पोखरा/राष्ट्रिय प्रजातन्त्र पार्टी धर्मको राजनीति गर्छ । राजासहितको हिन्दुराष्ट्र उसको एजेण्डा हो । र, यो पार्टीले गण्डकी प्रदेशसभामा दुई सिट जितेको छु । ६० सदस्यीय गण्डकी प्रदेशसभामा उसले प्राप्त गरेको २ सिट यति महत्वपूर्ण छ कि, असहयोग गर्दा एमलो नेता खगराज अधिकारीको सरकार ढल्यो भने सघाउँदा नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्रीको कुर्सीमा उक्लिए ।
सरकारको मुख्य सहयोगी भएकाले यहाँ उसको प्रभाव कम छैन । तर, कास्कीमा जनाधार भने बलियो छैन । स्पष्ट छ– ऊ जनाधार बढाउन चाहन्छ । जनाधार बढाउनको लागि राप्रपाले सोमबार धर्मकै सहारा लियो । केन्द्रीय अध्यक्ष लिङ्देनसहितका नेताहरु वैदिक सनातन हिन्दु अधिराज्य नेपालका निम्ति भन्दै आयोजना गरिएको धार्मिक पदयात्रामा निस्के । नेपाल सनातन धर्म संस्कृति समाज कास्कीको नाममा निकालिएको ¥याली पोखरा १ मा पर्ने गाईघाटबाट पोखरा ६ मा रहेको केदारेश्वर मन्दिरसम्म पुग्यो ।
जोगीदेखि नेतासम्म सम्मिलित सो ¥यालीपछि बोल्दै अध्यक्ष लिङ्देनले झण्डै धार्मिकजस्तो प्रवचन दिए । देशभित्र सनातन धर्म मान्नेहरु अल्पमतमा पर्ने सम्भावना बढेको जिकिर गर्दै कुनै दिन आन्दोलनमै उत्रनुपर्ने पनि बताए । धर्म निरपेक्षताको कारणले यस्तो अवस्था आएको उनको भनाइ थियो ।
‘विस्तारै विस्तारै हाम्रो धर्म संस्कृतिमाथि चारैतर्फबाट आक्रमण भइरहेको छ । कुनै पनि बेला हामीले हाम्रो देशभित्रै सनातन धर्म अल्पसंख्यमा परेर संरक्षणका लागि लड्न पर्ने दिन आउनसक्ने खतराहरु देखिन थालेका छन्,’उनले जोड दिँदै भने । उनले कुनै दिन सनातन धर्म मान्नेहरुको हालत भुटानमा रहेका नेपालीको जस्तै हुनसक्ने टिप्पणी पनि गरे ।





