पोखरा/एकै परिवारका दुई सदस्य विरामी भएपछि आर्थिक समस्या झेलिरहेका कास्की रुपाकोट गाउँपालिका ५ मज्र्याङकोटका एक परिवारलाई तमु समाज सलालाह ओमनले आर्थिक सहयोग उपलब्ध गराएको छ ।
वैदेशिक रोजगारीका लागि ओमान पुगेका नेपालीहरुबाट संकलन गरिएको एक लाख २४ हजार तीन सय साठी रुपैयाँ तमु समाज सलालाहको सक्रियतामा प्रदान गरिएको हो ।
विगत ८ वर्ष अघिदेखि प्यारालाइसिसबाट पीडित रहेकी ७७ वर्षीया तुलसी गुरुङ दुई वर्ष अघिबाट छोरा चन्द्रबहादुर गुरुङ्गको समेत दुवै मृगौला फेल भएपछि चरम आर्थिक समस्यामा परेकी छन् । आमा र छोराको उपचार गर्नसमेत समस्या परेपछि दाता गुहार्न बाध्य भएको पीडित चन्द्रबहादुरले बताए ।
शनिबार सहयोग रकम सहित मज्र्याङ्गकोट पुगेका तमु समाज सलालाहका महासचिव लालबहादुर गुरुङले समाजको सहयोगले उनीहरुको उपचारमा राहत पुग्ने बताए ।





