
पृष्ठभूमी
बाँदर प्रकृतिको पारिस्थिकीय प्रणालीको एउटा महत्वपूर्ण अङ्ग हो । बाँदर शाकाहारी प्राणी हो । बाँदर बिभिन्न प्रकारका हुन्छन्, यिनीहरु समूहमा बस्ने गर्दछन्, यिनीहरुमा पोथी, वयस्क, बच्चा र सिमिति भाले हुने गर्दछन् । यिनिहरु विशेषतः दिनमा सक्रिय हुन्छन । सामान्यतय बाँदरले वनको कन्दमुल, फलफुल, बीउ, मुना, पात, काण्ड, जरा खाएर जीविकोपार्जन गर्ने गर्दछ । तर सामुदायिक वनको अवधारणामा वनको विकाससँगै, समय समयमा वनका काष्ठ पदार्थको सुधारको नाममा बाँदर तथा अन्य जनवारहरुले खाने फल तथा फुल, पात काण्डहरु भएका बुट्टयानहरु मास्ने कार्य हुदै आएका छन् । यसका अतिरिक्त वाँदरले खाने जंगली आँप, काफल, ऐंसेलु, च्युरी, गिठ्ठा भ्याकुर, थाँकल, चुत्रो, अगेरी, भुइकाफल, बयर आदि मानिसहरुले संकलन गरी बिक्रि वितरण गर्न थालेपछि बाँदरहरुको खानामा कमि आउन थाल्यो । फलस्वरुप बाँदरहरु जंगलबाट बिस्तारै खेतीपातीतिर आउन थाले, त्यसो त पहिले पनि बाँदरहरु जंगल नजिकका खेतबारीमा यदाकदा आउने नगरेका होइनन्, तर त्यतिबेला जंगलमा प्रशस्त खाना उपलब्ध हुने हुदा मान्छेद्वारा रखबारी गरेर बस्दा वा टिन ठटाई बस्दा वा कुकुर भुकेको भरमा बाँदरहरु सहजै जंगलतिर लाग्ने गर्दथे । किनकी खेतबारीका मकै तथा फलफुल खान असुरक्षा भए वनतिरै आहरा खोज्न तर्फ लाग्दथे ।
तर परिस्थिति बदलियो, बढ्दो बजारिकरणको कारण हरेक उत्पादनहरु बिक्रि बितरण हुन थाल्यो । आर्थिक आर्जनका कारण जंगलमा भएका जंगली जनवारका आहाराहरु बिस्तारै दोहन हुन थाले र आहारा खोज्दै जंगली जनवारहरु विशेषतः बाँदरहरु खेतबारीमा आउन थाले, खेतबारीमा पनि आहारा नपाएपछि बिस्तारै घरभित्र भएको अन्नपात समेत खान आइपुगे । यो अवस्था सिर्जना गर्ने कारकतत्व बाँदर नभई मानव स्वयं नै हुन् । बाँदरले खाने विकल्पै नभएपछि के गर्ने ? हिन्दिमा एउटा उखान छ ”मरता क्या नहि करता” यो उखान बाँदर बाहेक अरुलाई पनि सत्य हो । त्यसैले बाँदरहरु ज्यानको बाजी लगाएर खेतीपातीमा धावा बोल्न थाले । बा¥है महिना खेतबारीमा बाँदरको लागि खाने आहार उपलब्ध हुने कुरा पनि भएन, त्यसको बिकल्पको लागि बाँदर घरभित्र घुस्न थाले । खेतीपाती नोक्सानीले आहात किसानहरु घरभित्र थन्क्याएको अन्नपातलाई समेत बाँदरहरुले मानिस नभएको समयमा चोर्न थालेपछि मानिसहरुमा ठूलो चुनौति सृजना भएको छ ।
नेपालमा निम्न ३ प्रकारका बाँदर भेटिएका छन्ः
