मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

पहिरो पीडितको आश्रयस्थल बन्यो विद्यालय

पहिरो पीडितको आश्रयस्थल बन्यो विद्यालय

गाउँपालिका र वडाको व्यवस्थापनमा उनीहरुलाई विद्यालय र सुरक्षित घरमा राखिएको वडाध्यक्ष विरेन्द्र बुढाले जनाकारी दिए ।


  • अनिष पाठक
  • साउन २७ २०८१, आइतबार

खर्वाङ (बागलुङ)/गत मंगलबार बिहानैदेखि निरन्तर वर्षा भैरहेको थियो । बडिगाड गाउँपालिका १० आरुपाटा आसपासका खहरे उर्लिएका थिए । गाउँमाथी केही जमिन भाँसिए जस्तो थियो । काम विशेषले बुर्तिबाङ बजार हिँडेका खहरे पार गर्ने आँट गर्न सकेनन् । गाउँका अन्य घरका वृद्धवृद्धा र बालबालिका पनि ज्यान जोगाउन घर छोडे ।
मंगलबार बिहानैदेखि झरीले बडीगाडका विभिन्न ठाउँमा पहिरो खसिरहेको थियो । आरुपाटाको खहरेले आसपासका घरलाई पनि तान्न सक्ने त्रास गाउँलेमा बढेको थियो । वडा नं. १० कै निगलपानी गाउँबाट बुर्तिबाङ हिँडेकाहरु पनि तर्ने स्थिती नदेखिएपछि अलि सुरक्षित घर ठानेर आरुपाटाका जोगबहादुर बुढाको घरमा ओत लागेर बसेका थिए । खोलाको आडमै रहेका छिमेकी पनि सुरक्षित ठानेर त्यहीं घरमा बसे । बुर्तिबाङ हिँडेका र छिमेकीसमेत गरी जोगबहादुरको घर र गोठमा गरी करिब २० जनाले शरण लिइरहेकै घर पहिरोले बगायो । ११ जनाले ज्यान गुमाए । १० घाईते छन् ।
आरुपाटाका पहिरो प्रभावितहरु विद्यालय र स्थानीय जितेन्द्र बुढाको घरमा आश्रय लिएर बसेका छन् । पानी पर्नेक्रम रोकिएको छैन् । अझै पनि जोखिम कायम छ । पहिरोले प्रताडित परिवार थप पीडाबाट जोगिन् स्थानीय नमुना प्राथमिक विद्यालय र जितेन्द्र बुढाका दुई घरमा आश्रय लिएका छन् । गाउँपालिका र वडाको व्यवस्थापनमा उनीहरुलाई विद्यालय र सुरक्षित घरमा राखिएको वडाध्यक्ष विरेन्द्र बुढाले जनाकारी दिए ।
पहिरोले आरुपाटामा जोगबहादुर बुढाको घरसहित ३ र वडा नं. ९ को बलघासमा २ गरी ५ घर भत्केका थिए । ४० घर चर्किएका छन् । पहिरोमा मृत्यु हुनेको संख्या आरुपाटमा ९ र बलघासमा २ गरी ११ पुगेको छ । घटनामा अझै ११ वर्षका एक बालक बेपत्ता छन् । ‘यहाँको अवस्था अत्यन्तै दयनिय छ’ वडाध्यक्ष विरेन्द्र बुढाले भने, ‘स्थानीयसंग भएको खाद्यान्नले अहिले काम चलेको छ । पालिका र अन्य संस्थाले दिएको राहातले केहि सहयोग पुगेको छ । तर प्रभावित क्षेत्रमा लिन भने सडक संजाल अबरुद्ध हुँदा समस्या छ ।’
केहि संस्थाले प्रभावित क्षेत्रमै पुगेर राहात वितरण पनि गरेका छन् । केहि राहात निगलपानी रहेको र आरुपाटा ल्याउने तयारी रहेको वडाध्यक्ष बुढाले जानकारी दिए । पहिरो प्रभावितहरुको दिर्घकालिन समाधान गर्न समय लाग्ने बताउँदै उनले तत्काल सुरक्षित ठाँउमा राख्ने काम भएको र केहिदिनमै अस्थायी आवास बनाउने तयारी हुने सुनाए ।
जोखिम क्षेत्र पहिचान गरेर योजना बनाउने क्रममा बडिगाड ९ र १० लाई पहिरो जोखिम क्षेत्रको रुपमा राखेर योजना बनाउँदै गर्दा अन्य सयमभन्दा यो पटक यसक्षेत्रमा मनसुन भित्रिएको कारण बढि क्षति बेहोर्नुपरेको पालिका उपाध्यक्ष भिमसेन बनले बताए ।
‘अन्य समयमा पनि वडा नं. ९ र १० मा पहिरो जाने क्रम निरन्तर थियो । यसपटक हामीले पालिकाका जोखिम क्षेत्र पहिचान गर्न नक्साङ्कन गरेर योजना बनाउँदै गर्दा घटना हुन गयो’ बनले भने, ‘बिपतको तयारी गर्दैगर्दा घटना हुँदा बढि क्षति भयो ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->