बागलुङ/नेपाल एसबिआइ बैंक बागलुङ शाखाले कालीका भगवती मन्दिरलाई आर्थिक सहयोग गरेको छ । बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत दिपक कुमार देलेले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्कालाई २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
बैंकले सामाजिक उत्तरदायित्वअन्र्तगत मन्दिरमा सहयोग गरेको हो । वर्षेनी लाखौं भक्तजन आउने स्थान भएकोले उक्त रकमले यहाँ निर्माण गरिने संरचना, भक्तजनको व्यवस्थापन लगायतमा खर्च गर्ने गरी दिइएको बैंकले जानकारी दिएको छ । बैंकले दिएको रकमलाई समितिले आम्दानी बाँधेर यहाँको विकास निर्माणमा लगाइने अध्यक्ष खड्काले जानकारी दिए ।
यसैबीच, पर्वतको जलजला गाउँपालिका वडा नं. ८ नाङगलीवाङका गणेश रिजालले पनि कालीका मन्दिरमा २५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका छन् । रकम हस्तान्तरणका लागि नायव प्रमुख कार्यकारी अधिकृत राजेशकुमार पंडा, प्रमुख संचालक अधिकृत यादवेन्द्र कांत, प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत रितेश अर्याल लगायतका अधिकृतहरु कालीका मन्दिर आएका थिए ।
बैंकले सदरमुकाम बागलुङ बजारको लालीगुराँस चोकमा रहेको कार्यालय वडा नं. ३ को हल्लनचोकमा सारेको छ । पोखरा महानगरपालिका ८ को सभागृहचोकमा रहेको सृजनाचोक शाखा सोही स्थानमा रहेको परिसरमा स्थानान्तरण गरी दुवै शाखाले नयाँ परिसरबाट सेवा थालेका छन् ।





