काठमाडौं / सेयर बजारमा मंगलबार उच्च गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज बजारको परिसूचक नेप्से १४५ अंक अर्थात् ५.१८ प्रतिशतले घटेको हो । सो गिरावटपछि नेप्से २६५१ अंकमा कायम भएको छ ।
सेयर बजार उच्च अंकमा घटेकै दिन कारोबार रकमले भने नयाँ रेकर्ड बनाएको छ । आज २३ अर्ब ७१ करोडको कारोबार भएको छ । यसअघि गत बुधबार २१ अर्ब ९१ करोडको उच्च रेकर्ड बनेको थियो । आजको कारोबार रकम नेप्सेको इतिहासकै उच्च हो ।
आज नेप्सेका १३ उपसमूहकै सूचकमा गिरावट आएको छ । वित्त, होटेल तथा पर्यटन आठ प्रतिशतभन्दा धेरैले घटेको छ भने लगानी र जीवन बिमा ६ प्रतिशतभन्दा धेरैले गिरावट भएको छ।
यसैगरी, बैंक, विकास बैंक, निर्जीवन बिमा र व्यापार उपसमूह पाँच प्रतिशतभन्दा धेरैले घट्दा हाइड्रोपावर र उत्पादन तथा प्रशोधन साढे चार प्रतिशतभन्दा धेरैले घटेका छन्।
आज २३३ कम्पनीको सेयर मूल्य ओरालो लाग्दा आठ कम्पनीको मूल्य मात्रै बढेको छ। उच्च अंकले घटेको बजारमा थ्री स्टार हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा कुथेली बुखारी स्मल हाइड्रोपावर ९.९७ प्रतिशतले बढेको छ। तर, आज आठ कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।