१. रातो बाँदरः यसको उत्पति दक्षिण, मध्य तथा दक्षिण पूर्वी एशियामा भएको मानिन्छ । यो शाकाहारी जाति वा बनस्पति खाएर बाच्ने जनवार हो । यसका ६-९ प्रकारका उपजातिहरु छन्, तापनि यसलाई २ समूहमा बिभाजित गर्न सकिन्छ । प्रथम चीनबाट आएका र भारतबाट आएका जाति । यसको रौं खैरो रंगको हुन्छ, अनुहार रौ नभएको रातो हुन्छ, यसको तल्लो भाग खैरो हुन्छ र घाटी देखि तलको भाग हल्का सेतो हुन्छ । रातो बाँदरको जनसंख्या लगभग ७०% रहेको अनुमान गरिएको छ । यसको शरीर ४७-५३ सेमी लामो हुन्छ भने पुच्छर २१-२३ सेमी लामो र शरीरको तौल ५.३ देखि ७.७ केजी सम्मको हुन्छ । यो नेपालको बिभिन्न भौगोलिक क्षेत्र, उचाई, हावापानी तथा वासस्थान जस्तैः घाँसे मैदान देखि सुख्खा र वन क्षेत्रमा बस्ने गर्दछ, त्यस्तै गरेर मानवबस्ती नजिक पनि बस्ने गर्दछ, कतिपय अवस्थामा शहरमा पनि खाद्यन्न तथा फ्याकेको बस्तु खाएर बाच्ने गर्दछ । यसले मुख्यत फलफुल खान्छ, यसको अलवा बीउ, कन्दमुल, मुना, पात, बोक्रा तथा खाद्यन्न खाने गर्दछ, यसरी बाँदरले करिव ९९ विरुवाका प्रजातिका उपभोग गर्ने गर्दछ ।
२. पहरे (आसामी) बाँदरः यो अन्नपूर्ण संरक्षण क्षेत्र, मकालु बरुण, लाङ्गटाङ्ग, शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय निकुञ्ज वाहेकका अन्य स्थानहरु जस्तैः धादिङ्ग, म्याग्दी र पाल्पा जिल्लामा पाइएको छ (राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग) । यो बाँदरलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले लोपोन्मुख जातिकोरुपमा उल्लेख गरेको छ । लोपोन्मुख हुनुको प्रमुख कारणहरुमा बिभिन्न उद्देश्यले यसको शिकार गरिनु, बासस्थान लोप हुदै जानु वा वासस्थान अव्यवस्थित हुदै जानु आदि रहेका छन् । यो रातो बाँदरको तुलनामा लज्जालु, कातर र कम आक्रमक देखिन्छ ।
३. खैरो लंगुर (ढेडु)- यो तराइको चारकोसे झाडीदेखि ४००० मिटरसम्मको हिमाली भेगसम्ममा पाइन्छ । यो २ प्रकारको हुन्छ, एउटा जमिनमा बस्ने र अर्को रुखमा बस्ने । नेपालको हकमा हालसम्म सबै भन्दा ठूलो हनुमान लंगुर २६.५ केजीको रेकर्ड गरिएको छ, जुन भाले जातिको हो । यसले फल, फुल, बीउ, पात, मुना र कलिला बोक्रा खानाको रुपमा खाने गर्दछ । कुन भागको खाने कुरा र कुन जातको विरुवा खाने भन्ने कुरा क्षेत्र र सिजन अनुसार फरक पर्दछ । कुन समयमा कुन विरुवाको कुन भाग खान्छ भन्ने बिषयमा हालसम्म अध्ययन भएको छैन ।
बाँदरबाट सिर्जित समस्या
