पोखरा/ कास्कीको मादी गाउँपालिका २ नम्बर वडा कार्यालयले सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । सुशासन प्रवद्र्धन अन्तरगत वडा कार्यालयले प्रवाह गरेका सेवाबारे जनतालाई जानकारी दिने तथा जनताका गुनासा सुन्ने उद्देश्यले विहीवार सार्वजनिक सुनुवाई सम्पन्न गरिएको वडा अध्यक्ष भोजबहादुर गुरुङ्ले बताए ।
कार्यक्रममा वडा समिति, टोल विकास संस्था, वडाका सामुदायिक संघसंस्थाका प्रतिनिधिका साथै वडाबासीको उपस्थिति रहेको थियो । कार्यक्रममा वडाध्यक्ष गुरुङले वडाले प्रवाह गरेका सेवा सुविधाका बारेमा उपस्थित प्रतिनिधि तथा सर्वसाधारणलाई जानकारी गराएका थिए ।सार्वजनिक सुनुवाई कार्यक्रमका प्रमुख अतिथि मादी गाउँपालिकाका उप प्रमुख कल्पना गुरुङले वडा कार्यालयले गर्ने सार्वजनिक सुनुवाई कार्यक्रमले गाउँपालिकाकै सुशासन प्रवद्र्धन हुने विश्वास व्यक्त गरिन् । उनले २ नम्बर वडा जस्तै अन्य वडाले पनि सार्वजनिक सुनुवाई गरेर आफुले गरेका कामको बारेमा सरोकारवालाहरुलाई जानकारी दिनुपर्नेमा जोड दिईन् ।
कार्यक्रममा वडा सदस्य दिलबहादुर गुरुङले वडा भनेको जनताको सबैभन्दा नजिकको सरकार भएकोले जनताले अनुभुति गर्ने गरी काम गर्नुपर्नेमा जोड दिए । अहिलेसम्मका वडा कार्यालयको सेवा प्रवाह सन्तोषजनक रहेको बताउँदै गुरुङले आगामी दिनहरुमा पनि जनताको जीवनशैलीमा परिवर्तन गर्ने खालका कार्यक्रमहरु ल्याउनुपर्ने सुझाव दिए । सार्वजनिक सुनुवाई कार्यक्रमममा वडा सदस्य पुर्णसुब्बा गुरुङले आफुहरुले सकेसम्मको सेवा वडाबासीलाई दिईएको दावी गरिन् । उनले जुनसुकै समयमा पनि आफुहरु वडाबासीको सेवामा तत्पर रहने प्रतिवद्धता व्यक्त गरिन् । कार्यक्रमको सञ्चालन वडा सचिव बसन्त थापा मगरले गरेका थिए ।
सेवा प्रवाहवारे जानकारी गराउने क्रममा वडाध्यक्ष गुरुङ्ले मादी गाउँपालिकाबाट १ करोड ३६ लाख र गण्डकी प्रदेश सरकारबाट १५ लाख गरि जम्मा १ करोड ५१ लाख रकम विभिन्न योजना तथा कार्यक्रम गरि रकम विनियोजन भएकोमा गत आर्थिक वर्ष मादी–२ ले योजना तथा कार्यक्रम शतप्रतिशत कार्यान्वयन गर्नमा सफल भएको दावी गरेका थिए ।





