पोखरा/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा बयान फेर्ने दुई साक्षीलाई पनि मुद्दा दायर गरेको छ । शुक्रबार अख्तियारले एउटा भ्रष्टाचार मुद्दामा विशेष अदालतमा बयान फेरेको भन्दै कैद सजाय र बिगो माग गरेको हो ।
पोखरा महानगरपालिकामा कार्यरत इन्जिनियर उषाकिरण रोकाया गत चैत २९ गते डेढ लाख रुपैयाँ घुससहित अख्तियारले रंगेहात फेला पारेको थियो । रोकायासँगै इञ्जिनियर शिवप्रसाद बराल र गोदार कन्सल्टेन्सीका सुरज कुँवर पछि पक्राउ परेका थिए ।
रोकाया र कुँवरलाई सेवाग्राहीसँग रकम लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गण्डकी प्रदेश कार्यालय पोखराबाट खटिएको टोलीले चैत २८ गते पक्राउ गरेको थियो । अनुसन्धानका आधारमा संलग्नता देखिएको भन्दै इन्जिनियर बराललाई पनि वैशाख ४ गते पक्राउ गरिएको थियो ।
उनीहरु विरुद्ध अख्तियारले २०८१ वैशाख २० गते मुद्दा चलाएको थियो ।
सोही प्रकरणमा अख्तियारमा साक्षी बसेका थिए केशरीप्रसाद तिवारी र उर्मिला पौडेल । उनीहरुमाथि नै अहिले बयान फेरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो ।
अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जारी गरेको प्रेस विज्ञप्तिमा तिवारी र पौडेले आयोगका अनुसन्धान अधिकृत समक्ष गरेको बयान प्रतिकुल हुनेगरि बकपत्र गरेको जनाइएको छ ।
अख्तियारसँग गरेको बयानको विपरित विशेष अदालतमा बकपत्र गरेको उल्लेख छ ।‘… बकपत्र गर्दा आयोगबाट अनुसन्धानको क्रममा गरिएको बयान व्यहोराको प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टि भएको हुँदा…’ विज्ञप्तिमा भनिएको छ ।
अख्तियारले दुवैलाई बिगोबापत तीन लाख ५० हजार रुपैयाँ भराउन माग राखेको छ भने भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को (घ) बमोजिम कैद सजाय माग गरेको हो ।





