पोखरा/ नेपाल किसान संघ पोखरा महानगरपालिका वडा नम्बर ६ को अध्यक्षमा ओमनाथ अधिकारी चयन भएका छन । संघको विहीबार सम्पन्न दोस्रो अधिवेशनले अधिकारीको अध्यक्षतामा आठ सदस्यिय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
संघको उपाध्यक्षमा नारायण पोखरेल, सचिव मोतिराज कोइराला, सहसचिव विष्णुप्रसाद पहारी र कोषाध्यक्षमा पार्वती पौडेल चयन भएका छन । यसैगरि सदस्यहरूमा लक्ष्मीप्रसाद पहारी, सीता पौडेल र हीरा पौडेल चयन भएका नेपाली कांग्रेस वडा इकाई ६ का सचिब प्रकाश न्यौपानेले जानकारी दिए । यसअघि कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेशका प्रवक्ता माधवप्रसाद बास्तोला (मघु) ले किसानको जीवन र जीविकामा आमूल परिवर्तन ल्याउने गरी सरकारले कार्यक्रमको व्यवस्था गर्न माग गरेका छन् । रासायनिक मलको मूल्यवृद्धि अविलम्ब रोकिनुपर्ने भन्दै उनले दीर्घकालीन योजना बनाई खेतीको समयमा रासायनिक मलको अभाव हुने अवस्थाको सधैँका लागि अन्त्य गर्ने माग गरेका थिए ।
नेपाल किसान संघ कास्कीका अध्यक्ष पुण्डरीप्रसाद बरालले देशमा रासायनिक मलबिना खेती गर्न सकिने गरी प्राङ्गारिक खेती र दिगो कृषिलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । नेपाल किसान संघ क्षेत्रिय सभापति रवि अधिकारीले कृषि औजार र बीउबिजनको मूल्यवृद्धि नियन्त्रण गरि कालोबजारी गर्नेमाथि सरकारले कडा कारबाही गरि उपभोक्ता र उत्पादक सहकारीहरू मार्फत सुपथ मूल्य पसलहरू सञ्चालनमा ल्याउनु पर्नेमा उल्लेख गरे । नेपाल किसान संघ बैदामका अध्यक्ष लोकराज पहारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इकाई सभापति सन्तोप पौडेल, नेपाली काँग्रेस गण्डकी प्रदेश संघ गठन विभागका उपप्रमुख प्रभा पौडेल सुवेदी र नेपाल तरुण दलका केन्द्रिय सदस्य लक्ष्मण पहारी लगायतका वक्ताहरूले नेपाली काङ्ग्रेसको पहिलो प्राथमिकता नै किसानहरूको हकहितमा हुनु पर्ने भन्दै आफ्ना भनाइ राखेका थिए ।





