बागलुङ/असार मसान्तमा सकिएका काम अब मंसिर अघि शुरु हुने छाँट छैन । तर, आगामी असार मसान्त सम्ममा सक्ने गरी ठेक्का लागेका ३ वटा सडकमा भने झरीको बेला पनि काम भैरहेको छ ।
बागलुङका ३ वटा सडकको काम सक्ने जिम्मा पाएको आशिष फेवा संयुक्त निर्माण कम्पनीले बर्षातमै कामको गति देखाएको छ । बागलुङ नगरपालिका वडा नं. ७ को मुलपानीदेखि हर्राचौरहुँदै कालीमाटी, वडा नं. १ को गणेश घुम्तीदेखि निरयघाट र ओडारचौरदेखि ढोडेनी जाने सडकमा धमाधम काम शुरु भएको हो ।
बागलुङ नगरपालिकाले सहरी शासकीय तथा पूर्वाधार विकास कार्यक्रममार्फत आगामी असार मसान्तभित्रै सक्ने गरी कम्पनीसँग कामको सम्झौता गरेको थियो । विश्व बैंकको अनुदान सहयोगमा बागलुङ नगरपालिकाले वडा नं. ७ को मुलपानीदेखि तितौरे सम्मको साँढे ८ किमी, ओडारचौरदेखि ढोडेनी सम्मको साँढे २ किमी र गणेश घुम्तीदेखि निरयघाटको डेढ किमी सडक कालोपत्रे गरिने भएको हो ।
यसअघिका कतिपय काम समयमा नसकेको आरोप लाग्दै आएको कम्पनीले यो काममा भने अग्रसरता देखाएको हो । तर पनि नगरपालिकाका प्राविधिकले समयमा काम सक्नेमा अझै शंका व्यक्त गरेका छन् । ‘काम त गरेकै छ, तर चौडा पार्ने, बेस राखेर कालोपत्रेसम्म सक्ने कुरा हो, अहिले नै यसै भन्न सकिंदैन’ एक इन्जिनियरले भने, ‘समयमा काम नसकेमा विश्वबैंकबाट भुक्तानी लिन गाह्रो छ ।’ कामले गति लिएकोमा भने सबैको चासो बढेको उनले बताए ।
कम्पनीका प्रतिनिधि रविन्द्र कार्कीले समयमै काम सक्ने लक्ष्य बनाएको जानकारी दिए । उनले अन्यत्रको काम छाडेर भएपनि यो काम समयमा सक्ने योजना सुनाए । नगर गौरवको आयोजना भएकोले जनप्रतिनिधिको पनि यो चासोको योजना हो । यसअघि नै ट्रयाक खुलीसकेकोले यो सडकले ग्रामीण क्षेत्रका किसानको उत्पादन बजारसम्म ल्याउन सहयोग पुग्ने बताइएको छ । नगरप्रमुख बसन्तकुमार श्रेष्ठले यो सडक समयमा सक्न ताकेता गरिने जानकारी दिएका छन् ।
यो सडक पुरा भएपछि वडा नं. १ देखि ७ सम्मको भूगोलमा नगरबस संचालन गर्ने लक्ष्य छ । तीन वटामध्ये गणेश घुम्तीदेखि निरयघाट र ओडारचौरदेखि ढोडेनी सडकले किसान र अन्य नागरिकलाई बढी फाइदा दिनेछ । हाल निरयघाटमा निर्माणाधिन मानवसेवा आश्रमका लागि पनि यो सडक पक्की हुँदा धेरै फाइदा पुग्ने वडा नं. १ का अध्यक्ष जयबहादुर खत्रीले बताए । ढोडेनीतर्फको सडक बनिसक्दा किसानले तरकारी सहजै ल्याउन सक्छन् । कालीगण्डकी नदीमा पुल बनाउन सकेमा बेनीदेखि बागलुङ आउन पनि सहज र झण्डै ७ किमी छोटो सडक हुनेछ ।