बाँदरबाट सिर्जित समस्याको कुरा गर्दा कास्कीको रुपा गाउँपालिकाका जनताले बाँदरले खेतीपाती केही हुन दिएन, मानिसको उठिबास गरायो, बसाइ नै सर्नु पर्ने भयो भन्ने आवाज उठेपछि गाउँपालिकाले आ.व. २०७४र७५ मा रु १० लाख बजेट छुट्टाइृ करिव ५०० बाँदर भारतको प्राविधिकद्वारा पक्रन लगाई चितवन राष्ट्रिय निकुञ्जमा छोडेको थियो ।
त्यस्तै गरेर मादी गाउँपालिकाका कास्कीका अध्यक्ष देवीजङ्ग गुरुङ्ग बसाई सराई र बाँदर आतंकका कारण मादी गाउँपालिकाका ९०% जग्गाहरु बाँझै रहेको कुरा एक प्रसंगमा बताउनु हुन्छ । बागलुङ्ग र पर्वत जिल्लाको कालीगण्डकी नदी तटीय क्षेत्रमा गरिएको अध्ययन अनुसार बालीनालीलाई सबै भन्दा बढि नोक्सानी पुराउनेमा रातो बादर देखियो भने पहरे बाँदर त्यसभन्दा कम देखियो र हनुमान लंगुरबाट बालीनालीको नोक्सानी भएकाे एकदमै कम देखियो । आर. श्रेष्ठले शिवपुरी-नागर्जुन राष्ट्रिय निकञ्जमा गरेको अध्ययन अनुसार सबै भन्दाबढि क्षति पुराएकाे बालीहरुमा धान (६९%), मकै (५९%), अलैचीं (४४%), कोदो (२८%) र अन्य (१५.३%) पाइयो । धनकुटामा गरिएको सर्वेक्षण अनुुसार सबै भन्दा बढि क्षति भएको बालीमा मकै (२९%) र धान (१८%) भएको पाइयो भने अर्को अध्यायन अनुसार बाँदरबाट गरिएको क्षतिमा सबै भन्दा बढि क्षति मकै (४८%), फलफुल (१७%), धान (१२%), गहुँ (११%), आलु (४%), कोदो (३%), तोरी (३%), दालबाली (२%), जौ (०.५%) ।
दशरथचन्द नगरपालिका वडा नं. १० का पूर्व वडाध्यक्ष गगन सिंह भण्डारीका अनुसार भाताला गाउँका ३५ घरपरिवारले यस अगाडि नै बाँदरको समस्यासँग जुध्न नसकि गाउँ छोडिसकेका र २५ घरपरिवारले बसाई सर्न लागेको जानकारी दिनु भयो । वहाँ भन्नु हुन्छ ‘गाउँ सबै बाँदरले कब्जा गरिसक्यो ।’ विद्यालयका शिक्षक राजु लेखकका अनुसार, दशरथचन्द नगरपालिका वडा नं. ५ का ५१ घरमध्ये ३७ घर बाँदरको कारणले बसाई सरिसकेको अवस्था छ, बाकी रहेका १४ घर जेष्ठ नागरिकहरु मात्र रहेका छन् जो ”आफ्नो पुर्खाले आर्जेकाे घर जग्गा छोड्न हुन्न” भन्ने मान्यतामा रहेका छन्, तर उनीहरुका छोरा नातिहरु सबै बसाई सरी सकेका छन् । ७९ बर्षिय बिरपाल दमाईका अनुसार पहिले उत्पादन गरेको अन्न बेचिन्थ्यो तर अहिले किनेर ल्याएको अन्न पनि बचाउन धाैधाै भएको छ ।
त्यस्तै गरेर भोजपुर जिल्लाको बस्तिम, डालगाउँ, मानेभञ्ज्याङ्ग, खावा, कोट, गोगने, लेखर्क, बोकिम र ढोडलेखानीमा बाँदर आतंकको कारण धेरै खेतबारी बाझै रहेका छन् (रिपब्लिका नोभेम्बर २१, २०२३)।
माथि उल्लेखित समस्या प्रतिनिधीमुलक घटनाहरु मात्र हुन, बाँदर आतंकले नेपालका प्रायः सबै जिल्लाहरु अक्रान्त छन्, धेरै गाउँहरु यो समस्यासँग जुध्न नसकि खाली भइरहेका छन् ।
