पोखरा/सम्भवतः पोखरा सबैभन्दा धेरै नागको थान भएको ठाउँ हो । नागढुंगा आफैमा परिचित छ । तर, धेरैलाई थाहा नहुन सक्छ नाग पोखरीमा बस्छन् । पोखरा महानगरपालिका वडा नम्बर १३ कुँडहरमा एउटा पोखरी छ त्यो हो कमल पोखरी । रामसारमा समेत सुचिकृत पोखरीमा नाग बस्छन् । भूगोलको हिसाबले निकै सानो रहेको पोखरीमा अहिलेपनि कमलका फुलहरु देख्न पाइन्छ । त्यही पोखरीको बीचमा नागको प्रतिमा छ जहाँ हरेक वर्षको नागपञ्चमीमा ठूलो पूजा हुनेगर्दछ । यसैले पनि आजका दिन यो क्षेत्रका लागि विशेष छ । नाग पोखरी बस्छ भने झै अहिले त्यहाँ नाग देखिदैन छिटपुट रुपमा सर्पहरु देखिन्छन् तर, नाग छ भन्ने त्यहाँ सबैलाई विश्वास छ । पहिला पहिला नाग सहजै देख्न पाइन्थ्यो । बढ्दो सहरीकरणसँगै पोखरी अतिक्रमणमा पर्दै जाँदा पोखरीको क्षेत्रफल पनि घट्दै गएको छ । तर, अतिक्रमणको चपेटामा परेको त्यो पोखरी र नागको संरक्षणमा भने दलित समुदाय छन् । सुन्दा अचम्म लाग्ला हिन्दु धर्मावलम्बीहरुले हरेक नागपञ्चमीमा पूजा गर्न जानेको भीड हुने कमल पोखरीमा पुजारी समेत दलित हुन् ।
कास्कीको माछापुच्छ्रे गाउँपालिकामा केही दिनअघि मात्रै जातीय विभेदसँगै रातमा घरमै पुगी कुटपिट भयो । घटनालाई थम्थमाउन पूर्व आइजिपी देखी गाउँपालिकासम्म कै शक्ति लगाइयो तर, पीडित परिवारले मानेनन् र मुद्धा हाले । समाजमा अझैपनि जातीय विभेदका घटना घटिरहेका छन् । कतै विभेद छ त, कतै अपमान तर, पोखरा महानगरपालिका १३ कुँडहरमा भने फरक छ । नाग र कमलको फूलका कारण छुट्टै गरिमा र महत्व बोकेको कमलपोखरीको संरक्षणमात्र होइन समाजको नयाँ अनुहार समेत देख्न पाइन्छ । ढकमक्क कमलका फूलले ढाकिनुका साथै यहाँ नागको बासस्थान रहेको छ ।
तीन दशकदेखी दलितको संरक्षणमा रहेको पोखरीमा ठूलो नाग पूजा हुनु सामान्य होइन् । त्यहाँ कमलापोखरी संरक्षण समिति छ । समितिले नै पोखरीको संरक्षण गर्छ र नेतृत्व छ केशबहादुर विश्वकर्माको । मन्दिरको पूजारी पनि दलित समुदायकै उज्वल विक छन् । उनले नियमित पूजाआजा गर्दै आएका छन ।
विश्वकर्माका अनुसार कमलपोखरी अतिक्रमणको चपेटाबाट जोगाउँदा सानो भूभागमा बनेको छ । नागपञ्चमीका दिन विशेष मेला झै हुने त्यहाँ कुनै छुवाछुत छैन, एउटा सभ्य समाजको परिचय बोकेको छ कमलपोखरीले । पछिल्ला वर्षमा ताल अवलोकनका लागि पोखरा र आसपासका क्षेत्रबाट आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको बताउँदै यसको संरक्षण र विकासमा राज्यको ध्यान पुग्नु जरुरी रहेको उनी सुनाउछन् । यो भन्दैमा राज्यले केही नगरेको होइन त्यहाँ बजेट छुट्याएर संरक्षणका लागि थोरै भएपनि काम गरिरहेको छ । धार्मिकमात्रै होइन त्यहाँ धेरैको अस्तित्व जोडिएको छ । पाहुना चराका लागि समेत त्यो बासस्थान बनेको छ ।
अध्यक्ष विश्वकर्माका अनुसार कमलपोखरी तालको क्षेत्रफल सुरुमा ३८ रोपनी भए पनि पछिल्ला वर्षमा अतिक्रमणको सिकार बनेकाले यसको क्षेत्रफल ३२ रोपनी मात्र छ । ‘यसलाई संरक्षण गर्दै आइरहेका त छौं तर धेरै काम गर्नुपर्नेछ । अब राज्यले पनि यसलाई ध्यान दिन आवश्यक छ’ विश्वकर्माले भने, ‘यहाँ रिङरोड बनाउने र आकर्षण पर्यटकीय गन्तव्य बनाउने योजना समेत छ ।’
दलित समुदायकै अगुवाइमा पोखरीलाई अतिक्रमबाट जोगाउन तारबार समेत लगाइएको छ । संरक्षणका लागि रकम अभाव छ, हालसम्म चन्दा उठाएरै संरक्षण गरिएको छ । विसं २०४५ देखि नै यहाँका स्थानीयल सङ्गठित भइ तालको संरक्षण गर्दै आएकामा विसं २०५१ देखि ‘कमलपोखरी आमा समूह’दर्तागरी औपचारिकरुपमा ताल संरक्षणका साथै यसको विकासका क्षेत्रमा पहल थालिएको हो ।
०६४ सालमा गठित कमलपोखरी संरक्षण समितिको पहलमा तालको संरक्षण एवं प्रवर्द्धनका क्षेत्रमा काम गर्दै आइरहेको छ । चार दशक अघिसम्म बुडुवा तालका नामले परिचित थियो । प्राचीनकालमा ताल रहेको क्षेत्रमा पानीसँगै झारले ढाकिएको थियो । छ दश अघिसम्म पर्याप्त माछा पाइने यस स्थानमा गौँडाको मुखमा बस्ने मति पोडे, उनका छोरा गोथे पोडे र नाति इन्द्र पोडेले यहाँ माछा मार्ने गरेका थिए । तत्कालीन मुखिया भीमप्रसाद आचार्यलले पोडे परिवारलाई वार्षिक रू तीन रुपैयाँ एक महोेर लिएर माछा मार्नका लागि स्वीकृति दिएको कथा छ । पोखरीका बीचमा नागको मूर्तिसँगै परिसरमा राधाकृष्ण, गणेश, नाग र बाबा विश्कर्माको मन्दिर तथा दुई वटा पाटीले यहाँको सौन्दर्य थप बढाएका छन् ।
पोखरा महानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष किरण बरालले कमलपोखरीको संरक्षण भएको र हरेक वर्षको नागपञ्चमीमा नागपूजाको मेला लाग्ने गरेको सुनाउछन् । विभेद भन्दापनि समाजमा सबै मिलेर बसे असल र कुशल समाज बन्ने उनको तर्क छ । वडा नम्बर १३ मा मुस्लिम समुदायको समेत बाक्लो बस्ती रहेको छ । सबैसँग भाइचाराको सम्बन्ध रहेको र त्यहाँ परम्पराअनुसार पूजा हुँदै आइरहेको उनी बताउँछन् । वडाले कमलपोखरीको प्रबद्र्धनका लागि महानगरपालिकालाई ताकेता गरेपनि सोचे अनुरुपको बजेट अहिलेसम्म आउन नसकेको उनले बताए ।





