमा पनि पदाधिकारीको आकांक्षी थिए । तर, अध्यक्ष केपी ओलीले सहमतिमै पदाधिकारी टुंग्याउँदा उनी अटाएनन् । संघीय वनमन्त्री बनेका उनी २०७४ सालमा प्रदेशमा झरे । तनहुँबाट विजयी बनेका उनी तत्कालीन समयमा मुख्यमन्त्रीका दाबेदार थिए तर अन्तिममा उनी पछि हटे । पृथ्वीसुब्बा गुरुङ संसदीय दलको नेता बन्दा उनी सोही मन्त्रिपरिषद्मा दोस्रो बरियताको आर्थिक मामिलामन्त्री बने । २०७९ को चुनावमा भने उनी तनहुँ क्षेत्र नम्बर ३ बाट संघीय सांसदका प्रत्यासी बने । नतिजाचाहिँ शंकर भण्डारीको पोल्टामा सुम्पिए ।
२०३७ वैशाख देखि २०४७ वैशाखसम्म गण्डकी र धौलागिरी अञ्चलका विभिन्न जिल्लामा नेकपा (माले)को नेताका रुपमा कठोर भूमिगत जीवन विताएका थिए ।
नेकपा मालेले औपचारिक रुपमा लाल सेनाको गठन गरेर उनलाई कमाण्डर बनाएको उनलाई नजिकबाट चिन्ने वाम बुद्धिजीवि झलक सुवेदीले जानकारी दिए । उनकै कमाण्डमा कास्की नाउडाँडामा रहेको कृषिविकास बैंक र स्थानीय प्रहरी चौकी लुट्ने गरी सबै तयारी पूरा भएपछि पार्टीले यो एक्सन रोकेको थियो र लाल सेना उभिएर राम्ररी हिँड्न नपाई विघटन भएको पनि उनले बताए । पूर्वब्रिटिश आर्मी र गाउँका प्रधानपञ्च रहेका बाबुका सन्तान, गण्डकी बोर्डिङ स्कुलका मेधावी विद्यार्थीको रुपमा चिनिन्थे ।
२०१७ सालमा तनहुँमा जन्मिएका किरण गुरुङ तनहूँबाट निवार्चित प्रदेशसभा सदस्य हुन् । २०३६ सालमा कास्कीको उपसचिवहुँदै सचिव र नेकपा मालेको पश्चिम–उत्तर क्षेत्रीय कमिटी सदस्यको जिम्मेवारी पनि पाएका थिए । २०३९ सालमै बाग्लुङ र म्याग्दीको सचिव र २०४० सालमा पर्वतको इन्चार्ज हुँदा गण्डकी र धौलागिरी अञ्चल उनको कार्यक्षेत्र थियो । त्यस्तै २०४५ सालमा स्याङ्जाको सचिव, २०४६ पछि गण्डकी र धौलागिरीको पालैपालो सचिव, २०४७ सालमा माले माक्र्सवादी एकीकरणपछि पार्टीको रापस हुँदै २०४८ सालको आम निर्वाचनमा तनहुँ क्षेत्र नम्वर ३ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । २०५४ सालमा एमाले विभाजित हुँदा चाहिँ उनले माले रोजे । तत्कालीन समयमा गण्डकी इञ्चार्ज रहेका उनको कमिटी नै मालेमा गएको थियो । एकीकरणपछि पनि उनलाई पूर्वमालेको रुपमा हेरिन्थ्यो । तर, पछिल्लो समयमा भने उनले आफ्नो त्यो धार बदले । गण्डकीमा स्थायी कमिटी सदस्य खगराज समूहलाई सघाए । कुशल संगठक मानिने खरो स्वभावका किरणको काँधमा एमालेलाई बलियो बनाउने तथा २०८४ को चुनावमा विजयी गराउने जिम्मेवारी थपिएको छ ।
किरण गण्डकी इञ्चार्ज हुँदा पोखरामा जन्मेकी प्रभा बरालसहित बागलुङकी मञ्जु शर्मा चालिसे, केदार सिग्देलगायत केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->