बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

मंगलबार र बुधवार नेपालमा मनसुन सक्रिय हुने, ३ दर्जन जिल्ला ‘रेड जोन’ मा

मंगलबार र बुधवार नेपालमा मनसुन सक्रिय हुने, ३ दर्जन जिल्ला ‘रेड जोन’ मा


  • ढोरपाटन संवाददाता
  • साउन २१ २०८१, सोमबार

पोखरा/ मंगलबार र बुधबार (साउन २२ र २३ गते) नेपालमा मनसुन सक्रिय हुने र यसबाट ३ दर्जन जिल्ला अति प्रभावित हुने भएकाले ती जिल्लामा रेड अलर्ट जारी गरिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी प्रदेशका मुस्ताङ र मनाङ बाहेक म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपुर, लमजुङ र गोरखा जिल्ला पनि अति खतराको रेड जोनमा परेका छन् ।

यसैगरी कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, संखुवासभा र तेह्रथुम तथा बागमतीका रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट र दोलखा जिल्ला रेड जोनमा परेका छन् । लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासी पश्चिम, दाङ, बाँके, बर्दिया, प्युठान र अर्घाखाँची तथा सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी र बैतडी जिल्लालाई पनि रेड जोनमा राखिएको छ ।

मनसुन न्यून चापीय रेखा मंगलबारदेखि नेपाल नजिक सर्ने भएकाले दुई दिनसम्म देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तथा कर्णाली प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ ।

साथै बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना छ । यी दुई दिन भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले पूर्वसतर्कता अपनाउन महाशाखाले भनेको छ । ‘दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ,’ महाशाखाले आज निकालेको बुलेटिनमा भनिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->