बागलुङ/बलेवा कालभैरव मन्दिरको पुननिर्माण, प्रचार प्रसार र प्रवद्र्धन गर्न ‘हरेलो मेला’ लाग्ने भएको छ । बागलुङ नगरपालिका–१२ अमलाचौरस्थित काल भैरव मन्दिर परिसरमा भदौको पहिलो मंगलबार ४ गते हरेलो मेला गर्न लागिएको हो ।
अघिल्ला वर्षहरुमा ऐतिहाँसिक मेलालाई निरन्तरता मात्रै दिइएको भएपनि यो वर्ष वर्षौं पुरानो मन्दिर पुननिर्माणको योजना बनाईएको छ । संघीय सरकारबाट २७ लाख, प्रदेश सरकारबाट १० लाख रुपैयाँ बजेटको व्यवस्थापन भैसकेपनि थप स्रोत जुटाउन मेला आयोजना गरिएको बलेवा कालभैरव मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकालले बताए । ‘स्वस्फुर्त हुने मेलालाई तीन वर्षदेखि समितिले व्यवस्थापन गर्दै आएको छ’, ढकालले भने, ‘मेलाको आम्दानीबाट मन्दिर पुननिर्माणको योजना बनाएका छौं ।’
मेलामा भजन, पञ्चेबाजा, तीज गीत लगायतको प्रस्तुती र छेलो फाल्ने प्रतियोगिता हुनेछ । विभिन्न झाँकी तथा कलाकारहरुको प्रस्तुति मेलामा रहने अध्यक्ष ढकालले बताए । मेला व्यवस्थापनका लागि विभिन्न उपसमिति गठन गरिएको छ । भैरवस्थान पुग्ने सडक, मन्दिर परिसर सरसफाई, सौचालय र खानेपानीको व्यवस्थापनको काम सुरु भैसकेका छन् ।
‘यो ऐतिहासिक मेला हो, हरेलो मेलालले भैरवस्थानको प्रचार प्रसार र धार्मिक पर्यटन विकासमा ठूलो अर्थ राख्ने छ’, समितिका कोषाध्यक्ष चन्द्रबहादुर खत्रीले भने, ‘परम्परालाई संस्थागत गर्न मेलाको महत्वपूर्ण स्थान हुन्छ ।’
मेला व्यवस्थापनका लागि गण्डकी सरकार र बागलुङ नगरपालिकाले तीन÷तीन लाख रुपैयाँ विनियोजन गरेका छन् । त्यसबाहेक बैंक तथा वित्तिय संस्था, व्यक्तिगत सहयोग र मेला स्थलमा स्टलको व्यवस्थापन गरेर स्रोत जुटाईने छ । मेलामा १३ लाख अम्दानी र १० लाख खर्च हुने अनुमान छ । मेलाबाट बच्ने रकमले अन्य स्रोत जुटाउने खर्चको व्यवस्थापन हुने भएकाले मन्दिर पुननिर्माणको लागि सहयोग संकलन गर्न सहज हुने उनले बताए ।
हरेलो मेलामा आउने पर्यटकले बागलुङकै पर्यटकीय घरबासको गाउँ भनेर चिनिने भकुण्डे, भ्यू टावर, मुलाबारी पर्यटकीय क्षेत्र नजिकैबाट अबलोकन गर्न सक्छन् । भैरवस्थान आउने पर्यटकलाई बलेवा क्षेत्रमा रहेका अन्य धार्मिक तथा पर्यटकीय क्षेत्रमा पु¥याउन पहल गरिने ढकाल बताउँछन् । बलेवा क्षेत्रमा संसारकै दोस्रो अग्लो बञ्जीजम्प, यान्त्रिक पुल, कालीगण्डकीमाथी बनेका अग्ला र लामा पुल तथा जैमिनी धाम, गाजाको दहक्षेत्र र हाँडिकोटलाई समेत जोड्न सकिन्छ । विमानस्थल बलेवामा पर्ने र सहरको समीश्रण जस्तै रहेको बलेवाका बस्तीहरु समेत जिल्ला बाहिरबाट आउने पर्यटकका लागि आकर्षक गन्तव्य भएको बागलुङ नगरपालिका १२ का निवर्तमान वडा अध्यक्ष गुरुदत्त पाठक बताउँछन् ।
बाइसे–चौबीसे राजाका पालादेखि बलेवा कोटअन्तर्गतका सबै क्षेत्रमा भदौको पहिलो मंगलबार हरेलो पर्व मनाउने चलन छ । खेतीपाती सकेपछि कीरा–फट्यांग्रा र बाढीपहिरो नलागोस् भनेर यो पर्व मनाउने चलन रहेको पैयुँपाटाका भवानीप्रसाद रिजालले बताए । ‘बलेवामा न्वाइखाने, पुली लिने, हरेलो गर्नेजस्ता अनौठा चलन छन्, यी प्रचलन पुराना हुन्’ रिजालले भने, ‘हाम्रो संस्कार र संस्कृति झल्किने यस्ता पर्वहरुको प्रबद्र्धन आवश्यक छ ।’
यो पर्वको अवसरमा कालभैरवको पूजाआजा र प्रार्थना गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास छ । दसैंको नवमी र हरेलोको दिन कालभैरवमा धेरै भीड लाग्ने गरेको बानपा १२ अमलाचौरका वडाध्यक्ष कोपिलामणी शर्माले बताए । बलेवा कालभैरव प्रसिद्ध तीर्थस्थल हो । कालभैरवलाई पशुबलीसँगै नरिवल र फलफूल चढाउने चलन छ ।
कालभैरवमा बली दिँदा घरपरिवारको दुःख नाश हुने र सुख शान्ति प्राप्त हुने विश्वासले आउने गरेको पर्वतको फलेवास नगरपालिका ५ की गीता पौडेलले बताइन् । पछिल्लो समय पशुबलीको तुलनामा फलफूल चढाउने संस्कृति विकास हुँदै गएको छ । तर, पशुबली दिने चलन पनि अन्त्य भइनसकेको स्थानीय नन्दप्रसाद घिमिरेले बताए । कालभैरवमा पर्वत, म्याग्दी, स्याङ्जा, पाल्पा, नवलपुर, कास्की, तनहुँ, लमजुङ र ५ नम्बर प्रदेशका गुल्मी, प्युठान, अर्घाखाँची र काठमाडौं तथा चितवनबाट दर्शनार्थी आउने गरेका छन् ।





