बागलुङ/बडिगाड गाउँपालिका वडा नं. ९ र १० मा खसेको पहिरोमा मृत्यु हुनेको संख्या ११ पुगेको छ । बिहिबार दुई जना, बुधबार १ र मंगलबार ८ गरी ११ जनाको शव पहिरोबाट निकालिएको प्रहरी उपरीक्षक ऋषिराम कंडेलले जानकारी दिए ।
अबिरल बर्षातका कारण बागलुङको बडिगाडमा वडा नं. ९ को बलघास र वडा नं. १० को आरुपाटामा पहिरो खसेको थियो । घटनामा अझै ११ वर्षका एक बालक बेपत्ता छन् । बिहिबार दिउँसो ७ वर्षिय मधु बुढा र १० वर्षियका मनोज बुढाको शव घटनास्थलबाट उत्खनन् गरेर निकालिएको थियो ।
तीन दिनदेखि घटनास्थलमा खोजीकार्य भैरहेको छ । बडिगाड गाउँपालिका वडा नं. १० आरुपाटामा खसेको पहिरोमा स्थानीय जोगबहादुर बुढाको घरसहित ३ वटा र वडा नं. ९ को बलघासमा २ गरी ५ घर भत्केका छन् । उक्त घटनामा घरधनी बुढासहित उनका परिवार र आश्रय लिन आएका छिमेकीको पनि मृत्यु भएको हो ।
मंगलबार पुगेको टोलीले खोजी गर्न नसकेपछि बुधबार नेपाली सेनाको श्रीमेहर गण, सशष्त्र प्रहरी बल र प्रहरीको थप टोली अझै घटनास्थलमा परिचालन भैरहेको छ । पहिरोमा गम्भिर घाइतेमध्ये ३ जनालाई उपचारका लािग काठमाण्डौं पठाइएको छ । एक जनालाई पोखरास्थित मणिपाल अस्पताल र बाँकी ९ जनाको बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भएको हो । सामान्य घाइतेहरुलाई स्थानीय स्वास्थ्यकर्मीले घटनास्थलमै उपचार गरेपछि छिमेकीको सुरक्षित घरमा सरेका छन् ।
मृतकहरुको बुधबार र बिहिबार घटनास्थलमै पुगेर पोष्टमार्टम गरिएको छ । धौलागिरि अस्पतालबाट मेडिकल अफिसर डा. छितिज रिजाल नेतृत्व टोलीले पोष्टमार्टम गरेको हो । गाउँपालिका, प्रहरी, प्रशासन र सबै सुरक्षा निकायले घटनास्थलमा पुगेर मृतकका परिवारलाई सान्त्वना दिइरहेका छ् । साथै, उनीहरुलाई तत्कालका लागि खाद्यान्न र भाँडाकुँडाको व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले जानकारी दिए । ‘अहिले दिएको सामाग्री पीडितलाई पुग्दैन, मिलेर प्रयोग गर्ने हो’ सुवेदीले भने, ‘केही दिनमा गृहको राहतसहित नगद रकम पनि आइपुग्ने र सबैलाई पुग्ने गरी बितरण हुने छ ।’ उनले बलघासका अधिकांस बासिन्दा त्रासमा रहेकोले जनप्रतिनिधिमार्फत सान्त्वना दिएर बस्न लगाइएको बताए ।
अहिलेसम्म प्रहरीको प्रारम्भिक बिवरणमा ५ घर पूर्ण रुपमा क्षति भएका छन् भने ४० घर चिरिएका छन् । ती घरमा बस्न नसकेकाहरुलाई सुरक्षित मानिएका घरहरुमा बस्न लगाइएको छ । ‘अवस्था भयाबह छ, पानी नपर्दा त सामान्य जस्तो लाग्छ, पानी पर्नासाथ झन् खतरा छ’ सुवेदीले भने, ‘तत्काल सबैलाई अन्यत्र पुनस्थापना गर्ने काम चुनौतीको हो ।’ केही दिनसम्म अझै प्रहरी, प्रशासनले उनीहरुको दैनिकीमा साथ दिने उनले बताए । समस्यामा परेकाहरुलाइ नजिकका विद्यालयका कोठामा पनि बस्न लगाइएको हो । सुरक्षित मानिएका विद्यालयमा तत्काल पढाइ रोकेर भएपनि आश्रयस्थल बनाउने उनले बताए ।





