बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

मणिद्विपको महायज्ञमा दर्शनार्थीको चाप बढ्दो

मणिद्विपको महायज्ञमा दर्शनार्थीको चाप बढ्दो


  • ढोरपाटन संवाददाता
  • साउन २१ २०८१, सोमबार
पोखरा / पाेखरा महानगरपालिका वडा नं १३ आर्वा मणिद्विपमा जारी महायज्ञमा भक्तजनको चाप बढ्दै गएका्े छ । यही साउन १४ गतेदेखि सुरु भई यही साउन २४ गतेसम्म जारी शिव महापुराण ज्ञान महायज्ञमा पं युवराज बरालको प्रमुख बाचकत्वमा कथा श्रवणसँगै नागेश्वर महादेवको पूजा आरधना भैरहेको छ । महायज्ञ समापनतर्फ गईरहँदा दैनिक भक्तजनको उपस्थिति बढ्दै गएको र हालसम्म करिब १० लाख रुपैयाँ सहयोग जुटेको नागेश्वर महादेव विकास समितिका अध्यक्ष विष्णुुप्रसाद बरालले जनाए ।
महायज्ञमा संकलित सहयोग मध्येबाट खर्च कटाएर बाँकी रकम यहाँको दीर्घकालीन सञ्चालन, आश्रम व्यवस्थापन आदिका लागि अक्षय कोष राख्ने योजना रहेको उनले बताए । किंवदन्ती अनुसार आर्वामा बस्ती स्थापना हुँदा गाउँको पूर्वमा मणिद्विप नागेश्वर महादेव स्थापना गरिएको थियो । स्थानीयवासीका अनुसार शक्तिशाली शक्तिपीठका रुपमा रहेको यस मन्दिरमा धेरैपटक नाग प्रकट भएको थियो । मन्दिरमा भक्तिपूर्वक पूजा गर्दा निःसन्तान दम्पतीलाई सन्तान प्राप्त भएकाले टाढाटाढाबाट दर्शनार्थी आउने गरेको स्थानीयवासी बताउँछन् । नागको दोषका कारण स्वास्थ्यलगायत समस्यामा परेका व्यक्ति पनि यहाँ आएर श्रद्धाभक्तिपूर्वक पूजाआजा गरेर फर्केपछि समस्याबाट मुक्त हुने विश्वास छ । प्राचीनकालदेखि नै सन्यासी बस्दै आएको यस स्थानको मन्दिर २०६२ सालमा समाजसेवी स्व.सूूर्यनाथ उपाध्याय बरालको अगुवाईमा पुनःनिर्माण गरिएको थियो । २०६३ सालमा हरिद्वारका महामण्डलेश्वरसहित विशिष्ट व्यक्तिको उपस्थितिमा मणिद्विपमा महायज्ञ गरी उक्त मन्दिरमा नर्मदा नदीबाट ल्याइएको शिलाको प्राण प्रतिष्ठा गरिएको थियो । प्रतिष्ठापनका बेला शिलामा लामो समयसम्म पसिना आएको स्थानीयवासीको भनाइ छ ।
त्यसयता मणिद्विपमा प्रत्येक वर्ष बालाचतुर्दशीका दिन मेला लाग्ने तथा शतबीज छर्ने प्रचलन छ । शिलाको प्राणप्रतिष्ठा भारतबाट आएका १००८ स्वामी बालसन्त महामण्डलेश्वर रामेश्वरजी महाराज, १००८ स्वामी सोमेश्वरजी महाराज, १००८ स्वामी विष्णुराजजी महाराज, १००८ स्वामी सुतिक्षण मुनीजी महाराजलगायत सन्तमहन्तले गर्नुभएको मन्दिरका संस्थापक अध्यक्ष धर्मराज बरालले बताए । मणिद्विपको ऐतिहासिक एवम् धार्मिक महत्वलाई उजागर गर्दै यस स्थललाई बहत् धार्मिक तीर्थस्थलका रुपमा विकास गर्नुुपर्ने उनले बताए । मणिद्विप प्राचीनकालदेखि नै अस्तित्वमा रहेको धार्मिक तीर्थस्थल भएको समाजसेवी शिरोमणि बरालको भनाइ छ । उनका अनुसार यस स्थलमा छ पुस्तादेखिका सन्यासीको समाधीस्थल समेत रहेको छ । यस स्थलमा बेद विद्याश्रम निर्माण लगायतका योजना समेत रहेको उनले बताए । मणिद्विपलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने सोच अनुसार डिपिआर तयार गरी अघि बढीएको पोखरा महानगरपालिका वडा नं १३ का वडा अध्यक्ष किरण बरालले सुनाए । आवश्यक भौतिक पूर्वाधारहरू डिपिआर मार्फत नै विकास गरिने उनको भनाई छ ।
मन्दिरको संरक्षक शिवनाथ गिरीजी महाराजको अगुवाईमा मणिद्विप परिसरमा एक हजार ५०० किलो तौलको विशाल महाकालीको मूर्ति सहितको मन्दिर, अष्ट चिरञ्जिीवी, हवन कुण्ड लगायतका संरचना निर्माण भैसकेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->