बाँदरबाट सिर्जित समस्या समाधान गर्न चाल्नु पर्ने कदमहरु
बाँदरबाट सिर्जित समस्यालाई समाधान गर्न बिभिन्न कालखण्डमा बिभिन्न प्रयासहरु नभएका हैनन्, जस्तैः टिन ठटाएर बाँदर भगाउने, कुकुर लगाएर लखेट्ने, बाँदर मारेर झुण्ड्याउने, बुच्याखा बनाएर बारीमा राख्ने, गुलेलीले हान्ने, रंगीचंगी कपडाहरु राख्ने, प्लास्टिकका बन्दुक पड्काउने, मोलासिस घाँस लगाउने आदि आदि । तर उपरोक्त उपायहरुबाट क्षणिक समाधान हुन सकेतापनि यसले दिर्घकालिन समाधान हुन नसकेको कुरा सर्वविदितै छ । त्यसैले निम्न उपायहरुलाई बाँदरबाट हुने समस्याबाट छुट्कारा पाउन, छलफलको लागि तल उल्लेख गरिएका छन्ः
क) जैविक विविधता संरक्षण र प्रवद्र्धनः सबै सामुदायिक वनका उपभोक्ता समितिका सदस्यहरुलाई राम्रा काष्ठहरु मात्र राख्नको लागि अन्य साना बुट्यान मास्ने प्रकृतिको कार्य गर्न रोक लगाई जैविक विविधता संरक्षण गर्ने र प्रवद्र्धन गर्ने, जसले गर्दा बाँदरले खाने वनस्पतिहरुको सुरक्षा हुन गई उनीहरुलाई धेरै समय जंगलमै खाने कुराको उपलब्धता गराउन सकिन्छ, कतिपय वनस्पतिहरु यस्ता हुन्छन् जसमा वाँदरहरु बस्न र खेल्न मनपराउछन्, जस्ता वनस्पतिको प्रवद्र्धन गर्नु पर्दछ ।
ख) जंगलका उत्पादनहरु संकलन गर्नमा पूर्ण वन्देजः मानिसहरुले आफ्नो रोजीरोटी जुटाउन तथा विक्रि गरेर आय आर्जन गर्न जंगलमा उत्पादन हुने फलफुलहरु जस्तैः तिजु, काफल, च्युरी, बयर, थाक्कल, आँप, मयल, डुम्री, जामुन, कोइराला, काभ्रो आदि त्यस्तै गरेर कन्दमुल जस्तैः गिठ्ठा, भ्याकुर, सिमल तरुल, तरुल, आदिको संकलन गरी बिक्रि बितरण गर्ने प्रचलन बढ्दो छ, यस प्रचलनलाई पूर्णत बन्देज गर्ने र यसको संरक्षण र प्रवद्र्धन गर्नु पर्दछ । यसो नगरेसम्म बाँदर वनमा खाने र रमाउने कुराको कल्पना गर्न सकिदैन ।
ग) जंगलमा जंगली फलफुल तथा कन्दमुल रोपण तथा प्रवद्र्धनः सामुदायिक वन, राष्ट्रिय वन तथा निकुञ्जहरुमा वाँदर तथा अन्य जंगली जनवारहरुलाई उपयुक्त हुने जंगली फलफुल तथा वनस्पतिहरु उपयुक्त स्थानहरुको पहिचान गरी रोपण तथा प्रवद्र्धन योजनावद्धढंगले गर्ने ।
घ) बाँदरको जनसंख्या घटाउनेः सामान्यतय वाँदरले जात अनुसार ४-६ महिनाको अन्तरमा बच्चा जन्माउने गर्दछ, रातो बाँदरको हकमा ५/५ महिनामा बच्चा जन्माउने गर्दछ, सामान्यतय एक पटकमा एउटा बच्चा जन्माउने गर्दछ । यदि बाँदरको भालेपोथी समातेर बन्ध्याकरण गर्न सकेमा पनि बाँदरको अनियन्त्रित संख्यालाई घटाउन सकिन्छ, जसले गर्दा वनजंगलमा उपलब्ध खाद्य पदार्थले सिमित बाँदरहरुलाई पर्याप्त खान पुग्न गै मानवखेतीमा कम नोक्सान हुने देखिन्छ । उदाहरणको लागि भारतको हिमाञ्चल प्रदेशमा १५ लाख बाँदरहरुलाई बन्ध्याकरण गरी बाँदरबाट हुने नोक्सानीलाई धेरै हदसम्म कम गरिएको थियो ।
