बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पुरुषले खुलाउँदैनन् हिंसाका घटना

पुरुषले खुलाउँदैनन् हिंसाका घटना


  • ढोरपाटन संवाददाता
  • साउन १८ २०८१, शुक्रबार

बागलुङ/हाम्रो समाजमा पुरुषमाथि हुने हिंसाका घटना एकाधबाहेक सतहमा आउँदैनन् । महिलाले पुरुषमाथी हिंसा गर्छन् भन्ने स्वीकार गर्न समेत हाम्रो समाज मान्दैन् । तथ्यांक र घटना प्रकृति हेर्दा महिलामाथी हुने हिंसाका घटना धेरै छन् । तर, पुरुषमाथी भएका हिंसाका घटनाले पनि समाज प्रताडित रहेको तथ्यांक सतहमा आउन थालेको छ ।
धौलागिरी अस्पताल बागलुङमा १३ वर्षअघि स्थापना भएको अस्पतालमा आधारित लैंगिक हिंसा सम्बन्धि एकद्धार संकट व्यवस्थापन केन्द्रमा आजभोली महिलाजस्तै पुरुषहरु पनि पीडित बनेर सेवा लिन आउने गरेका छन् । ‘श्रीमतीले पिटेर हातको कुहिनो फुकालेर र टाउकोभरी चोट र श्रीमतीबाट मानसिक तनाव सहन नसकेर आत्माहत्या प्रयास गरेका पुरुषहरुलाई पनि सेवा र परामर्श दिएका घटना छन्’ केन्द्रकी स्रोतव्यक्ति देवी भट्टराईले भनिन्, ‘हिंसामा परेका पुरुषहरुलाई घटनाको विषयमा खुलाउनै कठिन हुने गरेको छ ।’
महिला हिंसा भए आवाज उठाउने थुप्रै संघसंस्था छन्, कानुन पनि महिलामैत्री छ, तर पुरुषमाथि हिंसा भए आवाज उठाउने कुनै संघसंस्था नभएको र पुरुषले महिलाबाट पीडित भएको खुल्दा समाजले हेर्ने दृष्टिकोण नै बद्लिने भएकाले घटना कम खुल्ने गरेका छन् । संकट व्यवस्थापन केन्द्रले १३ वर्षको अबधिमा १ हजार १ सय ५० जना हिंसा पीडितलाई सेवा दिएको छ । त्यसमध्ये १ सय ३७ जना पुरुष पीडित छन् । प्रहरी, अन्य स्वास्थ्य संस्था र विभिन्न माध्यमबाट केन्द्रमा सेवाका लागि आउने पीडितमध्ये अधिकांश महिलाले कानुनी उपचार खोज्ने तर पुरुषहरु कानुनी उपचारमा जान हच्किने गरेका छन् ।
२०६८ देखि सुरु भएको केन्द्रले लैंगिक हिंसा पीडितलाई निःशुल्क उपचार, कानुनी तथा मनोसामाजिक परामर्श सेवा प्रदान गर्दै आएको छ । केन्द्रले पीडितको कानुनी उपचार र पुनःस्थापनामा पनि सघाउने गर्छ । गत आर्थिक वर्षमा भने लैंगिक हिंसा पीडित १ सय २२ जनाले सेवा लिएको भट्टराईले जानकारी दिइन् । तीमध्ये बलात्कारमा ११, यौनजन्य दुव्र्यवहारमा ६, शारीरिक दुव्र्यवहारमा १८, मानसिक दुव्र्यवहारमा ५५ र घरेलु हिंसाबाट २२ जना पीडित बनेका थिए । ‘पुरुषको तुलनामा लैंगिक हिंसामा पर्ने महिलाको संख््या ज्यादै ठूलो छ, पछिल्लो समय यौनजन्य हिंसाका घटना बढी देखिन थालेका छन्’ उनले भनिन्, ‘हिंसा सहेर बस्ने, लुकाउने प्रवृत्तिमा पनि कमी आएको छ ।’
अस्पतालमा आधारित उक्त केन्द्रबाट पाउने उपचार, परामर्श सेवाले न्यायको लागि कानुनी बाटो समात्न समेत पीडितलाई सहज भएको उनको भनाई छ । बढीजसोः यौन, घरेलु हिंसा र मानसिक यातनाबाट पीडित व्यक्ति केन्द्रमा आउने गरेका छन् । बलात्कार, विषादी सेवन, आत्महत्याको प्रयासजस्ता घटनाका पीडित पनि केन्द्रमा आउँछन् । लैंगिक हिंसाबाट पीडित र प्रभावितलाई एकै द्वारबाट उपचार, परामर्श सेवा दिन सरकारले ‘ओसिएमसी’ सेवा सुरु गरेको अस्पतालका प्रमुख चिकित्सक डा. रविरञ्जन प्रधानले बताए ।
‘यहाँबाट प्रदान हुने सबै सेवा निःशुल्क हुन्छ, लैंगिक हिंसामा परेको जुनसुकै व्यक्ति सोझै केन्द्रमा आएर सेवा लिन सक्छ’ उनले भने, ‘हिंसाका घटना व्यवस्थापनदेखि रोकथाम तथा नियन्त्रणमा समेत केन्द्रको भूमिका रहन्छ ।’ प्रधानका अनुसार अस्पतालमा उपचार हुन नसक्ने अवस्थाका पीडितलाई अन्य ठूला अस्पतालमा पठाउने गरिएको छ । अन्य अस्पतालसम्म पुग्नलाई यातायात खर्चसमेत केन्द्रले उपलब्ध गराउँछ ।
केन्द्रमा बागलुङसहित पर्वत, म्याग्दी र अन्य जिल्लाबाट समेत लैंगिक हिंसापीडित आउने गरेका छन् । लैंगिक हिंसाबाट पीडित बनेर आउनेमा बढीजसोः १५ देखि ४९ वर्ष उमेर समूहका छन् । ‘९० वर्षकी बृद्धा र चार वर्षकी बालबालिका यौनजन्य हिंसामा परेका घटना पनि छन्’ भट्टराईले भनिन् । प्रहरी, अल्पकालीन सेवा केन्द्र, बाल कल्याण र अस्पतालकै अन्य विभागबाट समेत पीडित ‘ओसिएसी’को सम्पर्कमा आइपुग्छन् । कतिपय पीडित भने सिधै ‘ओसीएमसी’मा आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->