बागलुङ/सडक निर्माणसँगै सुरु भएको पहिरो निरन्तर बगेपछि यहाँको एक बस्तीनै जोखिममा परेको छ । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराको झब्रिखेत भन्ने बस्ती पहिरोको जोखिममा परेको हो ।
कुश्मीशेरा बजारबाट प्राथमिक स्वास्थ्यकेन्द्र कुश्मीशेराहुँदै बलेवा अमलाचौर जोड्ने सडक बिस्तारको क्रममा पहिरो सुरु भएको थियो । बस्तीभन्दा तल्लो भागमा सडकको ट्रयाक खुलाउने बेला लगाईएको तारजाली सडक विस्तारका क्रममा हटाईदिएपछि पहिरो सुरु भएको स्थानीय दिपक पौडेलले बताए ।
हरेक वर्षातको समयमा निरन्तर बग्ने पहिरो यो वर्ष पौडेलको घरआँगनमै पुगेको छ । पहिरोका कारण ठुलो वर्षा हुँदा पौडेल परिवार घर छोडेर हिँड्ने गरेको छ । पहिरोका कारण पौडेल परिवार विस्थापित भैसकेको छभने स्थानीय रेशमलाल आचार्य, राजेन्द्र आचार्य लगायतका घरहरु जोखिममा परेको उनले बताए ।
‘जमिन मुनीबाट वर्षाको समयमा पानी बगिरहन्छ, यसरी नै पहिरो बढ्यो भने सबै गाउँ सखाप पार्छ’ उनले भने, ‘अझै माथी पुगेपछि अग्ला कान्लाहरु छन्, धमाधम भत्किने सम्भावना छ ।’ सडक विस्तार गर्दा पक्कि संरचना निर्माण नगरेसम्म ट्रयाक खोल्ने बेला लगाएको तारजाली नहटाउन आग्रह गर्दा पनि प्राबिधिकले नमानेका कारण पहिरोले विस्थापित बनाएको उनले गुनासो गरे ।
पहिरोले बेला बेलामा प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरा जाने सडक समेत अबरुद्ध गर्ने गरेको छ । पहिरो नियन्त्रणका लागि सरोकारवाला कसैले ध्यान नदिएको उनले गुनासो गरे ।