ङ) खेती प्रणालीमा परिवर्तनः बाँदरले अक्सर मकै, धान, गहुँ, कोदो, फापर, फलफुल, तरकारीलाई हानी नोक्सानी पुराउने गर्दछ भने, त्यसको अलवा बाँदरले नखाने फलफुल जस्तैः कागती, निवुवा, मसलाबालीहरु जस्तैः खुर्सानी, अदुवा, बेसार, धनिया आदि खेती गर्न सकिन्छ, त्यस्तै गरेर पशुपालन व्यावसाय सञ्चालन गर्नको लागि डालेघाँस र भुइघाँस व्यापकरुपमा लगाइयो भने पनि आम्दानीको स्रोत पनि बढ्ने र वाँदरबाट हुने समस्याबाट पनि छुट्कारा पाउन सकिन्छ ।
च) खेतीपातीको लागि बारबन्देजः बाँदरलाई खेतीपातीमा जान नदिनको लागि बाँदर आउने दिशातर्फ भौगोलिक अवस्थिति अनुकुल बार बन्देज जस्तैः टिमुर, केतुकी, मन्की पज्जल ट्री (काँढा भएको रुख), मोलासिस घाँस, सिउडी आदि लगाउएर रोकथाम गर्न सकिन्छ, जसले बाँदर प्रवेश गर्नमा बाधा कठिनाई होस् ।
छ) ऐन कानून बनाउनेः बाँदरलाई कानूनी हिसावले मार्न र बिक्रि गर्न निषेध छ । नेपालमा राउटे जाती बाहेक अरुले बाँदरको मासु खाने गरेको पाइदैन । भनिन्छ नि ”समस्यालाई अवसरमा बदल्नु” यदि नेपाल सरकारले बाँदरलाई विदेश निर्यात गर्ने नीति तथा कानून बनायो भने हर नेपालीले यसलाई व्यावसायको रुपमा पालन गरी बिदेश निर्यात गर्न सक्नेछ, यसले एकातर्फ विदेशी मुद्रा आर्जन गर्न सक्नेछ भने अर्को तर्फ यसको संख्यामा नियन्त्रण हुन गई यसबाट प्राताडित जनताहरुले राहत पाउने छन् ।
ज) बादर प्रति धार्मिक आस्थाः नेपालीहरुले बाँदरलाई हनुमानको रुपमा हेर्ने गर्दछन्, त्यसैले धार्मिक हिसावले पनि मानिसहरु बाँदरलाई मार्दा पाप लाग्छ भन्ने विश्वास राख्दछन्, त्यसैले यसलाई आय आर्जनको लागि पाल्ने वा यसलाई विदेश निर्यात गर्ने भन्ने बिषय धार्मिक हिसावले उपयुक्त देखिदैन । त्यसैले नेपाल सरकारले लंगुर बाँदरलाई हनुमानको रुपमा मान्ने (निर्देशक – वन निर्देशनालय गण्डकी प्रदेश) र रातो बाँदरलाई विदेश निर्यात गर्न सक्ने स्षष्ट नीति तथा कानून बनाउन सकेमा यसले धार्मिक आस्थालाई पनि आँच आउन दिदैन र नेपालमा बाँदरको समस्याबाट आहत भई बसाई सर्न बाध्य नेपालीहरुलाई पनि राहत पुग्ने कुरामा दुइमत नहोला, बाँदरलाई चीनमा निर्यात गर्ने योजना श्रीलंका सरकारले पहल गरिसकेको छ ।





