बागलुङ/कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय बागलुङ देशभरमै तेस्रो बनेको छ । गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयबिच भएको कार्यसम्पादन सम्झौता बमोजिम उत्कृष्ट कार्यमा बागलुङ तेस्रो भएको हो ।
देशभरका ७७ जिल्लामा जिल्ला प्रशासन कार्यालय रुपन्देही देशकै उत्कृष्ट बनेको छ । गृह मन्त्रालयका सचिव र प्रमुख जिल्ला अधिकारीबिच आर्थिक वर्ष २०८०÷०८१ मा भएको कार्यसम्पादन सम्झौता मूल्याङ्कनमा ७७ जिल्लामध्ये जिल्ला प्रशासन कार्यालय रुपन्देहीले ९८ अंकसहित पहिलो स्थान हासिल गरेको छ ।
त्यसैगरी ९७ दशमलव ७५ अंक ल्याई पाल्पा जिल्ला प्रशासन दोस्रो भएको छ भने तेस्रोमा बागलुङ आएको छ । बागलुङले ९७ दशमलव ६२ अंक प्राप्त गरेको छ । त्यस्तै चौथो स्थानमा पश्चिम रुकुम जिल्ला प्रशासन कार्यालयले ९७ दशमलव ५ ल्याएको छ ।
पाँचौँमा मकवानपुर र पर्वतले ९७ दशमलव ३७ अंक ल्याएका छन् । पहिलो, दोस्रो, तेस्रो र चौथो चौमासिक रूपमा गरिने मूल्याङ्कनमा बागलुङले तेस्रो स्थान प्राप्त गर्न सफल भएको बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदी प्रयासले बताए ।
कार्यसम्पादन मुल्याङ्कन गर्दा मुल्यांकन गर्दा ६ वटा विषयगत क्षेत्र शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, लागु औषध नियन्त्रण, विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन, विकास निर्माण अनुगमन र समन्वय, सदाचार र आर्थिक अनुशासनलाई आधार बनाइएको बागलुङका प्रमुख जिल्ला अधिकारी सुवेदीले बताए ।





