बागलुङ/डेढ वर्षअघि घाँस काट्न जाँदा मृत्यु भएकी छोरीको कारण खोज्दै ढोरपाटनका बाबु सदरमुकामस्थित प्रहरीमा धाउन थालेका छन् । उनले आफ्नी छोरीको मृत्यु शंकास्पद भएको पनि बताए ।
ढोरपाटन नगरपालिका वडा नं. ८ का झमरसिंह कामीकी माइली छोरी बिपनाको २०७९ चैत २८ गते मृत्यु भएको थियो । घरबाट घाँस काट्न ५ जना छिमेकी दिदीबहिनीसँग गएकी उनको दुइ घण्टापछि झुण्डीएको शव भेटिएको थियो ।
कसरी छोरीको मृत्यु भयो भन्ने खोजी हुनुभन्दा प्रहरीले आत्महत्या भएको भनिदिंदा उनी शान्त हुन सकेका छैनन् । कामीले छोरीको शवलाई पोखरा लगेर पोष्टमार्टम गर्न खोज्दा नदिइ बुर्तिवाङमा गराइएको थियो । त्यसपछि प्रहरीले एउटा कागजको लिखित सुनाएर अर्कोमा हस्ताक्षर गराएको उनको गुनासो छ ।
‘म पढ्न लेख्न जान्दिन, एउटा कुरा सुनाएर अर्कोमा हस्ताक्षर गराएका छन्’ कामीले भने, ‘छोरीको हत्या गर्नेलाई उम्काउन खोजियो ।’ उनले किटानी जाहेरी दिएका व्यक्तिले अहिले पनि गाउँमा धम्की दिएको बताए । किटानी दिएकै व्यक्तिलाई मुद्दा चलाउने आश्वासन पाएका बिक घर फर्केर छोरीको दाहसंस्कार गरेपछि लगातार प्रहरीमा धाउन थालेका छन् । तर छोरीको मृत्युबारे प्रहरीले वास्ता गर्न छाडेको हो ।
मृत भेटिएकी छोरीको कसरी ज्यान गयो भन्ने उनी जान्न चाहन्छन् । तर, अहिले बिकलाई न पोष्टमार्टमको रिपोर्ट दिइयो, न किटानी परेकालाई मुद्दा चलाइयो । उक्त घटना भएको १५ महिना पुगिसकेको छ । तर, बाबुआमाले छोरीको मृत्युबारे सत्य जान्न नपाएको बताए । कामीका अनुसार आफ्नै घरका दुइ छोरीसँगै छिमेकी ५ जना जंगल गएकोमा माइली मात्र नफर्केपछि तत्काल खोजी गरेका थिए । बाटोमा पुगेपछि घरका दुइ छोरी दुइ समूह बनाएर जंगल छिरेका थिए । तीन जना गएको टोली सकुशल फर्कियो भने कामीकी माइली छोरी बिपनासँगै छिमेकी अर्की युवती गएकी थिइन् । उनी एक्लै फर्केपछि मात्र बिपनाको खोजी भएको हो ।
सँगै गएकी युवतीले कामीलाई दुइ पटकसम्म झुक्याएर कहिले आएकी छैन भनेको र कहिले आइसकेर नुहाउन गएकी छे भनेको उनले बताए । झुटो कुरा दिएकोले उनैले छोरीको हत्या भएको कामीले अनुमान लगाएका छन् । ३ जना फर्कंदा जोठी छोरी घर आइसकेकी थिइन् । दुइजना मध्येकी एक फर्केकी तर अर्की नफर्केकीले घटना शंकास्पद भएको हो ।
रुखमा झुण्डीएको विपनाको शवदेखि वरिपरि उनको चप्पल, पैसा र कपाल बाँध्ने रबर समेत छरिएको अवस्थामा भेटेको प्रहरीले घटनास्थल मुचुल्का बनाएको थियो । उक्त मुचुल्का अनुसार प्रहरीले जाहेरी लेखिदिएको भन्दै पढेर पनि सुनाइएको बिक बताउँछन् । तर, पढेको कागजमा नभई अर्कैमा बिकको हस्ताक्षर गराइएको भेटिएको छ । संयोगले बिकले हस्ताक्षर नगरेको कागज पनि सुरक्षित राखेका छन् ।
पटक पटक सदरमुकाम आउँदा १० देखि १५ हजार खर्चेको उनले गुनासो गरे । तरपनि मुद्दा अगाडी नबढेको गुनासो छ । प्रहरी उपरीक्षक ऋषिराम कंडेलले धेरै पहिलाको कुरा भएकोले बुझ्न लागेको बताए । ‘इन्स्पेक्टरको नेतृत्वमा छानविन समिति बनाएको छु, त्यो समितिले केही ल्याउला’ उनले भने, ‘आवस्यक कागजातको परीक्षण पनि हुनेछ ।’ कामीले किटानी जाहेरी दिएकालाई प्रहरीले बुटवल पठाइदिएको र एक वर्षपछि फर्केर पुनः धम्की दिन थालेको बताए । ती युवतीले कामीको अर्को छोरी पनि मारिदिन्छु भनेको उनको गुनासो छ । त्यसपछि मात्र उनी प्रहरीमा निरन्तर आउन थालका हुन् ।





